OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ १५, २०७७जुम्ला,
२४२२ पटक

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको आज १३ वर्ष भएको छ । वि.सं २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २३७ बर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको दिन नेपाल सरकारले जेठ १५ गतेको दिनलाई भव्य रुपमा गणतन्त्र दिवसको रुपमा मनाउदै आएको छ । गणतन्त्रको स्थापना घोषणा गर्ने पहिलो संविधानसभाको बैठक र अन्य अनुभवका बारेमा तत्कालिन् जुम्ला निर्वाचन क्षेत्र संविधानसभाका सदस्य तथा हाल कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी सँग कोरपाटी अनलाईनका प्रधानसम्पादक नेत्र शाहीले लिएको अन्तरवार्ताको सम्पादित अंश ः
१. सर्व प्रथम यहाँलाई कोरपाटीको अन्तरवार्तामा हार्दिक स्वागत छ ?
धन्यवाद !
२. आज नेपालमा ऐतिहासिक गणतन्त्र आएको दिन, गणतन्त्रका सवल पक्षहरु के होलान ?
नेपाली इतिहासमा आजको दिन युगान्तकारी परिवर्तनको प्रतिक गणतन्त्रको औपचारिक घोषणा भएको दिन हो । मेरो विचारमा पारिवारिक सर्वोच्चताको स्थानमा जन सर्वोच्चता, हुकुमी शासनको स्थानमा विधिको शासन, वाक तथा प्रेस स्वतन्त्रता, मौलिक हकको संरक्षण, न्यायोचित प्रतिनिधित्व र सन्तुलित विकास गणतन्त्रका सवल पक्षहरु हुन् ।
३. संविधानभाको पहिलो बैठकमा तपाई २३७ वर्ष पुरानो राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको पक्षमा हस्ताक्षर गर्ने व्यक्ति मध्य एक पर्नु हुन्छ । त्यो दिनको स्मरण सुनाई दिनुहोस न ?
केही स्मरणहरु जस्ता हुन्छन् जो सहजै मेटिन्छन्, केही विशेष हुन्छन् जुन ढुङ्गामा कुँदिएका अक्षरजस्ता हुन्छन् मेटिदैनन् । मानसपटलमा सदैव ताजै र अमिट रहने स्मरण मध्ये गणतन्त्र घोषणाको हो । जुन स्मृतिमा आइरहन्छ । जनताका असीमित आकाङ्क्षाहरुका भारी बोकेर म संविधान सभारुपी सङ्घर्षको मोर्चामा सामेल भएँ । त्यहाँ समग्र नेपालको तस्वीर संविधानसभा कक्षमा देखिन्थ्यो । विभिन्न समुदायबाट प्रतिनिधित्व गरेका सभासद्का भिन्ना भिन्नै संस्कृति झल्काउने पोशाकले पनि संविधानसभा परिसर रंगिएको थियो ।
यस्तो समुचित प्रतिनिधित्व नेपालकै इतिहासमा पहिलो थियो । पहिलो बैठक मध्यरातसम्म जारी रह्यो । गणतन्त्र घोषणा गर्ने विषयमा रस्साकस्सी चलिरहेको सूचना आईरहेका थिए । माओवादीलाई शक्ति बाँडफाँड र संविधान लेखनको सवालमा झुकाएर मात्र गणतन्त्रको औपचारिक घोषणा पहिलो बैठकबाट गर्न काग्रेस चाहन्थ्यो ।
परिवर्तन विरोधी पुराना शक्ति वातावरण बिथोल्न बैठक कक्षको सेरोफेरोमा उच्छृङ्खल गतिविधिमा उत्रिए भने नेपाली जनताले टि.भी.का स्क्रिन अगाडि ऐतिहासिक घोषणाको व्यग्र प्रतीक्षा गरिरहेका थिए । सभासद्हरु हस्ताक्षर गर्न आतुर थियौँ । रगतको मसिले लेखिएको ऐतिहासिक दस्तावेजमा ।
संविधानसभा भवन बाहिर गणतन्त्र घोषणाका लागि दबाब जुलुसहरु प्रदर्शन भइरहेका थिए । बैठक प्रारम्भ हुुने अझै सङ्केत थिएन । बाहिरको चलखेलबारे सुनिन्थ्यो, गणतन्त्र घोषणाको युगीन निर्णयलाई तुहाइने पो हो कि भन्ने चिन्ताले सताउथ्यो । बाहिरको नाराबाजीले खबरदारी मात्र होइन जिम्मेवारी बोध पनि गराइ रहेको थियो ।
पट्यारलाग्दो प्रतिक्षापछि राति १२ः०० बजे बल्ल बैठक प्रारम्भ भयो । २३७ वर्र्ष पुरानो राजतन्त्र गल्र्यामगुर्लुम ढल्यो । संविधानसभा जेष्ठ सदस्य कुलबहादुर गुरmङले गणतन्त्रको प्रस्ताव प्रस्तुत गर्ने अवसर पाए । चार जनाबाहेक सबैले यसको पक्षमा मतदान गरे ।
बैठकको कुनाबाट मसिनो स्वरमा असहमति पनि सुनियो । ६ सय १ जनाको विपक्षमा उभिएका चारजनाा र निराशाकाे भाव फरक थिए ।
