जुम्ला, ६ जेठ । जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। जिल्लाको गुठिचौर गाउँपालिका-३, गर्याङ्गकोट निवासी चन्द्रबहादुर बुढाका २४ वर्षीय छोरा सरचिन बुढालाई भालुले आक्रमण गरी घाइते बनाएको हो।
घटना बिहान करिब ६:०० बजेको समयमा भएको हो। सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय जङ्गलमा आफ्ना भेडा-बाख्रा चराइरहेको अवस्थामा एक्कासी जङ्गली भालुले आक्रमण गरेको थियो ।
गाेघटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झार्ज्वालामा फोनमार्फत खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी नायव निरीक्षक (सई) तारा के.सी.को नेतृत्वमा ४ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा घाइते सरचिनको सकुशल उद्धार गरिएको छ। उद्धारपश्चात् उनलाई तत्काल गुठिचौर गाउँपालिकाको एम्बुलेन्स प्रयोग गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। हाल घटनास्थलमा प्रहरी चौकी झार्ज्वालाबाट १२ कि.मी. पूर्व-उत्तरमा पर्ने उक्त क्षेत्रमा प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीद्वारा घटनास्थलको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको छ।
जङ्गली जनावरको आक्रमणबाट हुने यस्ता घटनाहरूमा कानुनतः पीडितले राहत तथा क्षतिपूर्तिका लागि दाबी गर्न सक्ने प्रावधान रहेको छ। यसका लागि सम्बन्धित प्रहरी कार्यालयबाट तयार पारिएको मुचुल्का र स्वास्थ्य संस्थाबाट प्राप्त उपचार प्रतिवेदन (Medical Report) महत्त्वपूर्ण आधार बन्नेछन्। सोही कागजातका आधारमा पीडित परिवारले डिभिजन वन कार्यालयमार्फत राहतका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
गाेल्डेन बुढा जुम्ला ।









