OnlinePana

आज : २०८१ मंसिर ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राजबहादुर कुँवर भाद्र ६, २०८१जुम्ला,
२९९ पटक

पैकेला योद्धा हो । पैकेला भन्ने वित्तिकै जुम्लाको प्रत्येक वस्तीमा लछालकृतिको चामत्कारिक सिर्जनात्मकताको बखान हुन्छ । ऊ चन्दननाथ बाबासँगको सहकार्यमा पहिलो मासींधानको खेती गर्ने वैज्ञानिक हो, किसान हो । घुँडा धसेकै भरमा मूल फुटाउने, चुकेनीको झाँडलाई खेतमा फेर्ने, डोरीमा हिंड्न सक्ने, बाघ, भालु र सर्पहरूलाई सजिलै जित्ने योद्धा हो । सिञ्जा राज्यलाई हाँक दिन सक्ने मानिस हो, जसलाई सिञ्जाले षड्यन्त्रपूर्वक मारेको थियो । जुम्लाको अन्तर्राष्ट्रिय पहिचान बोकेको मार्सीधानको पहिलो प्रयोगकर्ता पैकेला लछालकृति शहीद हो, जसको लोकआख्यान बाहेक कुनै इतिहास सुरक्षित छैन । भग्नावशेष दरबारको पनि उत्खनन र अनुसन्धान भएको छैन ।

कर्णालीको मंगलगायनमा पैकेलो जन्मियोस् भन्ने शुभकामना दिइन्छ । ती प्रत्येक घरमा जन्मिने बालक लछालकृतिको सिर्जनात्मकता र बहादुरीको बाटोमा हिंड्न सक्दैनन् नै । खश साम्राज्यको पतनपछिको आधुनिक इतिहासमा पैकेलाको सूचीमा जनयुद्धमा सयौं योद्धाहरूको नाम चढेको छ । ती पैकेलाहरूलाई नेपाली समाजले जतिसुकै अवमूल्यन गरे पनि तिनको बहादुरी र बलिदानको जगमा नै गणतन्त्रात्मक मुलुकको रचना भएको हो ।

गणतन्त्रलाई नयाँ र फलीभूत तुल्याउन लतारिएका गणतन्त्रवादी र पछारिएका जनगणतन्त्रवादीहरूको बीचको टक्करले संविधान, संविधानसभा र राज्यको पुनर्संरचना विवादित मात्र भएन, आफ्नो स्वायत्तताका निम्ति बलिदानको मार्गबाट हिंड्नु पर्यो । कर्णालीले राज्यसँग आफ्नो स्वायत्तताको हक मागेको शान्तिपूर्ण जुलुसमा गोली उपहार पायो र त्यो गोलीलाई स्वायत्तताका निम्ति पैकेलो हरिबहादुर कुँवरले निल्यो । गोली पिएर शहीद हुने त्यो नयाँ युगको पैकेलो लछाकृति जस्तो चामत्कारिक होइन । सामान्य मानिसहरूको आन्दोलनमा संश्लेषित बलिदानको कोटा चुक्ता गर्ने सक्रिय नायकमा फेरिएको पात्र हो । ऊ मेरो भाइ हो । आन्दोलन अघि मसँग ऊ डराउँथ्यो, आजभोलि उसको नाम, बलिदान र कीर्तिमानसँग म डराउँछु । कतै मेरो भाइको रगतमाथि मैले खेलवाड गरिरहेको त छैन । यो प्रश्नले मलाई बारम्बार घोचिरहन्छ । त्यसैले कर्णालीको समृद्धि र परिवर्तनका हरेक एजेन्डालाई स्वागत गरिरहेको छु ।

तिथि मिति ठ्याक्कै थाहा छैन । असोजको पारिलो घाममा दुर्गा प्रावि मधुबाट लुखुर लुखुर छड्के झोला भिरेर विद्यालयबाट घर फर्केपछि हतार हतार फाल्दै लाडिदै पल्टिरहेकी आमाको काखमा जान खोजेको थिएँ । आमाले भाइ छ, भाइ छु भनेपछि मैले पहिलो चोटी मेरो भाइ जन्मिएको थाहा पाएँ । त्यो भाइलाई खेलाउने, रुवाउने र हसाउने सबै क्रिया मैले गरेको छु । जब म युद्धको आँधीबेहरीमा होमिएँ, आँधीसँग रमाउने पेत्रेल चरा झैँ घर छोडेर सुदूर भविष्यको खोजीमा हिंडें । मेरो हुर्कदै गरेको भाइसँगको भेटघाट दुर्लभ हुँदै गयो । विरलाकोटी घरभेटघाटमा जाँदा दाइको मायाले नजिक आउँथ्यो । एकचोटी घरभेटघाटमा बुबाले ुसावा अक्षर चिनेकै हुनाले तँ माओवादी भइस्, अब यसलाई म पढाउदिनँ । हली बनाउँछु ।ु मैले भाइलाई सोधें( के गर्ने हास त ? म पढ्दिनँ हली बन्छु भन्यो । दिउँसो बा आमा काममा गएपछि मैले उसलाई वर्णमाला सिकाउन खोजें । मान्दै मानेन । गलामले बाँधेर वर्णमाला जर्बजस्ती घोकाएँ । निकै बेर रोयो । पढ्छुको वाचा खुवाएँ । साँझ भाइमाथि ज्यादती गरेको थाहा पाएर आमा दुःखी हुनुभयो र भन्नुभयो तैले मेरो छोरोलाई पढाउनु पर्दैन । मैले तपाईंको छोरो मात्र होइन, मेरो भाइ पनि हो । उसले पढ्नै पर्छ । यो भनेपछि आमा अवाक् हुनुभयो । केही बोल्नु भएन ।

जे होस ढिलो गरी विद्यालय भर्ना भयो । म युद्धलाई जीवनशास्त्रमा फेरिरहेको थिएँ । शान्ति प्रक्रियापछिको हिउँदमा ऊ नेपालगञ्ज आयो । हलक्क बढेको थियो । हिउँदमा नेपालगञ्जमा भाउजुसँगै बस्यो र जुम्ला फर्कियो । भाइको उमेर र पढाइको बीचमा अन्तरविरोध देखिएपछि विद्यालयमा कक्षा अपग्रेड गरियो । कक्षा ८ देखि एसएसएलसीसम्म नेपालगञ्जमै पढ्यो ्र
कतिपय विद्यार्थीहरू अध्ययनशील हुँदाहुँदै पनि परिणाममा असफल हुने हुँदो रहेछ । असफलताको स्वाद उसले पनि चाखेको थियो । मैले उसलाई पुस्तकमा सफलहरू जीवनमा असफल र पुस्तकमा असफलहरू जीवनमा सफल हुन्छन् । कुनै चिन्ता गर्नु पर्दैन, यसरी हौस्याइ रहन्थेँ । प्रत्येक असफलतालाई शिक्षाका रूपमा लिन उत्प्रेरित गर्थे । त्यसले ऊ सामाजिक कार्यप्रति प्रवृत्त हुँदै गइरहेको थियो । कहिले रक्तदानमा, कहिले सामाजिक जागरणका देउसी भैलोमा, कहिले विद्यालयका सुधारात्मक क्रियाकलापमा, कहिले कर्णालीवासीको मलामीमा, कहिले जन्तीमा सहभागी हुन थाल्यो । उसले सामाजिक क्रियाकलापहरूलाई रसिक तुल्याउन लोकगीत र आधुनिक गीतहरू गाउँथ्यो । एउटा सपना थियो उसको लोकगीत गाउने । गोली लाग्नुको बिहानीपखमा पनि रेडियो नारी आवाजमा गीत गाएको रहेछ । मसँग भेटघाट हुँदा नयाँ नयाँ लोकगीतहरू गाउन लगाउँथेँ, पहिलेभन्दा स्वरमा विस्तारै निखार आइरहेको थियो । अहिले कर्णालीको एउटा लोकगीतको स्वर रोकिएको छ ।

