OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २, २०८३सुर्खेत
३५ पटक

२ जेठ २०८३, शनिबार

सुर्खेतःनेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले इतिहासमै ठूलो हार व्यहोरेको बताउनुभयो ।

यो सर्मनाक हारको मूल कारण विशेष महाधिवेशन भएको टिप्पणी गर्दै पूर्वकार्यवाहक सभापति खड्काले भन्नुभयो, “काँग्रेस देशी विदेशी तत्वका कारण अप्ठ्यारो अवस्थामा पुगेको छ । अब यसलाई संयमताका साथ नसोचेर आडम्बरीपन देखाउने हो अँझै काँग्रेस खराब अवस्थामा पुग्छ । यसमा गम्भीर भएर बेलैमा सोचौं र काँग्रेस बचाऔं ।” काँग्रेस फुट्दा देश नै नरहने दावी गर्दै उहाँले अहिले पनि देश काँग्रेसको पराजयले संकटमा पुगेको टिप्पणी गर्नुभयो ।

नेपालको राष्ट्रियता र काँग्रेस इतिहासकै प्रतिकुल अवस्थामा छ

पूर्वकार्यवाहक सभापति खड्काले नेपालको राष्ट्रियता र काँग्रेस इतिहासकै प्रतिकुल अवस्थामा रहेको बताउनुभयाे ।

नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित नेपाली काँग्रेसको ‘बृहत्तर एकता तथा भावी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन निवर्तमान कार्यवाहक सभापति खड्काले काँग्रेससहित नेपालको राष्ट्रियता डरलाग्दो अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले काँग्रेस छिन्नभिन्न जस्तो अवस्थामा देखिन्छ । पार्टी टुक्र्याउने षड्यन्त्र भइरहेको छ ।”

पार्टी एकता र मजबुत बनाउने उद्देश्य आजको कार्यक्रम गरिएको बताउनुभएका उहाँले विभाजनको डिलमा गएको काँग्रेस बचाउने सिध्याउने भन्ने सवाल महत्वपूर्ण भएको बताउनुभयो । यस विषयमा पार्टी नेता र कार्यकर्ता पंक्तिलाई गम्भीर भएर सोच्न र बृहत् बहस चलाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले वर्तमान सभापति गगनकुमार थापालाई सिंगो काँग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गर्नुभयो । मतदाताको कुँडिएको मन जित्न, मत बदलेका कार्यकताहरुको मन जितेर विश्वासमा ल्याउनुपर्नेमा जोड दिँदैं उहाँले पार्टी एकताको पक्षमा आफू निर्वाध अगाडि बढेको प्रष्ट्याउनुभयो । घेराबन्दी र गुटबन्दीले नेतृत्वलाई सक्याउने भन्दै उहाँले यसबाट बचेर सहि नेतृत्व गर्नु आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले पार्टीलाई मजबुत र बलियो बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउँदै काँग्रेस बचाउन नसकिए देशले नै ठूलो क्षति व्यहोर्ने जिकिर गर्नुभयो । उहाँका अनुसार यो कुनै गुटको भेला नभई समग्र काँग्रेसीजनहरुको बिचार गोष्ठी भएको बताउनुभयो । काँग्रेस कमजाेर हुँदा सबै नेपालीले दु:ख पाउने उहाँकाे भनाई थियाे ।

प्रतिकृया दिनुहोस्