OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १८, २०८३
६ पटक

१७ चैत २०८३, बिहीबार

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित निजी विद्यालयहरुलाई नियमावली तथा मापदण्ड विपरीत शुल्क नलिन निर्देशन दिएको छ ।

नगरपालिकाले वीरेन्द्रनगर क्षेत्रमा सञ्चालित संस्थागत (निजी)देखि सामुदायिक विद्यालयहरुले भर्नासहित विभिन्न शीर्षकमा ऐन, नियमावली, मापदण्ड र निर्देशिका विपरीत शुल्क लिने गरेका गुनासाहरु आइरहेको भन्दै आज निर्देशन पत्र जारी गरेको हो ।

शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ बमोजिम शुल्क लिन र मापदण्डमा तोकिएको शीर्षकबाहेक अन्य शीर्षकमा शुल्क नलिन आग्रह गर्दै नगरपालिकाले केही संस्थागत विद्यालयले शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना गर्ने सिलसिलामा एक पटकभन्दा बढी भर्ना शुल्क लिएको, चर्को वार्षिक शुल्क लिएको, अनावश्यक शीर्षकमा शुल्क लिएको तथा विद्यालयबाट नै पाठ्यपुस्तक र पोशाक वितरण गर्न बाध्य बनाएको जस्ता जनगुनासोहरु आएको पत्रमार्फत सार्वजनिक गरेको छ ।

भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको मासिक शुल्कको एक महिनाको शुल्क रकम नबढ्ने गरी लिन, कुनै एक कक्षामा भर्ना भईसकेको विद्यार्थीका लागि पुनः अर्को कक्षामा भर्ना हुँदा भर्ना शुल्क नलिन, बढीमा दुई महिनाको मासिक शुल्क बराबरको रकम हुने गरी मात्र वार्षिक शुल्क वर्षको एक पटक मात्र लिन ती विद्यालयहरुलाई नगरपालिकाले निर्देशन दिएको हो ।

त्यस्तै, सम्बन्धित विद्यालय वा कुनै एक स्थानबाट मात्र पाठ्यपुस्तक र पोशाक बिक्री वितरण नगर्न नगराउन, विद्यालयबाट लिइने शुल्क, विद्यार्थीले किन्नुपर्ने पाठ्यपुस्तक र पोाशकसम्बन्धी विवरण विद्यालयको सूचना पाटीमा सबैले देख्ने र जानकारी लिन सक्ने गरी सार्वजनिक गर्ने गराउन र विद्यार्थीबाट लिइने शुल्कको विवरण बैशाख मसान्तसम्म अनिवार्य रुपमा यस कार्यालयमा पेश गर्नसमेत पालिकाले निर्देशन गरेको छ ।

प्रतिकृया दिनुहोस्