विचरा हाइरारकी :
सामन्तवादी हाइरारकीका कारणले होला, भाइहरू प्रायशः दाइसँग खुल्दैनन् । मसँग खासै दोहोरो संवाद गर्दैन थियो उसको । मसँग शैक्षिक र दैनिक आवश्यकतासँग जोडिएका कुराकानी मात्र हुन्थे । यो निराश प्रकृतिको सम्बन्धलाई चिर्न म अनौपचारिक र ठट्यौलो बनि दिन्थेँ । कहिले गीत गाउन उत्प्रेरित गर्ने, कहिले लेख्न र कहिले बढ्दो उमेरलाई कटाक्ष गर्दै यौनिक संवाद गरिदिन्थे । यसले भाइसँगको सम्बन्धलाई औपचारिकताबाट विस्तारै अनौपचारिक बनाउँदै गइरहेको थियो । जुम्ला बसाइका क्रममा उसका सीमितता मलाई र मेरा सीमितताको बोध उसलाई हुँदै गइरहेको थियो । ऊ अहाएको मात्र गर्ने प्रवृत्तिको देखिन्थ्यो । उसमा हदै दर्जाको सोझोपना थियो । परिवारका सदस्यसँग अल्पभाषी र परिवार बाहिर बहिर्मुखी देखिन्थ्यो । जाँड, रक्सी र चुरोटको स्वाद थाहा पाइसकेको थियो । जे होस् संगीहरू प्रिय हुने र आफन्तको खटनपटन अल्छी लाग्ने उमेर सुरु भइसकेको थियो ।
ऊ अपेक्षाकर्ता थियो भने म अपेक्षापूर्ति गर्ने एक मात्र विकल्प । उसको मेरो सामाजिक, राजनीतिक एवम् सांस्कृतिक क्रियाकलापसँग कुनै गुनासो थिएन । आमासँग भन्ने गरेको रहेछ, म दाइलाई सहयोग गर्छु । मैले पटक पटक यदि स्वतन्त्र भएर केही गर्न चाहन्छस् भने तैले पैतृक सम्पत्ति बिक्री बट्टा गर्न सक्छस्, स्वतन्त्र उपभोग गर्न सक्छस् भन्थेँ । आखिर सर्मीको बाँझो पाखोलाई हाम्रो पारिवारिक परम्परा अनुसार छोडेर गयो । बुबाका पनि तीन भाइमध्ये एक जनाको यौवनमै मृत्यु र अर्को परदेशमा बेपत्ता भएकाले बुबामा संकेन्द्रित भएको रहेछ, आखिर त्यो सर्मीको खेतबारीमा उसले राम्रोसँग पाइला पनि नटेकी मृत्युवरण गन्यो । सम्पत्ति, पारिवारिक एवम् सामाजिक हाइरारकीमा उसले मलाई पछारिदियो । कहिले काही इन्दिरालाई ठट्टा गर्दा मलामी जाने भाइ छँदैछ नि भन्थेँ, आखिर भाइको मलामी म बन्नु पन्यो । प्रकृतिमा को पहिले जन्मियो र को पछि मर्छ, कुनै ठेगाना छैन । आखिर मृत्यु नै भए पनि उसको मृत्यु गरिमामय, ओजपूर्ण र पहाडसरी भयो भने सामन्ती हाइरारकी पराजित भयो ।

गौरवपूर्ण शहादत :
राज्यको पुनर्संरचनाको ऐजेन्डा कहिले चौध, कहिले पाँच, कहिले आठ प्रदेशको बहस गर्ने राजनीतिक परम्पराले अन्धोले हात्तीछामे झैँ भयो । कसैको अधिक लचकता र कसैको अधिक प्रतिवद्धतालाई सम्बोधन गर्न ६ प्रदेशको अवधारणा आएपछि कर्णालीलाई बृहत् छैटौँ प्रदेशमा समाविष्ट गरियो । कर्णालीकै विशेष स्वायत्त प्रदेशको आन्दोलनमा होमिएका मानिसहरू जागृत भए र कर्णालीको छुट्टै प्रदेशको आगो गाउँ गाउँमा सल्कियो । त्यो आगो निभाउन गोलीलाई बहमास्त्र ठानियो । जुम्लामा महिला, बालबनितादेखि युवाहरू लडाइँमा सरिक भए । आन्दोलनमा सामान्य मानिसहरूले असामान्य साहस प्रदर्शन गरे । जिल्लाका प्रायः कार्यालयहरूको बोर्ड निकालेर कर्णाली प्रदेशको घोषणा गरे । जिल्ला प्रशासन कार्यालयको बोर्ड कब्जा गर्ने सांकेतिक आन्दोलनलाई प्रशासनले असामान्य ढङ्गले दमन गन्यो । आन्दोलनकारी र प्रहरीबीचको ढुंगा हानाहानले खलङ्गा रणमैदानमा परिणत मात्र भएन, रबरको गोलीको डंका पिट्दै एसएलआरको गोली सिधै ताकेर हानियो । हरिबहादुर कुँवरको घाँटीमा गोली लाग्यो भने कसैको खुट्टामा, कसैको पेटमा, हातमा गोली लागेर दर्जनौँ घाइते भए ।

जिल्लामा चलिरहेका आन्दोलनलाई साथ दिदै काठमाडौँस्थित कर्णालियनहरूले पनि विविध कार्य गरिरहेका थियौँ । जुम्लाको आन्दोलनमा गोली चलेको खबर पहिलो चोटी कर्णबहादुर शाहीले गर्नुभयो र हरिबहादुरलाई गोली लागेको सूचना दिनुभयो । गोली प्रहार तेलमा कफ्र्यू लगाइएकोले आन्दोलनकारीहरूबीचमै पनि सम्पर्क विच्छेद भयो र सूचनाको पुष्टि हुन समय लाग्यो । अन्ततः घाइतेहरूलाई सेनाको हेलिकोप्टरले नेपालगञ्ज छोड्नु पर्नेमा सुर्खेत एयरपोर्ट छोडेर यातना दिइयो । रातारात रेडक्रसको एम्बुलेन्समा अस्पतालमा पुन्याउने पहल भयो ।
घाइतेसँग आएका कुनै पनि आन्दोलनकारीको फोन नम्बर नभएपछि सम्पर्क विच्छेद भयो । राति सूर्य महतलाई घरी नेपालगञ्ज टिचिङ हस्पिटल, घरी कोहलपुर दौडाइयो । पनि बिरामी नभेटिएपछि झनै अन्यौल भयो । केही समयपछि कुरुवासँग सम्बन्ध स्थापित भयो । राति नै बर्दियाबाट इन्दिरा नेपालगञ्ज आइन् ।

