OnlinePana

आज : २०८२ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २१, २०८२
३१ पटक

 

२० कात्तिक २०८२, बिहीबार

काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको कम्युनिष्ट एकता घोषणासभा संविधान र लोकतान्त्रिक गणतन्त्र सिध्याउन खोज्ने शक्ति विरुद्धको प्रतिवाद भएको बताउनुभएको छ । उहाँले एकता घोषणासभाले विश्वभर बलियो सन्देश प्रवाह गरेको प्रतिक्रिया दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज गरेको ‘राष्ट्रियस्तरको बृहत भर्चुअल प्रशिक्षण’कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनैतिक रुपले विचार गरेर कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपनाका साथ १९ गते एकता घोषणासभा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वाम एकता लोकतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउन गरिएको ऐतिहासिक महत्वको रणनैतिक पहल र अपिल हो । राजनीतिक दल तथा लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो” ।

जेनजी आन्दोलनपश्चात् मुलुकमा उत्पन्न संकट समाधान, संविधान खारेज तथा भयानक अवस्थाबाट बचाउन र राजनीतिक निकासका निम्ति सहजीकरण गर्ने विशेष अवसर प्राप्त भएको जनाउँदै उहाँले एकता घोषणासभा लोकतान्त्रिक वाम शक्तिहरु एक ठाउँमा आउने ‘बृहत राष्ट्रिय एकताको आधार’ बन्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनको वातावरण बनाउन, संकटबाट राष्ट्र जोगाउन पहल गर्नुपर्ने जिम्मेवारी नेकपामा आईपुगेकोले यसमा गम्भीर कदम चाल्नुपर्ने संयोजक प्रचण्डको भनाई थियो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट एकटाले जनताको बीचमा भरोशा पैदा गरेको छ । जुन आजको अपरिहार्य आवश्यकता थियो । अब जनसम्बन्ध बढाउन, संविधान र संवैधानिक अधिकार रक्षाका निम्ति प्रगतिशील शक्तिहरुको एकता एवं ध्रुवीकरणको मार्ग प्रशस्त भएको छ ।” सरकारका गलत क्रियाकलापका कारण जेनजी आन्दोलन हुन गएको उहाँको टिप्पणी थियो ।

शिक्षक कर्मचारीहरुका जायज मागहरु पुरा गर्न सरकार, सदन र सडकबाट जोडबल गरिँदा पनि पछिल्लो सरकार त्यसप्रति अनुदार बनेको जिकिर गर्दै उहाँले सदनमा तागत नपुग्दा शिक्षक कर्मचारीका माग पुरा हुन नसकेको धारणा व्यक्त गर्नुभयो । निर्वाचन केन्द्रित हुन र त्यसको माहोल सिर्जना गर्न पनि उहाँले शिक्षक कर्मचारीलाई निर्देशन दिनुभयो । संयोजक प्रचण्डले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण तयारीका लागि सरकारलाई दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

 

 

प्रतिकृया दिनुहोस्