
धर्मलाल प्याकुरेल सिंजा/ जुम्ला ।
२०८३ साउन २० गते । सिजा गाउँपालिका-३ छानीगाडामा राष्ट्रिय प्रसारण लाइन विधुत पुगेपछि मिल सञ्चालनमा आएकाे छ । स्थानीय मदन गिरीले गाउँमै बत्तिबाट कुटानी पिसानी मिल सञ्चालन गर्नुभएको छ।
समुन्द्री सतहदेखि करिब २८ सय देखि तिन हजार मिटरको उचाइमा रहेको छानीगाडामै ४० देखि ४५ हजारको लागतमा स्थापना भएको उक्त मिल २०८२ कार्तिक १० गतेबाट सञ्चालनमा आएको हो।
मिल सञ्चालनसँगै सिजा-३ र ४ का गाढापानी, भोलि लगायतका स्थानका बासिन्दाले गाउँमै कुटानी पिसानीको सेवा पाएका छन्। यसअघि पिस्न टाढा जानुपर्ने बाध्यता थियो।
मिलमा कुटानी पिसानीबाट प्रति केजी रु ८ शुल्क लिने गरिएको छ। दैनिक ३ देखि ४ जना सेवाग्राही आउने गरेको गिरीको भनाइ छ। यसअघि कृषि र घरव्यवहारमा संलग्न गिरीले “नजिकका नागरिकलाई सेवा दिने उद्देश्यले मिल सञ्चालन गरेको” बताउनुभयो।
स्थानीय प्रेम हमालले मिललाई गाउँको विकासको महत्त्वपूर्ण खुड्किला भन्दै गिरीको कर्म र सृजनशीलताको प्रशंसा गर्नुभयो।