त्यो साउन ३१ गतेको रात यातनामय भयो । गोलीले घाटी छेडेको भाइ भौतिक पिडाले जति छट्पटियो होला, मेरो लागि मानसिक यातनाशालामा परिणत भयो । कौतुहल, अन्यौलता र तनावका बीचबाट रात गुजियो । राति नै बिरामीलाई रिफर गरेको रहेछ । बिहान ४ बजेतिर भोजेन्द्रले फोन गयो । भोजेन्द्रको स्वर निकै मलिन, थकित र उदास थियो । एम्बुलेन्सबाट होइन, बिहानै हेलिकोप्टरबाट नै बिरामी काठमाडौँ ल्याउने सम्बन्धी छलफल यो। दिनवन्धु श्रेष्ठ लगायतका नेताहरूले प्रधानमन्त्री सुशील कोइरालालाई भेट गर्नु भयो । सेनाको हेलिकोप्टर लैजान रक्षा मन्त्रालय, कमाण्ड मार्फत मिलाउने भन्दाभन्दै समय घर्कियो । आपतमा पनि नियमको साङ्लोले बाँधेर मानिसलाई जेनोसाइड गर्ने हत्यारा राज्यको कुनै छेकछन्द नदेखिएपछि जुम्ला र काठमाडौंस्थित आन्दोलनकारीहरूले नीजि विमानबाट ल्याउन पहल गरे । सरकारी आन्दोलनकारीहरू राज्यले हेलिकोप्टरबाट ल्याउने भन्दाभन्दै नीजि विमानमा ल्याउने भन्दै बम्किन थाले । मलाई सारै पीडाबोध भयो । यदि मसँग आर्थिक हैसियत हुन्थ्यो भने नीजि हेलिकोप्टर नै रिजर्भ गरेर बिरामी ल्याउँथे होला । आफ्नो गरिबीले अरूको पात समात्नुपर्ने दिनहीनता देखेर म झन्डै रोइन ।

सरकारी हेलिकप्टेर नजाने पक्का भयो । ढिलो गरी सांग्रिला एयरबाट बिरामीहरूलाई काठमाडौँ ल्याइयो । भानु देवकोटाको आर्थिक जमानी र अरू हृदयशील मानिसहरूको सदभावले बिरामीहरू उपचारका लागि विमानस्थलमा आई पुगे । केही बिरामी नेपालगञ्ज छोडेर तीनजनालाई मात्र ल्याइएको थियो । बिरामीलाई एम्बुलेन्स मार्फत् टिचिङ ल्याउने क्रममा हरिबहादुर स्ट्रेचरमा हलचल नगरी सुतिरहेको थियो । मैले बोलाएपछि पुलुक्क आँखा हेन्यो र दाइ भन्यो । घाँटीमा लागेको गोलीले तल्लो शरीर पुरै शिथिल थियो । धौ धौ गरी बोलिरहेको थियो । घाँटी सारै दुखेर यता उता गरिदिन अनुरोध गरेको थियो । मैले ज्ञ दुइचोटी हल्का उठाइ दिएँ । हवाइजहाजमा बिरामीलाई असर नपरोस् भनेर प्लाइउड काटेर आपतकालीन स्ट्रेचर बनाइएको रहेछ । त्यो सारै कडा थियो । टिचिङमा पुगेपछि इमरजेन्सी कक्षमा भर्ना गरियो । आवश्यक चेकजाँचहरू गरिए । खुट्टा, हात र पिठ्यूँ सेन्सलेस थिए । छाती र टाउकोमा मात्र सेन्स थियो । राति डाक्टर राम श्रेष्ठले बोलाएर बिरामीको स्पाइनलकडका सात वटा हाडमध्ये चारवटामा असर परेको छ । अप्रेसन गर्ने कोसिस गर्छौं । वार्डमा भर्ना हुनोस । बाँचे पनि बाँचुन्जेल एउटा अर्को मानिसलाई मार्छु भन्नु भयो । दुःखद् खबरलाई निमर्मतापूर्वक धैर्यले सुन्नु निकै कठीन हुँदो रहेछ । अप्रेसन र चमत्कारको पर्खाइमा बस्नुको कुनै विकल्प भएन । राति वार्डमा सरेपछि अशोकलाई कुरुवा छोडेर म कोठामा गएँ । कोठामा पुगेपछि मलिनता र उदासी बाहेक केही भेटिएन । नेपालगञ्जमा भाउजु भाउजु भनेर निकै छटपटिएको रहेछ । कोठामा फर्किएपछि इन्दिरा र म निकै बेर रोयौँ ।

