![](https://corepati.com/wp-content/uploads/2021/06/830-X-100.jpg)
![](https://corepati.com/wp-content/uploads/2021/01/3.jpg)
२० पुस २०७७, सोमबार
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विस्फोटक पदार्थसहित विप्लव समुहका दुई कार्यकता पक्राउ गरिएको बताएको छ ।
विप्लव समुहबाट बढी प्रभावित कर्णालीका कालीकोट, रुकुमपश्चिम, जाजरकोट, जुम्लालगायतका जिल्लामा प्रहरीको सर्च अभियान बढाउने क्रममा आईतबार साँझ ७ः०० बजे कालीकोट नरहरिनाथ गाउँपालिकाबाट १७ प्रकारका विष्फोटक सामग्रीसहित दुई जनालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेशविक्रम शाहीको नेतृत्वमा १३ र सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्र सेट्टीको नेतृत्वमा १० गरी जम्मा २३ जनाको संयुक्त टोलीले विशेष सुराकी सहयोगको आधारमा आईतबार राती नरहरिनाथ गाउँपालिका ९ निवासी ३६ वर्षीय दुर्गाराज बोहरा र भेरी नगरपालिका २ जाजरकोट निवासी ३२ वर्षीय पदमबहादुर पुनलाई पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक पन्तले बताउनुभयो ।
बोहोराको घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले १७ प्रकारका विभिन्न सामग्री बरामद गरेको छ । जसमा नाल नभएको काठको बन्दुक एक थान, २.५ लिटरको प्रेसर कुकर बम र एक रोल तार एकएक थान, डेटोनेटर १५ थान, पटाका ५ प्याकेट, बम बनाउने सकेट १० थान, ब्याट्री चार्जर एक थान, सेफ्टी फ्युज दुई थान बरामद गरिएको उहाँले जनाउनुभयो ।
त्यस्तै, गन्धक एक किलो, सोडा ५०० ग्राम, निप्पो लाइट लोला एक थान, वायर कटर एक थान, टेलिफोन तार एक रोल, केप बनाउन प्रयोग हुने आल्मुनियम १५ थान, विष्फोटक पदार्थ सम्बन्धी किताब एक थान, राजनैतिक प्रतिवेदन किताब एक थान, मोबाईल दुई थान, नमस्ते सिम वेलकम कार्ड २० थान र कनेक्सन स्टिक एक थान बरामद गरिएको पक्राउ परेका दुवैमाथि अनुसन्धान प्रक्रिया थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।