OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गुठिचौरलाई सडक सञ्जालयुक्त गाउँपालिका बनाउने लक्ष्य पुराः अध्यक्ष भण्डारी

सीमित स्रोत साधनले जनताका सबै अपेक्षा पुरा गर्न सकिएको छैन

कोरपाटी पौष २०, २०७७जुम्ला,
२१२८ पटक

मुलुक संघीयतामा गएपश्चात् अहिले जनताका काम तीन तहका सरकारबाट भईरहेका छन् । जनताको नजिकको सरकारका रुपमा स्थानीय तहबाट विभिन्न विकास निर्माणका कार्य भईरहेको देख्न सकिन्छ । जसको प्रत्यक्ष प्रभाव सम्बन्धित पालिकाका नागरिकहरुले सहजै गरेका छन् । संघीयताको कार्यान्वयनका क्रममा स्थानीय तहले गरेका गरेका काम, वित्तिय सुशासन, पारदर्शिता, जवाफदेहिता र तिनको प्रभावकारिताका विषयमा कोरपाटी अनलाईनले स्थानीय सरकारका प्रमुखउपप्रमुख, अध्यक्षउपाध्यक्षसँग विकास गतिविधिका विषयमा प्रत्यक्षरुपमा सरोकार राख्दै आएको छ । यी यस्तै गतिविधि र सवालमा केन्द्रित रहेर गुठिचौर गाउँपालिका जुम्लाका अध्यक्ष हरिबहादुर भण्डारीसँग कोरपाटी अनलाईनले लिएको अन्तरवार्ताको सम्पादित अंशः

कोरपाटीको अन्तरवार्तामा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

स्थानीय तह गठन भएको तेस्रो वर्ष भयो । यो तीन वर्षको अवधिमा यहाँले गर्नुभएका विकास निर्माणका काम र उपलब्धिहरु के-के भए ? के हुन सकेको छैन ?

हो संविधान त स्थानीय सरकारको गठन भएको तीन वर्ष पुग्यो । यो अवधिमा जनताका थुप्रै आकांक्षा र विकासको आवश्यकता थिए र छन् पनि । हामीले स्थानीय सरकारको तर्फबाट गाउँपालिकाका ठोस काममा केही प्रथामिकता दियौ । जुन कामहरु मैले कोरपाटी अनलाईनमार्फत दिन पाउदा खुशी भएको छु । पहिलो सिंगो गुठिचौर गाउँपालिका सड्क संञ्जालमा जोडेका छौं । यहाँका २२ गाउँमा कच्ची बाटो पुरयाएका छौ । सदरमुकामदेखि गाउँपालिका कार्यालय र गाउँपालिकादेखि सबै गाउँसम्म कच्ची बाटो पुर्याउदा यहाँका नगारिकहरुलाई यातायातमा सुविधा भएको छ ।

दोस्रो गाउँपालिकाका दुई गाउँबाहेक अन्यमा सिचाई पुगेको छ । ती दुई गाउँमा पनि सिंचाई योजना पुर्याउने अन्तिम तयारी भईरहेको छ । गाउँपालिकाको झारज्वाला माविमा प्राविधिक उच्च मा।वि सञ्चालनसहित भौतिक पूर्वाधार जोडेका छौ । कर्णाली प्रदेश सरकारको पहलमा जुम्ला डोल्पा सड्कको निर्माण कार्य शुरु गरेका छौ । बिजुली पुग्न बाँकी चार गाउँको लागि ४८ वाटको विद्युत निर्माण भईरहेको छ ।

गाउँपालिकाका जनतामा सूचना प्रवाहका लागि आफ्नै रेडियो स्थापना गरेका छौ । अहिले रेडियोले कोरोना रोकथामसहित विभिन्न सूचना प्रवाह गरिरहेको छ । शैैक्षिक पूर्वाधारका हिसाबले गाउँपालिकामा १४ वटा विद्यालय भवन निर्माण गरेका छौ । जसमा छ वटा पक्की र आठ वटा जस्ताले छाएका भवन छन् । यसैगरी, कृषिमा किसान सँग अध्यक्ष कार्यक्रम ल्याएका छौ । भेडावाख्रा, पशुपंक्षी, स्याउ उत्पादनमा जोड दिईएको छ। त्यस्तै, कोरोना भाईरस विरुद्धको लडाईमा महत्वपूर्ण काम गरेका छौ । मुख्य कुरा गाउँपालिकाको केन्द्रसमेत टुंगो लगाएका छौ । अन्य कामहरु त निरन्तर भईरहेका छन् ।

यसका साथै विकास नरोकिने प्रक्रिया भएकाले अझै सबै गर्न सकिएको छैन् । सिमित स्रोत साधन भएकाले कृषिलाई व्यवसायीकरण गर्न ठूलो लगानी आवश्यक छ । गुठिचौर परिचित पर्यटकीय केन्द्र हो । यहाँको पूर्वाधार निर्माणमा स्थानीय सरकारको बजेटले भ्याउदैन । संघीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक छ । त्यहाँको भेडाबाख्रा स्रोत केन्द्रलाई थप व्यवस्थान गर्नुछ ।

अहिलेसम्मको काम गराईबाट के कति सन्तुष्ट हुनुहुन्छ ? के जनताले संघीयताको महसुस गरेका छन् ?

