२१ भदौ २०८१, शुक्रबार
आज नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज । यसको रौनकता तराई, भित्री मधेश, पहाडदेखि हिमालसम्म छ । जताततै अहिले तीजका गीतहरु बजिरहेका छन् ।
बाटोघाटो, खेलमैदान, सडक, चौतारी, होटेल, रेष्टरेन्टु, विद्यालय, कार्यालयलगायतका सरकारी, सार्वजनिक र नीजि स्थलमा बालबालिका जवानदेखि ज्येष्ठ महिलाहरु नाचगानमा झुमिरहेको देख्न पाइन्छ । महिलाहरुले आफ्नो रोजाई अनुसार तीज मनाएको पाइन्छ । यसमा कतै सिर्जनशील कार्य भएको पाइन्छ भने कतै निकै तडकभडकका दृश्य देखिन्छन् ।
पछिल्लो समयमा गरगहना, जुहारत र पहिरनको प्रतियोगिता हो जस्तै पनि देखिन थालेको तीज । खानपानमा देखिएको अभद्रता, गायन र नृत्यशैलीमा सुनिएका देखिएका अपाच्य श्रव्य दृश्य सामग्रीहरुले हाम्रो सामाजिक संस्कार र संरचनालाई यसले चुनौति दिएको जस्तो पनि लाग्छ । यद्यपि तीजलाई अवसर बनाएर कतै सिर्जनशील र मानव जीवन अस्तित्वलाई बचाउने खालका उदाहरणीय कार्य पनि भएका छन् ।
तीजको अवसरमा चन्दननाथ नगरपालिका ५ जुम्लामा अवस्थित एसिया ईन्टरनेश्नल ईङ्लिस स्कुलका शिक्षिकाहरुले सोही नगरपालिकाको वडा नं १ स्थितको नाङ्गो डाँडोमा सल्लाका वृक्षरोपण गरेका छन् । उक्त स्कुलमा अध्यापनरत शिक्षिका अनुशा महतले विरह पोख्ने या त महंगो एवं भड्किलो बनाउने भन्दा सिर्जनाशील तरिकाले मनाउने संस्कृतिका रुपमा तीज पर्वको विकास गर्नुपर्ने तर्क गर्नुभयो ।
“हरेक मान्छेलाई खुशी एवं सुखी भएको महसुस गर्न स्वथ जीवन र शान्त वातावरण अपरिहार्य हुन्छ । अखाद्य वस्तुको सेवन र महंगो समानको पहिरनबाट स्वस्थ जिन्दगानी बन्न सक्दैन,” उहाँले भन्नुभयो, “मानव र प्रकृतिबीचको सुमधुर सम्बन्धले मात्र मानव जीवन, स्वस्थ, शान्त र खुसी हुन सक्छ । त्यसलाई नै केन्द्रमा राखेर तीजको अवसरमा हामीले पर्यावरण जोगाउन ५० वटा सल्लाका वृक्षरोपण गरेका हौं । यसैमा हामीलाई धेरै खुसी मिलेको छ ।”
लामो समयदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आउनुभएका दिलमाया शाहीले तीज पर्वमा आदिम र अत्याधुनिक कालभन्दा पर रहेर मनाउँदा सुसंस्कृत एवं सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । आदिमकाल जस्तो महिलालाई पितृसत्ताले दिएको गलत उपमा ‘नारी ताडनाकी भारी’ भन्ने कथ्य र आधुनिकतामा नाममा छाडा एवं अराजक गतिविधि रुपान्तरित समाजका लागि पाच्य नहुने उहाँको भनाई छ ।
शाहीले भन्नुभयो, “तीज महिलाहरुले आफ्नो रोजाईमा मनाउने पर्व हो । पर्व मनाउन पाउनु उनीहरुको अधिकार हो । यद्यपि अधिकारका नाम अराजकता, द्वेष भाव फैलाउन पाउने छुट हाम्रो सामाजिक संरचनामा कसैलाई छैन र हुनुहुँदैन । कसैको नीजि मामलामा सोधखोज गर्न आवश्यक छैन तर समाजलाई गलत सन्देश दिने र फक्रिदै गरेका मुनाहरुको मष्तिष्कमा नराम्रो छाप पर्ने गतिविधिहरु बन्द हुनैपर्दछ ।”
यता तीजले वर्गीय विभेदयुक्त खाडल तयार गरेको तर्क गर्नेहरु पनि छन् । महंगा पहिरनबाट आफ्नो सान सौकात देखाउने होडबाजीका रुपमा देखिन थालेको तीज पर्व पछिल्लो समयमा दारुपाटीदेखि उच्छृङ्खल नृत्यसम्मका गतिविधि समाजमा नराम्रो सन्देश जानुका साथै आमाहरुको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुन थालेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो ।