
नेत्र शाही /जुम्ला,
वैशाख ३१ गते । जुम्ला चन्दननाथ नगरपालिका ५ निवासी अम्बिका श्रेष्ठ तत्कालिन घरेलुबाट सिलाईकटाई शिप लिएपछि आय आर्जनमा आफ्नो जीविका कसरी निर्वाह गर्ने भन्ने सोचमा हुनुहुन्थ्यो । सोही समयमा तत्कालिन शिप विकास कार्यालयले प्रशिक्षकको अवसर दियो । तर पछि सँगै शिप विकास कार्यालय खारेज भयो । प्रशिक्षक नोकरी गयो ।
स्वरोजगारीको सानो अवसर गुमेपछि केही बर्ष त उहाँ तनाबमा हुनु भयो । आफ्नो सानो टेलरिङ पशल शुरु गर्नुभयो । अम्बिका श्रेष्ठलाई त्यतिले मन थामिएन जीवनमा सिकेको शिपलाई केही फराकिलो बनाउनुपर्छ भन्ने सोच र आट आयो । तर त्यतिबेला जुम्लाको घण्टौ लामो लोडसेडिङ र अनियमित बत्तिले ढिलाई गरिरहेको थियो ।
पातारासीको गढिगाउँबाट गाउँपालिकाको चुकेनी जलविधुत आयोजनाले जुम्लामा ९९८ किलोवाटको विधुत निकाल्न सफल भयो । जुम्ला सदरमुकाम झिलिमिली र प्रयाप्त बत्ति भएपछि अम्बिकाको लागि जुम्लामा गार्मेन्ट उद्योग खोल्ने आशा पलायो । शुरुमा दुईवटा विधुतीय मेशिन ल्याएर आफ्नै घरमा सिलाईकटाई शुरु गर्नुभएको उहाँ अहिले छोटो समयमा जुम्लाकै पहिलो हिमालयन गार्मेन्ट उद्योगको उद्योगपतिको रुपमा स्थापित हुनु भएको छ । उहाँको अहिले बर्षेनी ५० लाख बढि आम्दानी हुन थालेको छ ।
विधुीय सिलाई मेशिनबाट काम शुरु :
परम्परागत सिलाई मेशिन भन्दा पनि अहिले उहाँ १२ वटा विधुतीय मेशिन सहित जुम्लामा हिमालय गार्मेन्ट उद्योग संचालन गरिरहनु भएको छ । चुकेनीको विधुतले साथ दिएपछि संचालनमा आएको जुम्लाकै पहिलो गार्मेन्ट उद्योग हो । विधुतीय मेशिनले संचालन भईरहेको उक्त गार्मेन्ट उद्योगमा विद्यालयका पोषाक देखी विभिन्न कपडाहरु सिलाई कटाई भईरहेका छन् । गार्मेन्टबाट अहिले अम्बिका श्रेष्ठलाई बर्षेनी ५० लाख बढि आम्दानी दिन थालेको छ । उद्योगमा १० जना महिलाहरु स्वरोजगार समेत गरिरहेका छन् । उहाँहरुलाई प्रति कपडाको पिस अनुसार रकम दिने गरिएको बताउनु हुन्छ । उहाँका अनुसार गार्मेन्ट संचालन पछि जुम्ला सदरमुकाममा एउटा घडेरी खरिद गरिएको र रु १२ लाख खर्चेर गार्मेन्टलाई थप व्यवस्थापन गरिएको छ । गार्मेन्ट उद्योगका संचालक अम्बिका अपांगता भएका व्यक्ति पनि हुनुहुन्छ उहाको कानको समस्या पनि छ । उद्योगमा उहाँलाई सघाउने छोरा सरोजको भुमिका महत्वपुर्ण छ । छोरा सरोजले हिसाब किताब गर्ने, सामान अडर गर्ने र व्यबस्थापकको काममा ठुलो सहयोग गरिरहनु भएको छ ।
बासिङ मेशिनबाट पनि आम्दानी :
काम राम्रो भएकाले सरोकारवाला निकायको सहयोग हुन थालेको छ । अहिले एक विधुतीय सिलाईकटाई मेशिन र वासिङ मेशिन पनि उहाँलाई अनुदान सहयोग भएको छ । नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्र ग्रामिण जिविकोेपार्जनको लागि नविकरणीय उर्जा कार्यक्रमबाट रु आठ लाख लगानीको विधुतीय माध्यामबाट कपडा धुने मेसिन रु पाँच लाख अनुदान सहयोग भएको उद्योगी अम्किाले जानकारी दिनुभयो । उहाँले सो मेशिन जोडेको तिन महिना भयो । तिन महिनामा झण्डै मासिक सवा दुई लाख आम्दानी हुने गरेको छ । सो आम्दानीबाट दुई जना महिला कर्मचारीलाई छुट्टै रोजगारी पाएका छन् । यसका साथै सो कार्यक्रमबाट रु ५० हजार बराबरको थप विधुतीय सिलाईकटाई मेशिन सहयोग भएको उहाँले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विर्खबहादुर कार्कीले अम्बिकाको साहस कदमीले रोजगारीमा अन्य महिलाहरुलाई समेत प्रेरणा दिईएको बताउनुभयो । उहाँले सरकारी नोकरी भन्दा बढि आम्दानी आखै अगाडि उहाँले गरेको हेर्दा खुशी व्यक्त गर्नुभयो । उहाँले सहयोगी निकायलाई समेत धन्यवाद दिनुभयो ।
नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्र, ग्रामिण जिविकोेपार्जनको लागि नविकरणीय उर्जा कार्यक्रम परियोजना संयोजक पृथ्वीबहादुर शाहीका अनुसार सिलाईकटाई काम गर्ने जुम्लाका २४ जना महिलाहरुलाई समेत विधुतीय सिलाईकटाई मेशिन सहयोग भएको छ । ति महिलाहरुले उक्त गार्मेन्टमा तालिम समेत लिएका छन् । उहाँका अनुसार अन्यलाई विधुतीय मेशिन तथा चुल्हो समेत वितरण शुरु छ । जुम्लामा पछिल्लो समय चुकेनी जलविधुतको विधुतले उद्योगमा आशा पलाएको छ । दुई बर्ष देखी विधुतीय कामबाट अम्किा जस्तै उद्योगीलाई काममा सहज हुन थालेको छ ।
क्याप्सन ः जुम्लाको चन्दननाथ नगरपालिका ५ निवासी गार्मेन्ट उद्योगका मालिक अम्बिका श्रेष्ठ र गार्मेन्ट उद्योग : तस्बिर नेत्र शाही, जुम्ला ।







