मात्रिका पौडेल
३ पुस, काठमाडौं । ‘राजतन्त्र र बहुदलीय व्यवस्था सँगै जान सक्दैनन्’ ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बनेका डा. तुलसी गिरीले सूचना विभागको हलबाट यसो भनेपछि ठूलो विवाद भयो । ज्ञानेन्द्र अध्यक्ष रहेको मन्त्रिपरिषदकै अरु सदस्यले समेत गिरीको भनाइ व्यक्तिगत हो भने ।
राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरुलाई जेल र घरभित्रै नजरबन्दमा राखेर दलीय गतिविधि गर्न रोक लगाए पनि बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रप्रति आफ्नो विश्वास कायमै रहेको बताइरहेका थिए । अन्तर्राष्ट्रिय समुदायलाई उनले बहुदलीय प्रजातन्त्र भन्दा आफू बाहिर नजाने बताइरहेका थिए राजाले ।
तर, सोही बेला राजाको मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीले पत्रकार सम्मेलन गरेरै राजतन्त्र र बहुदलीय प्रजातन्त्र सँगै जान नसक्ने आफ्नो अडान दोहोर्याएका थिए । वास्तवमा डा.तुलसी गिरी राजा महेन्द्रका सच्चा अनुयायीमात्र थिएनन्, निर्दलीय पञ्चायती शासन व्यवस्थाका आर्किटेक्ट पनि थिए ।
महेन्द्रदेखि ज्ञानेन्द्रसम्म
९३ वर्षअघि सिराहा जिल्लाको बस्तीपुरमा जमिन्दार परिवारमा जन्मिएका गिरीले ऊ बेलामै डाक्टरी पढ्ने अवसर पाए । उनी पेशाले चिकित्सक थिए । उनको परिवारका भतिजा प्रदीप गिरी कांग्रेसका नेता छन् भने बुहारी सरिता गिरी पनि सांसद छिन् ।
डा. गिरी नेपाली कांग्रेसको पहिलो पुस्ताका नेता थिए । वीपी कोइराला सभापति हुँदा उनी पार्टीका महामन्त्री थिए । ०१५ सालको आम निर्वाचनमा सिराहाबाट सांसद निर्वाचित भएपछि वीपी कोइरालाको क्याबिनेटमा उनी परराष्ट्रमन्त्री बने । विश्वबन्धु थापा त्योबेला कांग्रेस संसदीय दलको मुख्य सचेतक बने ।
गिरी निकै चलाख भएकाले वीपी कोइराला उनीसँग सशंकित हुने गर्थे । थापाका अनुसार गिरीले के गर्छन् भनेर वीपीले गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई गुप्तचर खटाएका थिए । राजा महेन्द्रले आफूविरुद्ध गिरीलाई प्रयोग गरेको सुइँको वीपीले गुप्तचरबाटै पाएका थिए ।
गिरीले कांग्रेस त्यागे । व्यवस्था त्यागे । श्रीमती त्यागे । देश त्यागे । धर्म पनि त्यागे । तर, साराह योञ्जनलाई भने देह त्याग्ने बेलासम्म साथ दिए ।
त्यहीबीचमा ०१७ साल भदौ ३० गते डा. गिरीले परराष्ट्रमन्त्रीबाट राजीनामा दिए । दुई तिहाई बहुमतको सरकारले जति काम गर्नुपर्थ्यो, त्यो गर्न नसकेको भन्दै उनले राजीनामा दिएपछि खैलाबैला मच्चिएको थापा सम्झिन्छन् । त्यसको तीन महिनापछि त राजाले वीपी कोइरालालाई बर्खास्त गरिहाले ।
राजाले पञ्चायत व्यवस्था लागु गरेपछि गिरी र विश्वबन्धु दुबैले राजालाई साथ दिए । त्यो बेला पत्रकारितामा सक्रिय बरिष्ठ पत्रकार भैरव रिसालका अनुसार राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि तुलसी गिरी र विश्वबन्धुको ‘चकचकी’ थियो । किनकी उनीहरु दुबैजना कांग्रेसको माथिल्लो तहका चर्चित नेता थिए, जो पार्टी छाडेर महेन्द्रतिर लागेका थिए ।
