OnlinePana

आज : २०८३ भाद्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८३काठमाडौं
० पटक

४ भदौ २०८३, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशसभा सदस्यहरुले प्राकृतिक विपद्बाट भएको क्षति, प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको २८औं बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दल नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालीकोटको दाहाँ र जाजरकोट रिसाङले प्राकृतिक विपद्बाट ठूलो क्षति भोग्नुपरको बताउनुभयो । उहाँले विपद् प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराएर सरकार छ भन्ने अनुभूति गराउन सुझाव दिनुभयो ।

विकट भूगोल, कमजोर सडक पूर्वाधार, नदीनाला, भिरालो जमीनका कारण कर्णाली विपद्को उच्च जोखिममा रहेको जनाउँदै नेता शाहीले विपद् प्रभावितहरुलाई समयमै उचित राहत प्रदान गर्न अनुरोध गर्नुभयो । यहाँका जनताहरुको त्याग र बलिदानबाट आज भदौ ४ गते कर्णाली प्रदेशको स्थापना भएको स्मरण गर्नुभएका उहाँले सहिदहरुको बलिदान, योद्धाहरुको संघर्ष र कर्णालीबासीको आशालाई साँछी राख्दै समृद्ध, आत्मनिर्भर, न्यायपूर्ण, सुशासित र सम्मानित कर्णाली निर्माणमा एकजुट हुन सबैलाई अपिल गर्नुभयो ।

पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले सदनमा उठाएका विषयवस्तुलाई दलीय आँखाबाट नभई अध्ययन गरेर देखिएका समस्या सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । तर्क हजार भएपनि तथ्य एउटै हुने बताउँदै उहाँले संघीयतालाई बलियो बनाउने आधार प्रदेश नै भएको र यसलाई स्वायत्त ढंगले काम गर्न दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य सुरेश अधिकरीले सरकारले अनुभूति हुने गरी दिने सेवाले नागरिकले सुशासनको महसुस गर्ने बताउनुभयो । त्यसैगरी, प्रदेशसभा सदस्य दक्षिणा शाहीले कालीकोटको खाँडाचक्र नगरपालिका ६ कालीकोट दाहाँस्थित इम्री भन्ने ठाउँमा आएको बाढी र पहिरोले गाईवस्तु, अन्नपात र घरको क्षति भएकोले उक्त समस्या सम्बोधनका लागि अनुरोध गर्नुभयो ।

उक्त बैठकमा प्रदेशसभा सदस्य कल्याणी खड्काले कर्णालीका महिला, बालबालिका र ज्येष्ठ नागरिकको हित र अधिकार सुरक्षित हुने कार्यक्रममा जोड दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सदस्यहरु उर्मिला विश्वकर्माले र वेदराज सिंहले जाजरकोट, कालीकोट, हुम्ला र रोल्पामा गएको पहिरोबाट जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत तथा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिकृया दिनुहोस्