भदौ १ गतेको बिहानी शुभचिन्तकहरूसँग बित्यो । फोन र भेटघाटमा बिरामीको हालखबरलाई एकसरताका साथ दोहोर्याइ तेहर्याइ गर्नु दैनिकी बन्यो । प्रश्नहरूको सहज, सरल उत्तर दिनुको विकल्पै थिएन । गाउँतिरबाट आउने फोनहरूमा ठिकै छ, सन्चो हुने सम्भावना छ जस्ता द्विअर्थी संवाद गर्नु पथ्र्यो । आदरणीय कमरेड किरण, डा. बाबुराम भट्टराई, खड्क बहादुर विश्वकर्मा, प्रकाश ज्वालादेखि कर्णालीका प्रायः वर्तमान र भुपु सभासद्हरूले भेट्नु भयो । कर्णालीको राजनीतिक जीवनमा पहिलो पटक शान्तिपूर्ण आन्दोलनमा युवाहरूले गोली खाएको घटना भएकोले काठमाडौंस्थित सचेत कर्णालीवासीहरू दिनभरि आइरहनु भयो ।

भदौ २ गते डाक्टरहरूको सल्लाह बमोजिम प्यारालाइसिसको सङ्कटले गर्दा शरीरमा घाउ नआओस् भनेर एयर व्याग किनियो । एकातिर अप्रेसनबाट खासै प्रगति नहुने भएकोले के गर्ने निचोड अर्कोदिन दिने सुनाइयो । अर्कोतिर भाइ मेरो अप्रेसन कहिले हुन्छ ? अप्रेसन कतिखेर हुन्छ ? सोधिरहेको थियो । भाइको पीडा वृद्धि हुँदै गइरहको थियो । उसलाई अप्रेसनको तयारी हुँदैछ भनेर ढाट्नु परिरहेको थियो । साँझपख टिचिङको प्राङ्गणसम्म निस्किएर शुभचिन्तकहरूसँग भलाकुसारी गरेर वार्डतिर गएँ । एयर व्याग बिछ्याउन खोज्दा भाइले अघि झैं दुःखेको कुनै प्रतिक्रिया दिएन । मैले उसको मुखतिर हेरे । गजज फिज आइरहको र अक्सिजन लिन छोडेको देखेपछि नर्सलाई बेहोस भएको बताए । आकस्मिक पम्पिङ गरियो र धौ धौ गरेर होसमा ल्याइयो । होसमा ल्याइसकेपछि ड्युटी इन्चार्जसँग सल्लाह गरी भेन्टिलेटर व्यवस्थापन गर्न निकै समय लाग्यो । भण्डारी नरेश, अर्जुन भाइहरू रिसाए पनि । एउटा मानिस मरिरहेको हुन्छ, जो सक्रिय भइदिनु पर्ने हो, आनन्दले निदाइरहेको हुन्छ । सायद यो मुलुकको मुटु ढिलो चल्छ । राज्यले औषधी दिने वाचा गर्छ तर राज्यको पसलमा औषधी हुँदैन । गृह मन्त्रालयबाट उपचारका लागि दिइने पत्र पनि दशौँ लाख माइल टाढाबाट पुगे झैँ भयो । गृह मन्त्रालयको जाबो पत्रले पनि राजनीतिको डकार छोड्दो रहेछ । मानिस राजनीतिमा त्यतिकै होमिँदैनन, गोली त्यतिकै खाँदैनन्, जहाँ उत्पीडनका निलडामहरू छन्, जहाँ मानिसहरूलाई राज्यले जेनासाइड गर्छ ।

भदौ ३ गते जुम्लाका बिरामीलाई सयौँ मानिसले भेटिसकेका थिए । हरिबहादुरको बाहेक पवित्रा बहिनी र बुढथापा भाइको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो । साँझतिर टिचिङको एनएक्स वार्डमा आफ्नो बिरामीको कोठा नभेटाएर हैरान एक जना कर्णालीतिरकी आमा छट्पटिरहनु भएको थियो । भौतारिरहेकी आमैले सुर्खेतमा आफ्नो छोरोलाई गोली लागेको र उपचाररत भएको आसुँ बगाउँदै भनिन् । मेरो छोरो भएको कहाँ हो ? पु(याइदिन भन्नुभयो । हुम्लाबाट आफ्नो छोरोको उपचारमा खटिएकी आमैको स्थिति देखेर पीडाले मुटु जल्यो । जो काठमाडौंको अस्पतालमा हराउँछन्, कवि मणि थापाको कविताबाट भन्ने हो भने राज्यले गोली हानेपछि मात्र हेलिकोप्टर र अस्पताल भेट्छन्, जो लडाइँमा शहादतपछि मात्र पुष्पगुच्छा पाउँछन्, ती मानिसका आमाहरू साधारण हुन्छन्, थाहा नपाएर अस्पतालमै हराउँछन् र रुन्छन् । मैले एनएक्स वार्डका नर्सहरूसँग परामर्श गरी कोठा पत्ता लगाइ पुयाए । त्यसपछि भेटन आउने हरेक शुभचिन्तकहरूले भाइहरूलाई मात्र होइन, हुम्लाको बिरामीलाई पनि भेट्ने वातावरण सिर्जना भयो ।