राजा महेन्द्रको सरकारमा गिरी पहिलो नम्बरको वरियतामा रक्षा र परराष्ट्रमन्त्री बने । त्यसको २ वर्षपछि ०१९ सालमा उनी मन्त्रिपरिषदको अध्यक्ष बने । २ वर्ष मन्त्रिपरिषद अध्यक्ष बनेका गिरी त्यसपछि एकैचोटि ०३२ सालमा प्रधानमन्त्री बनेर ०३४ सालसम्म कायम रहे ।
नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने मौका पनि डा. गिरीले नै पाए । उनी मन्त्रिपरिषदको अध्यक्ष हुँदा जम्मा ३५ वर्षका थिए । नेपालको तेइसौं प्रधानमन्त्री डा. गिरीलाई उनीसँग सहकार्य गरेकाहरु राजा महेन्द्रका अनुयायी भन्छन् । उनी वीपी कोइरालाका आलोचक थिए । गिरीले कम्युनिस्टलाई कहिल्यै महत्व दिएनन् ।
कांग्रेस छाडे, श्रीमती छाडे, सिद्धान्त छाडेनन्
मान्छेका आ–आफ्ना कमजोरी हुन्छन् । वीपी कोइरालाले परस्त्रीगमन आफ्नो कमजोरी भनेर आत्मकथामै स्वीकार गरेका छन् । गिरीमा पनि वीपीकै जस्तै कमजोरी थियो भन्छन् उनका सहकर्मीहरु । त्यसैले उनको विवाह पनि तीनजना महिलासँग भयो ।
डा. गिरीसँग लामो संगत गरेका होटल र्याडिसनका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी गोविन्ददास श्रेष्ठका अनुसार गिरी गाडीमा पनि औधी शौखिन थिए ।
राप्रपा नेता कमल थापाका अनुसार काठमाडौं उपत्यकाका भीमफेदीबाट बोकाएर ल्याइएका सीमिति गाडी चढ्नेमध्येका तुलसी गिरी पनि एक हुन् ।
व्यवसायी श्रेष्ठका अनुसार कसैले नयाँ र राम्रो गाडी चढेको देखे भने गिरी त्यो गाडी मगाएर किन्ने र बेच्न तयार नभए दुईचार दिन भने पनि चलाउँथे ।
श्रेष्ठ सम्झिन्छन्– २० को दशकमा काठमाडौंमा आउडी एलएस १०० गाडी चढ्ने म एकमात्र थिएँ । मैले त्यो गाडी जर्मनीबाट मगाएको थिएँ । काठमाडौंको सडकमा त्यो बेला गाडी नै कम हुन्थे । त्यसमा पनि संसारको सबैभन्दा महँगो र राम्रो आउडी कार त मेरोमात्रै थियो । गिरीजीले त्यो गाडी मेरो भन्ने थाहा पाएपछि बेच्न धेरै आग्रह गरे । तर, मैले नबेच्ने भनेपछि केही समय चलाएर फिर्ता गरे ।
वीपी कोइरालाको सरकारमा गिरी परराष्ट्रमन्त्री थिए । उनका पीए थिए सुशील कोइराला, जो पछि संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिसमेत भए ।
गिरी गाडी र महिला साथी फेर्न रुचाउँथे । त्योबेलाका धेरै घरानियाँ सुन्दरीहरु गिरीका साथी थिए ।
गिरीको पहिलो बिहे जनकपुरमा भएको थियो । पछि कालिम्पोङबाट काठमाडौं आइपुगेकी सुन्दरी साराह योन्जनसँग उनी आशक्त भए । साराहले काठमाडौंमा धेरै धनाढ्य मित्रहरु बनाएकी थिइन् । डा.गिरीसँग उनको सम्बन्ध धेरै वर्ष चलेपछि बिहे भयो ।
गिरीका सहयात्री श्रेष्ठ सम्झिन्छन्– साराह योन्जन त्यो जमानाकी अत्यन्तै सुन्दरी युवती थिइन् । उनीसँग मित्रता गाँस्न तत्कालीन अधिराजकुमारहरु पनि आशक्त थिए ।
गिरीजीले लामो समय उनलाई ‘मिस्ट्रेस’ (विवाहेत्तर सम्बन्ध) मा राख्नुभयो । उनकै लागि आफ्नो हिन्दू धर्म त्यागेर बाप्टिजम (क्रिश्चियन धर्मकै एक हाँगो) अँगाल्नुभयो ।
साराह योञ्जन अहिलेजस्तो हो भने चर्चित मोडल थिइन् । उनी कुशल नृत्यंगना पनि हुन् । पछिल्लो समय उनी डाउन सिण्ड्रोम भएका बालबालिकाहरुका लागि स्वयंसेवी रुपमा काम गरिरहेकी छन् । उनी कुनै समय रेडियो नेपालको अंग्रेजी समाचार बाचिका पनि थिइन् ।