विगत दुई दशक यतादेखि जनप्रतिनिधिविहिन भएका स्थानीय निकायहरुबाट सहज र सुलभ सेवा प्रवाह नहुँदा जनताले दुःख भोगिरहेका थिए । उनीहरुलाई विकासको प्यासले काकाकुल नै बनाएको थियो । तत्कालिन् व्यवस्थाले जनताको आधारभूत कुरा पुरा गर्न नसक्दा एक हिसाबले उनीहरुले अभावको महसुस गरिरहेका थिए ।

मुलुकले संघीयताको यात्रा तय गरेपछि विकास प्राप्तिको पर्खाईमा रहेका स्थानीय जनताको अवस्थामा उनीहरुको आधारभूत आवश्यकता पुरा गर्न गुठिचौर गाउँपालिका केही काम गरेको छ। गर्न सक्ने कामहरु गरेको जस्तो लाग्छ । जुन जनताका लागि भोलिसम्म स्मरण हुनेछन् । अर्को स्थानीय सरकारको उपस्थिति हुनु पूर्व धेरै काम जनताले सदरमुकाममा धाउनु पथ्र्यो । अहिले त्यही काम नजिकको वडापालिकाले नै गरिदिने गरेको छ । भौतिक विकास, सामाजिक विकास गाउँमै भएको छ । यसमा संघीयताले ल्याएको परिवर्तन हो ।

अर्को हिजो महामारीमा वा संकटको बेला सबैले जिल्लाको मुख ताक्नु पर्दथ्यो तर आज हामी आफै निर्णय गर्ने अधिकारमा छौ । जस्तै, कोभिड १९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण, उद्धार तथा राहतको बेलामा बजेट व्यवस्थापनदेखि अन्य काम हामीले सबै भन्दा बढी गरेका छौं । वडामार्फत आएका योजनाहरु स्वीकृत गर्नेदेखि तिनको कार्यान्वयनमा जोड दिईदै आईएको छ । यस हिसाबले आफ्नो कामप्रति म सन्तुष्ट नै छु । यदि यही गतिमा जाने हो भने आगामी दुई वर्ष वा अर्को निर्वाचनसम्म हामीले अन्य राम्रा काम गर्ने समेत अवसर हुनेछ ।

यो तीन वर्षमा कति बजेट खर्च भयो ? बजेट खर्च अनुसारको उपलब्धि भएजस्तो लाग्छ ?

आर्थिक वर्ष २०७४ ।०७५ सालबाट ४ वटा बजेट हामीले ल्याएका छौ । यस गाउँपालिकाकाको आर्थिक वर्ष २०७६।०७६ आम्दानी रु २४ करोड ९० लाख ५९ हजार रहेको थियो । आर्थिक बर्ष २०७७।०७८ रु.३१ करोड १५ लाख ९७ हजार ३४८ विनियोजन भएको र कार्यान्वयनको प्रक्रियामा छौं।
अहिलेसम्म करिब एक अर्ब खर्च भएको अनुमान गर्न सकिन्छ । सो अनुसारको उपलब्धी भएको जस्तो लाग्छ । अझैपनि हामीले गरेका कामहरुमा दोस्रो निकाय पत्रकारिता क्षेत्र, नागरिक समाज वा जनताले राम्रो नराम्रो काम छुट्याउन अनुरोध गर्दछु ।

गाउँ सरकारका प्रमुखका हिसाबले यो तीन वर्षमा के-कस्ता चुनौतिहरु भोग्नुभयो ?

स्थानीय सरकार सबै भन्दा जनताको नजिकको सरकार हो । हामीले धेरै काम गर्नुछ । तर सिमित स्रोत साधनले जनताका सवै अपेक्षा पुरा गर्न सकिएको छैन। तर आधार तयार गरेको महसुस भएको छ । बजेट कम भएका कारण अहिले पनि समस्या छ । अर्को यो वर्ष कोरोना भाईरस विश्व महामारीको रुपमा फैलिएपछि राजश्व घटेर आउदा योजना अनेसारको काममा समस्या परेको छ । करिब अढाई करोड गत वर्षको बजेट आएन । अर्को जुम्लाको दुर्गम क्षेत्रमा भएका गाउँपालिका भएकाले सेवा प्रवाहमा कठिन, जनचेतना जनतामा अझै कम भएकाले अब उहाँहरुको सबै आशा र अपेक्षा पुरा गर्न कठिन भएको अवस्था छ ।

स्थानीय तह र प्रदेश तथा संघबीच काम गराइमा के कस्तो समन्वय रह्यो ?