अर्कोतिर त्यही दिन घटेमाथि प्रहरीले इन्काउन्टर गन्यो, कसको संरक्षणमा हुर्किएका, फैलिएका र पालित पोषित थिए, टिचिङमा जुलुस नै निस्कियो । घैटेको मृत्युलाई मानवीयता र अपराधसँग जोडेर हेर्ने दुइटा खेमा देखियो । मानवीयताका नाममा अपराधलाई छोप्नेहरू नीरिह र कमजोर देखिन्थे । यसले गगन थापा, केसीहरूको अपराधिक सम्बन्धको पोल मात्र खुलेन, नेपालका दलहरूको डनवाद नांगो रूपमा पर्दाफास भयो ।

भदौ ४ गते भेन्टिलेटरमा हरिबहादुर छट्पटाइरहेको थियो । भेन्टिलेटर भनेको मृत्युलाई अल्झाउने मेसिन झैँ लाग्यो । जब म, अशोक र उसको भाउजु जान्थ्यौँ, आँसु चुहाउँथ्यो । त्यो आँसु भाइको अनुहारबाट त पुछिदिन्थ्यौं, आफ्नो मुटुमा आएर बस्दो रहेछ । आगो झैं पोल्दो रहेछ । कर्णालीमा उखान छ उही आगोले पोल्छ, उही आगोले सेक्छ । त्यो आँसुले सेक्ने होइन, पोलिरहेको थियो । ऊ हजारौं कथाहरू सुनाउन चाहन्थ्यो, भेन्टिलेटर वाधक थियो । ऊ असमर्थ थियो । उसले सुनाउने र बोल्ने कथावाचन गर्ने एउटा मात्र विधि थियो आँसु  मुस्किलले खोल्थ्यो आँखा । शक्तिहीन मानिसलाई आँखाले भन्दा आँसुले नै साथ दिंदो रहेछ ।

भदौ ५ गते चटपटे मन्त्रिपरिषद्ले आन्दोलनको आगोलाई निभाउन बृहत कर्णाली प्रदेशलाई टुक्राएर सातौँ प्रदेशमध्येको कर्णालीलाई छैठौँ प्रदेश घोषणा गन्यो । मृत्युशैयामा लडिरहेकाहरू एकातिर छन्, अर्कोतिर कर्णालीमा राँको बालियो, दिपावली मनाइयो र कर्णालीको आन्दोलनलाई सुरक्षित अवतरणकर्ताहरूले सन्तोषको श्वास फेरे । विडम्बना कर्णालीहरूको माग पूरा भएकै थिएन र छैन । कर्णाली र देशभरिका विद्रोह वैद्य र विप्लव माओवादीको हातमा नजाओस् भन्ने कांग्रेस, एमाले र एमाओवादीहरू सचेत बन्दै गइरहेका थिए । जुम्ला आन्दोलन पनि युवाहरूलाई हौस्याउने तत्व यिनै हुन् भन्ने सार्वजनिक चर्चा भइरहेको थियो । अपितु पटक पटक जनसमुदाय विद्रोहमा उत्रिदा पनि विद्रोहका हुँकारकर्ताहरू जागृत र संगठित भने भएनन् ।
राति हरिबहादुरलाई कुर्न अशोक बसेको थियो । अशोकले राति बाह्र बजे हरिबहादुरलाई साह्रै गाह्रो भएको बताएपछि इन्दिरा र म मैतीदेवीबाट टिचिङ गयौँ । पुग्ने वित्तिकै डाक्टरले तपाईंको बिरामीलाई साह्रै गाह्रो भइरहेकोले उपचार सघन भइरहेछ । कुनै पनि बेला जे पनि हुन सक्छ, मानसिक रूपले तयार हुनुहोस भने । यो मृत्युको पूर्व सूचना झैँ थियो ।

