
१६ साउन २०८३, शनिबार
सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) घरदैलोमा ढुवानी कार्य सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाकमार्फत् नागरिकको घरदैलोमा ढुवानी कार्य सुरु भएको हो । यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक श्री गोविन्दप्रसाद पाण्डेबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गरिएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषदको विसं.२०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्य सूचीको बुँदा नं.२७ मा सरकारी सेवा घरमा नै उपलब्ध गराउने कुरा उल्लेख भएअनुरुप नै हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
घरदैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम (पश्चिम) जानुपर्ने झन्झट अब समाप्त भएको निर्देशक पाण्डेले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायतका मापदण्ड पुरा गरी सवारी चालक अनुमति पत्र प्राप्त योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा आउनुपर्ने छैन । मात्र रु.४० को हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्नेछ ।
यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घर घरमा पुर्याउने काम गर्दैआएको छ । यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छालालगायतका नमुना परिक्षणका लागि हवाइ सेवाद्वारा छिटोछरितो काठमाडौँ पठाउने, स्वास्थ्य बीमा बोर्ड, खुला विश्विवद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायतका सस्थाका सामग्रीहरुसमेत हुलाकमार्फत आदानप्रदान हुने कामको शुरुवात भएको कुरा हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ ।