मैले अघि पनि भने संविधान त अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छन् । सबै भन्दा बढी जिम्मेवारी स्थानीय सरकार हामीलाई छ । सबै भन्दा बढी सेवा पुर्याउने जिम्मेवारी स्थानीय तहकै काँधमा छ । अहिले प्रदेश सरकार र संघीय सरकारसँग समन्वय भएर हाम्रा कामहरु समेत भएका छन् । जस्तै प्रदेश सरकारले जुम्ला डोल्पा जोड्ने पक्कि पुल दाँनसाँघुमा पुरा गरेको छ । अर्को जुम्ला –डोल्पा सडक काम भईरहेको छ ।

कोरोना रोकथाममा गाउँपालिकाबाट के-कस्तो कामहरु भए ?

अहिले विश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरसबाट नेपाल, कर्णाली र जुम्ला मात्र होइन, गुठिचौर गाउँपालिका पनि अछुतो रहेन । यसवाट बच्नका लागि गाउँपालिकाले आफ्नो स्रोत साधन अनुसार काम गरिरहेका छौ । गाउँपालिका जनतालाई मास्क, सेनिटाईजर, वितरणदेखि क्वारेन्टाईन निर्माण गरेका छौ । यसका साथै ५० वेडको आईसोलेसन भवन बनाएका छौ । कोराना अस्थायी अस्पताल, २०० लाई उद्धार, हेल्थ डेस्क स्थापना, स्वाब संकलन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीको सहयोगमा स्वाब संकलनदेखि विभिन्न स्वास्थ्य जाँचलगायतका कामहरु गरेका छौ । गत आर्थिक बर्षमा कोरोना रोकथाममा रु ५५ लाख विनियोजन गरेका थियौ भने अहिले रु ७५ लाख कोरोना रोकथाममा गाउँपालिकाले बजेट विनियोजन गरेका छ। अर्को महत्वपूर्ण विषय जनतालाई सचेत गर्न, जनचेतना जगाउन रेडियो गुठिचौर स्थापना गरी परीक्षण प्रसारण गरिरहेका छौ । रेडियोले कोरोना भाईरस रोकथामसहित विभिन्न गाउँपालिकाका सूचनाहरु प्रशारण गर्ने काममा निरन्तरता दिदै आएको छ । गाउँपालिकाले गरिरहेका कोरोना भाईरसविरुद्धको कामसहित अन्य विकास गतिविधिका सवालमा जनतालाई जानकारी गर्ने बलियो सञ्चार पूर्वाधार निर्माण भएको छ ।

अबको दुई वर्षभित्रमा के-के काम हुनेछन् ? के गाउँपालिकाले गरेका कामको प्रत्याभूति जनताले गर्न पाएका छन् ?

यो वर्ष गाउँपालिकाको पहिलो प्रथामिकता भनेको आफ्नै एम्बुलेन्स खरिदको गर्ने हो । एम्बुलेन्स नभएर जनताले दुख पाएका छन् । बाँकी जनताले वडास्तरमा छानेका कामहरु उपलब्ध स्रोत साधनले भ्याएसम्म योजनाको रुपमा अगाडि बढ्नेछन् । मुख्य कुरा जुम्ला, डोल्पा र जाजरकोट जोड्ने सडकका लागि प्रदेश सरकार र संघीय सरकारसँग पनि थप समन्वय गर्ने योजना रहेको छ । गाउँपालिकाले स्थापना गरेको रेडियोको चिमारामा रिले टावर राखेर कर्णालीभरि विस्तार गरिनेछ ।

कोरोना भाईरसविरुद्धमा हुने विभिन्न क्रियाकलपा जिल्लाको विपत व्यवथापन समिति, गाउँकार्यपालिका र गाउँसभासँगको सहकार्यमा प्रथामिकता हुनेछ । किनकी पहिलो हामी बाँच्नुपर्छ । जनता बचाउनु छ । अर्को जनताले काम भए नभएको हामीलाई मुल्यांकन पनि गरिरहेका छन् । हामीले गरेको कामको अनुभुति जनताले गरेको पाएका छौं यद्यपि जनताका सबै अपेक्षा पुरा गर्न समय भने लाग्छ नै ।

प्रतिकृया दिनुहोस्