भदौ ६ गते बिहान ४ बजे डाक्टरहरूले बिरामीको मृत्यु भएको सूचना दिएँ । जतिसुकै मानसिकता तयार भए पनि सहन साह्रै गाह्रो भो । सेतो कपडा किन्नु पर्ने । टिचिङमा नपाइँदो रहेछ । म र अशोक बालअस्पतालतिर गयौँ । त्यहाँ मानिस आई नसकेको रहेछ । प्रहरीलाई फोन गर्न लगाएर बोलायौँ र फर्कियौँ ।  हरिबहादुर कुँवरको शहादतको खबर चारैतिर फैलिसकेको थियो । सिङ्गे काका एकाबिहानै पुग्न ु भयो । त्यसपछि अरुहरू पनि । कर्णालीमा दिपावलीसँगै पुगेको खबरले थुप्रैले थुप्रै आशंकाका भारी बिसाएछन् । डाक्टर, अस्पताल प्रशासन र राज्यले सुनियोजित हत्या गरेको हो भने मलाई केही थाहा छैन र म र हाम्रो तर्फबाट कुनै त्यस्तो भएको थिएन । हरिबहादुरको शहादतपछि कर्णालीका सचेत, संगठित र आन्दोलनकारी हरेक नागरिकहरूको उपस्थिति भयो । जुम्लाका आन्दोलनकारीले त्यो शवलाई जुम्लामा नै पुयाउन आह्वान गरेका थिए भने काठमाडौँका आन्दोलनकारीले शहीद घोषणाबिना लास नउठ्ने घोषणा गरे । ६ गते नै चलिरहेको संविधानसभामा प्रेमबहादुर सिंहले शहीद घोषणा गर्न माग गर्नु भयो । सडक र संसदमा समेत चर्को माग उठेपछि राज्य शहीद होइन, राहत घोषणा गरेर थामथुम गर्ने रणनीतिमा केन्द्रित भयो ।

शहीदको लास शवगृहमा राखिएको थियो । मोहन वैद्य, डा. बाबुराम भट्राई, माधव कुमार नेपाल लगायतका उच्च नेताहरूले शव गृहमा नै श्रद्धाञ्जली दिएर शहीद घोषणा गर्न सहयोग गर्ने बताउनु भयो । जब शवगृहमा अलपत्र लासहरू ठुस्स गन्हाइरहेका थिए, ती लासहरूको बीचमा मेरो भाइको पार्थिव शरीर लडिरहेको थियो । गोली लागेको घाउबाट रगत बगिरहेको थियो । त्यो रगत सँगैसँगै एउटा मानिसले धर्तीबाट बिदा लिएको थियो । त्यो हृदयविदारक दृश्यले मलाई राज्यसँग शहीद घोषणाका निम्ति सङ्घर्ष भन्दै लासलाई सड्न दिनु हुन्न भन्ने लाग्यो ।
७ गते कैलालीमा एएसपी सहितका प्रहरीहरूको छुरा भाला हानी गरिएको हत्याले देश पुरै थरथर कामिरहेको थियो । मानिसहरूमा अनिश्चयता वृद्धि भएको थियो । द्वन्द्वको चर्को अनुभूति थियो । मेरो धारणा चाहिँ पृथक थियो । प्रहरीले जनताका छोराछोरी चरा झैँ मारिरहँदा संवेदित नहुनेहरू जनताले विद्रोह गरेपछि तर्सिदा रहेछन । यसकारण सीमान्तकृतहरू, पिछडाइएकाहरूले लड्नुको कुनै विकल्प छैन ।