गिरीले कांग्रेस त्यागे । व्यवस्था त्यागे । श्रीमती त्यागे । देश त्यागे । धर्म पनि त्यागे । तर, साराह योञ्जनलाई भने देह त्याग्ने बेलासम्म साथ दिए । केही दिनअघि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा नियमित चेकअप गर्न जाँदा पनि उनी साराहसँगै थिए ।
डा. अर्जुन कार्कीको टिमले उनको स्वास्थ्य परीक्षण गरिसकेपछि बाहिरने क्रममा गिरी निकै कमजोर देखिएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले बताए । सायद उमेर र रोगले गिरीलाई संकेत दिइसकेको थियो ।
पञ्चायतभित्रका ‘हार्डलाइनर’
नेपाली कांग्रेसका महामन्त्री एवं वीपी कोइरालाका मन्त्रिपरिषदबाट राजिनामा दिएर राजा महेन्द्रको भित्रिया बनेका गिरीलाई ‘पञ्चायतकी आमा’ भनियो । वास्तवमा दुई तिहाई बहुमत प्राप्त वीपी कोइरालाको सरकारलाई बर्खास्त गरेर पञ्चायत व्यवस्था लागुगर्ने राजा महेन्द्र भए पनि यसको जन्मदाता गिरी नै थिए भनिन्छ ।
नेपाली कांग्रेसले ०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत पाएको थियो । वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, डा. तुलसी गिरी, परशुनारायण चौधरी, विश्वबन्धु थापाहरु शक्तिशाली कांग्रेस पार्टीका प्रमुख नेता थिए । गिरी कांग्रेसका महामन्त्री थिए ।
वीपी कोइरालाको सरकारमा गिरी परराष्ट्रमन्त्री थिए । उनका पीए थिए सुशील कोइराला, जो पछि संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिसमेत भए ।
गिरी निकै चलाख र बौद्धिक भएकै कारण वीपी कोइरालाले महत्वपूर्ण जिम्मेवारी दिएका थिए । यद्यपि गिरीले कुनै पनि बेला ओभरटेक गर्ने त्रास वीपीमा देखेका थिए विश्वबन्धु थापाले ।
कुनै बेला गिरीका घनिष्ठ मित्र रहेका विश्वबन्धु थापासँग गिरीको निधनलगत्तै अनलाइनखबरकर्मीले कुरा गर्न खोज्दा उनले भने– अहिले म केही बोल्न सकिरहेको छैन । गिरीजीसँग मेरा हजारौं किस्साहरु मानसपटलमा घुमिरहेका छन् । गिरीजी धेरै माथिल्लो हाइटको नेता हो, जुन नेपालले धान्नै सकेन ।
९३ वर्षको उमेरमा डा. तुलसी गिरीको निधनसँगै अब नेपाली कांग्रेसको इतिहाससँग जोडिएका पहिलो पुस्ताको अन्त भएको छ । यद्यपि गिरीले ०१७ सालमा तत्कालीन राजा महेन्द्रलाई साथ दिएर कांग्रेसलाई घात गरेपछि कहिल्यै बहुदलीय व्यवस्थाप्रति विश्वास गरेनन् ।
०४६ सालमा बहदलीय व्यवस्था पुनर्स्थापना भएपछि पूराना पन्चहरु नयाँ पार्टी खोलेर बहुदलीय राजनीतिमा आए । कतिपय पञ्चहरु कांग्रेस र कम्युनिस्ट पार्टीमा गए । तर, डा. गिरी राजनीतिमा फर्किएनन् । उनीमाथि पनि राजनीतिक पार्टी खोल्न वा कांग्रेसमा फर्किन दबाव थियो ।
उनीसँगै कांग्रेसबाट बाहिरिएका विश्वबन्धु थापा, परशुनारायण चौधरीहरु पुनः पार्टी राजनीतिमा लागे । विभिन्न कालखण्डमा कांग्रेस छाडेर गिरीकै मिसनमा पन्च बनेका पद्मशंकर अधिकारी, अर्जुननरसिंह केसी, विपीन कोइराला, शिवबहादुर खड्काहरु पुनः कांग्रेसमा फर्किएर सांसद मन्त्री भए । डा.तुलसी गिरी भने सिद्धान्तबाट विचलित भएनन् ।
गिरीको सिद्धान्त यो थियो कि राजतन्त्र र बहुदलीय प्रजातन्त्र सँगै जान सक्दैनन् । राजा न त निरंकुश हुन्छन्, न त संवैधानिक नै । उनी त आफ्ना जनताप्रति जिम्मेवार एउटा सामान्य राजा हुन्छन् ।
