OnlinePana

आज : २०८३ साउन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०८३जुम्ला
३० पटक

१८ साउन २०८३, सोमबार

जुम्लाः तिला गाउँपालिका ३ जुम्ला लुम्सेरा गाउँमा अवस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढलेको छ ।

धार्मिक रुखका रुपमा पुजिँदै आएको देवदारको रुख साउन १७ ढलेको स्थानीय ६६ वर्षीय कालिका भट्टराईले जानकारी दिनुभयो । निकै लामो कालखण्ड ब्यतित गरेको देवदारको रुख १७ गते ढलेपछि लुम्सेरा गाउँबासीले चिन्ता व्यक्त गरेको उहाँले बताउनुभयो । भट्टराईका अनुसार कुनैपनि महिनाको विशेषगरी १७ गते घट्ने घटनालाई कर्णालीवासीले अशुभ हुन्छ भन्ने मान्यता राख्दै आएका छन् ।

सोही गाउँका स्थानीय ७४ वर्षीय दीपबहादुर हमालका अनुसार दक्षिण एशियामा पाइने लामो आयु भएको निकै शक्तिशाली मानिने काठ मध्येको देवदार हो जसलाई कर्णालीको स्थानीय भाषामा द्यारको रुखको पनि गरिन्छ । योगी नरहरिनाथको भनाईलाई उद्रित गर्दै उहाँले पाँच भाई पाण्डवका पालादेखि उक्त रुख अस्तित्वमा रहेको थियो । विसं.२०३२ सालमा यो विशाल रुखको टुपो भाँचिएपछि टुपोबाट पानी पसेर जरामा पुग्दा जरा कुहिएर रुख ढलेको हुन सक्ने हमालको भनाई छ ।

उहाँले जहाँ देवदार त्यहाँ देवस्थल हुने परम्परा शताब्दीऔंदेखि चल्दै आएको बताउनुभयो । तिला गाउँपालिका ४ जुम्लाका ८४ वर्षीय बीरबहादुर सिंहले देवदारको आयु चार हजार वर्ष हुने गरेको बताउनुभयो । उहाँका अनुसार देवदारलाई बढ्न एक हजार वर्ष, एक हजार वर्ष खडा रहन, ढल्न एक हजार वर्ष र सड्न पनि एक हजार वर्ष लाग्दछ । यसलाई बहुउपयोगी र टिकाउ काठका रुपमा मानिन्छ ।

स्थानीयका अनुसार रुख सडकमुनि ढलेका कारण टेलिफोन तथा विद्युतका पोल, खेतबारीमा भएको धानबालीमा केही क्षति पुर्याएपनि मानवीय क्षति भएको छैन । चार मिटर गोलाई भएको उक्त रुख करिब ४५ मिटर लम्बाई भएको सोही गाउँपालिकाका स्थानीय निराजन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयको छहारी, देवीदेवताको आस्था र प्रकृतिको सुन्दर धरोहर मानिएको रुख ढलेपछि स्थानीयले सो स्थानमा मन्दिर वा चौतारी निर्माणका लागि सरकारलाई अनुरोध गरेका छन् ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढ्थापाले कर्णाली राजमार्गा खण्डमा पर्ने देवदार रुख ढलेको सूचना आएकोले त्यसको सरदर आयु, प्राकृतिक विशेषता र गुणका विषयमा वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरिने बताउनुभयो । उहाँका अनुसार कर्णालीको धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वका साथै औषधीय गुण बोकेको देवदार कोणधारी वनअन्तरगत पर्दछ ।

प्रतिकृया दिनुहोस्