जुम्लाका आन्दोलनकारीले नागरिकका तर्फबाट शहीद घोषणा गर्दै कुँडारीदेखि टोप्ला हुँदै जाजरकोट जाने सडकलाई हरिबहादुर कुँवर स्मृतिमार्ग घोषणा गर्ने, जुम्लामा पार्क सहितको शालिक निर्माण गर्ने, अक्षय कोष स्थापनाको निर्णय भयो । कर्णालीका अन्य जिल्लाले पनि जिल्ला प्रशासन मार्फत् शहीद घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । काठमाडौँमा आन्दोलनरत कर्णाली स्वायत्त प्रदेश सङ्घर्ष समितिले पनि त्यही प्रकृतिको माइन्युट गरेपछि लास जलाउन तयारी भयो । आठ गते बिहानै प्रहरीसँग मुचुल्कादेखि शववाहनको व्यवस्था गरेर आर्यघाट पुयाइयो । कर्णालीको राजनीतिक इतिहासमा आन्दोलनको एउटा बिम्ब निर्माण गर्ने हरिबहादुर कुँवरलाई अन्तिम श्रद्धाञ्जली दिन सिपी गजुरेल, धनबहादुर बुढा, नरेन्द्रनाथ योगी, दिनबन्धु श्रेष्ठ, चन्द्रबहादुर शाही, नरेश भण्डारी, मनऋषि धिताल, डा। कलबहादुर रोकाया, हरिबहादुर बोहोरा, उमाकान्त अधिकारी, पूर्ण चौलागाइँ, महेन्द्र कार्की, महेन्द्रबहादुर शाही, प्रकाश धिताल, देवेन्द्रबहादुर शाही, प्रनिल देवकोटा, पदमबहादुर शाही, तारासिंह कठायत, मंगल शाही, धनेन्द्रबहादुर बोहोरा, रामसिंह रावल, रामदिप आचार्य, दानराज खत्री, अनिता अधिकारी, शक्ति बस्नेत, धिरेन्द्रराज गिरी, गगन बोहोरा, हर्कबहादुर रावत, डा। भीम केसी, नवीनबहादुर शाही, कर्णबहादुर विसी, आरसी न्यौपान, प्रेमबहादुर बुढथापा, मिमबहादुर भण्डारी, जीवन रोकाया, बलिराज मल्ल, सिंगे कुँवर, रमेश भण्डारी, दिनेश शर्मा, खेम थपलिया, जीवनसिंह कठायत, राधिका केस, युवराज बम, नवीन कुमाल, जीवन बुढथापा, अशोक थारु, टेक खत्री, हर्ष बुढथापा, डिवी शाही, क्षेत्रबहादुर बुढथापा, रक्षाबहादुर बुढथापा, भुवन बुढथापा, नेत्रबहादुर शाही, रामदत्त रावल, जीवन भण्डारी, हिमानन्द धिताल, कान्तिका सेजुवाल, सत्या पहाडी, बुम्क्याप लामा, गोरख बोगटी, युवराज आचार्य, सुरतबहादुर शाही, गोमा बुढथापा, प्रेमबहादुर सिंह, इन्दिरा कुँवर, दिलमाया योगी, ईश्वरचन्द्र ज्ञवाली, पदमबहादुर रोकाया, कृष्ण अधिकारी, टेकराज पछाई, शिवशंकर चौलागाइँ, विकास कार्की, रविन सेजुवाल, ललितजंग शाही, हिमग्याप लामा, लक्ष्मीप्रसाद चौलागाईं, देविजंग महत, सर्पानन्द हमाल, जय दाहाल, यशोदा न्यौपाने, ललिता रेग्मी, विशाल योगी, भीमबहादुर थापा, गोमा कुँवर, भण्डारी नरेश, शम्शेर महतारा, मोहन बानिया र कुशेन्द्रबहादुर महत, दिलमाया योगी, अर्जुन योगी, विशाल योगी, आदिको उपस्थिति रहेको थियो । नेपालमा थरगत भावनाको आधिक्यता कुन हदसम्म रहेछ भने एक जना काठमाडौँवासी नवीन कुँवर आफ्नो गोतियारको गोली लागि शहादत भएको समाचार सुनेर आर्यघाटमा घाट रोक्नेदेखि दाउराको व्यवस्थापन गर्न जुट्नु भयो । शहीदलाई अग्निदाहका सम्पूर्ण क्रिया सिङ्गे काकाले गर्नुभयो । मलाई काकाको उपस्थिति बरपीपलको ओत झैं भयो। काका व्यवहारिक सङ्कटमोचक बन्नुभयो । पीडाको शेयरकर्ता बन्नुभयो ।

जब हरिबहादुरलाई अन्तिम श्रद्धाञ्जलीमा झन्डा ओढाउनु पर्ने भयो, सिपी कमरेडले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनु भयो । केही कर्णालियनलाई मन परेनछ । प्रेम कैदी यो झन्डाले शहीदलाई स्वर्ग जान दिँदैन भन्दै हुनु हुन्थ्यो । उहाँको भौतिकवादलाई चमेराले चाटि सकेछ । जब आगोले पार्थिव शरीरलाई निल्दै गयो, तब दाजु मन ऋषि धितालको यो भनाइले मलाई चिमोटिरहेको थियो मसँग कुनै शब्द छैन । सम्हालिनु पर्छ ।

हरिबहादुर कुँवर, मेरो एक मात्र भाइ, प्यारो भाइ । कुनै बेला म तिमीलाई प्रशिक्षित गर्थे, अब तिमी मेरो प्रशिक्षक हौ । जीवनमा हजार चुनौतीलाई मोलेर एउटै काम किन नगरुँ, जो आफ्नो समयका सच्चा मानिसहरूले सम्झियून । कर्णालीले तिमीलाई स्वायत्तताको सङ्घर्ष जारी रहुन्जेल सम्झिरहनेछ । अलबिदा शहीद हरिबहादुर कुँवर । अलबिदा मेरो भाइ । अलबिदा नयाँ युगको पैकेला ।
(यो आलेख कर्णाली प्रदेश स्थापनार्थका लागि आन्दोलनको मोर्चामा गोली लागेर ज्यान गुमाएका सहिद हरिबहादुर कुँवरको स्मृतिग्रन्थबाट साभार गरिएको हो । )

तस्बिर : नेत्र शाही

 

प्रतिकृया दिनुहोस्