पञ्चायतकालमा मूलतः दुईवटा ‘स्कूल अफ थट’ थिए– डा.तुलसी गिरी र सूर्यवहादुर थापा । डा.गिरी राजा महेन्द्रका अनुयायी थिए । महेन्द्रले तुलसी गिरीप्रति भरोसा गर्थे ।
गिरीले राजतन्त्रमै सार्वभौमसत्ता निहीत हुन्छ भन्थे । जनतामा सार्वभौमसत्ता हुने कुराको गिरी विपक्षमा थिए । दलीय प्रणालीमा सहभागी हुनु उनको विचारमा पाखण्ड थियो ।
गिरीले राजा एक्लै नै नेपाली जनताको विकासका लागि जिम्मेवार छन् भन्ने पैरवी गरे । अर्कातिर सूर्यबहादुर बहादुर थापा पञ्चायतभित्रै पनि प्रजातन्त्र र सुधारको कुरा गर्थे । शासन प्रशासनमा राजपरिवारको बढ्ता संलग्नतालाई थापाले भूमिगत गिरोहको संज्ञा दिएका थिए ।
सूर्यबहादुर थापा राजा वीरेन्द्रको शासनकालमा हाबी भएपछि तुसली गिरीले पञ्चायतको पतन हुँदैछ भनेर देश छाडेका थिए । ०३६ सालमा निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय प्रजातन्त्र भनेर जनमत संग्रह गरिने भयो । प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । राजाले जनमत संग्रह घोषणा गरेकोमा सैद्धान्तिक असहमति जनाउँदै गिरीले देश छाडे । उनी लामो समय श्रीलंका हुँदै भारतको बैंगलोरमा बसे ।
गिरी पञ्चायतभित्रका ‘हार्डलाइनर’ थिए । तर, महेन्द्रको अवसानपछि उनको लाइन कमजोर हुँदै गएको मानिन्छ । उनको बिचार ज्ञानेन्द्रसँग मिल्यो । राजनीतिबाट अलग भएको करिव २७ वर्षपछि तत्कालीन राजा ज्ञानेन्द्रको आग्रहमा उनी शासन सत्तामा फर्किए ।
तर, तुलसी गिरीको राजनीतिक चकचकीका बेलामा र ०६१ को नेपाली चेतनामा धेरै परिवर्तन आइसकेको थियो । गिरीले नेपालको नयाँ पुस्ता र अन्तरराष्ट्रिय परिवेश बुझेनन् त नभनौं, तर उनी परिवर्तन हुन चाहेनन् । राजालाई उनले कि दलमाथि प्रतिबन्ध लगाएर अघि बढ्न, कि त छाड्न सुझाव दिएको उनीसँगै काम गरेकाहरु सुनाउने गर्छन् ।
राजामा आँट नदेखेपछि पछिल्लो समयमा गिरी निराश देखिएका थिए । त्यही बीचमा जनआन्दोलन सफल भएर माओवादी समेत मूलधारमा आएपछि गिरीको अध्याय समाप्त भयो ।
गिरीले आफ्नो अनुदारवादी लाइनमा राजालाई ल्याउन सकेनन् । त्यसपछि अब नेपालमा राजतन्त्र र बहुदलमध्ये एउटामात्र रहने घोषणा उनले गरिसकेका थिए । भयो पनि त्यही ।
राजाको सरकारले जनआन्दोलनमा दमन गरेको भनेर पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा छानविन आयोग बनेको थियो ०६३ मा । रायमाझी आयोगमा वयान दिएर फर्किने क्रममा गिरीलाई पत्रकारले २७ जना मारिएको जिम्मेवारी कसले लिन्छ भनेर सोधेका थिए । जवाफमा गिरीले भनेका थिए– जसले लिनुपर्ने हो, उसैले लिन्छ ।
गिरीको त्यो जवाफको संकेत कता थियो ? अहिलेसम्म अनुत्तरित छ । तर, पञ्चायतको आमा र कांग्रेसको विभिषण भनेर नेपाली राजनीतिक इतिहासमा नाम लेखाएका डा.तुलसी गिरी आफ्नो अनुदारवादी सिद्धान्तबाट कहिल्यै विचलित नभई यो संसारबाट बिदा भएका छन् ।
विसं. ००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनक्रान्तिसम्म जोडिएका पहिलो पुस्ताका राजनीतिज्ञ गिरी अब बिदा भएका छन् । अलबिदा डा. गिरी ।