जब मतपरिणाम सार्वजनिक भयो, सार्वभौम सदनमा तालीको गड्गडाहट शुरू भयो । लामो समयसम्म ताली रोकिएन । राजतन्त्र विररूद्धको लडाइँ पनि लामै थियो । गणतन्त्र प्राप्तिको लडाई पनि कम कष्टकर कहाँ थियो र ? सभासदहरुको मुहारमा खुशीको सीमा थिएन । सबैका अनुहार धपक्कै बलेका थिए ।
नारायणहिटी दरबारमा यसअघि कहिल्यै नगएको भूकम्प गयो । राजनीतिक भूकम्पले राजगद्दी र श्रीपेचबाट ज्ञानेन्द्रलाई मध्यरातमा नागार्जुन हुत्त्यायो । राजतन्त्र भग्नावशेषमा परिणत भयो । उद्धार गर्न कोही तम्सिएनन् । सम्पूर्ण विशेष सुविधाहरु खोसियो । विष्णुको अवतार मानिदै आएका राजा नागरिक भए । राजाको अकुत सम्पत्ति राज्य कोषको मातहतमा ल्याउने निर्णय भयो ।
यसरी प्रसव वेदनाका साथ कालो युगको दाहसंस्कार गरेर नयाँ युग जन्मियो । दरबारलाई संग्रहालयमा परिणत गर्ने ऐतिहासिक निर्णय नेपाल सरकारले ग¥यो ।
वास्तवमा हाम्रा पुर्खाहरुले नागरिक हुनै पाएका थिएनन् । केवल प्रजा, रैतीमा पुरै जीवन गुजारेका थिए । सत्ताको मालिक बन्ने अवसर उनीहरुका लागि आकाशको फल थियो । गणतन्त्रले नेपाली इतिहासमा जनताको छोराले राष्ट्रप्रमुख हुने अवसर पहिलो पटक पाउने अवसर सिर्जना गरिदियो । चाहे त्यो जुनसुकै जाति, भूगोल, लिङ्ग वा वर्गमा जन्मेको किन नहोस् । जसका लागि नेपाली समाजले ठुलो मूल्य चुकाउनु परेको थियो । म यस युगीन प्रक्रियाको साक्षी मात्र होइन, एक हस्ताक्षरकर्ता पनि थिएँ । यसले मलाई निकै आनन्दित तुल्यायो । हर्षित र गर्वित पनि बनायो ।
४. गणतन्त्रको स्थापना पछि नेपालमा छाएको उत्साह र चुनौति के थियो ?
नेपाली जनताको अभूतपुर्व बलिदानको प्रतिफलस्वरुप प्राप्त गणतन्त्रको स्थापना पश्चात छाएको उत्साहपनि अभूतपुर्व र असाधारण थियो । अधिकार प्राप्तिको इतिहासमा नेपाली जनताले प्राप्त गरेको उपलब्धी मध्ये सबै भन्दा ठूलो उपलब्धी गणतन्त्र हो । तसर्थ, जुन अनुपातमा उपलब्धि हासिल हुन्छन् त्यही अनुपातमा चुनौतीहरुपनि सिर्जना हुन्छन् नै । एकातिर जनताको चुलिदो जनआकांक्षा र अर्कातिर सिमित साधन श्रोत तथा अविकासको अवस्था गणतन्त्रको बाटोमा खडा भएका प्रमुख चुनौती हुन । गणतान्त्रिक व्यवस्था अनुकुलको चिन्तन, संस्कार, संस्कृति र कार्यशैली अबलम्बन गरेर गणतन्त्रको संस्थागत विकास गर्ने चुनौती यथावत छ ।
५. बाहिर एकथरीको बुझाई अझैपनि राजतन्त्र फर्किन्छ भन्ने छ नि ?
राजतन्त्र फर्काउने तर्क विल्कुल कुतर्क हो । यो दिवास्वप्न हो । समयको बर्बादी हो । मनको लड्डु घ्युसँग नखान र गणतन्त्रको संस्थागत विकासमा लाग्न राजतन्त्र पक्षधरहरुलाई समेत अनुरोध गर्दछु । यो फ्रान्स होइन, नेपाल हो जहाँ राजा र राजतन्त्र पुनस्र्थापित होस् । यो गणतान्त्रिक युग हो, राजतन्त्रात्मक होइन ।
६.अन्त्यमा यहाँको भन्नु केही छ ?
विषम् परिस्थितिका कारण बिगत्माझैं गणतन्त्र दिवस समारोह आयोजना गरेर मनाउन पाइने अवस्था नभएतापनि गणतन्त्रको संस्थागत विकासका लागि ढृढतापुर्वक लागि परौं । कोरोना(कोभिड–१९) मानवजातीका सामुन्ने चुनौती बनेर खडा भएको छ । रोग र भोकका विरुद्ध एकसाथ जुध्नु पर्ने अवस्था सिर्जना हुदैछ । सरकारको एकल प्रयत्नले मात्र महामारी र भोकमारीका विरुद्धको लडाइमा विजय हासिल गर्न सम्भव छैन । तसर्थ, मानव जातिको रक्षार्थ एकताबद्ध भएर अगाडी बढन सम्पूर्णमा अपिल गर्दछु ।
७. कोरपाटीको अन्तरवार्ताका लागि समय दिनुभएकोमा हार्दिक धन्यवाद ।
ऐतिहासिक दिनको स्मरण सम्पे्रषण गर्ने र नागरिक तहसम्म यसको सन्देश प्रवाह गर्ने अवसर सिर्जना गरेकोमा कोरपाटीप्रति आभार व्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस्