OnlinePana

आज : २०८२ मंसिर ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ७, २०८२
४ पटक

६ मंसिर २०८२, शनिबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिका लागि राजनीतिक तथा सामाजिक एकता आवश्यक भएको बताउनुभएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छाशक्तिको कमी नभई एकतामा देखिएको कमजोरी भएको बताउनुभयो । उहाँले प्रदेश विकास र समृद्धिको आधार स्तम्भ नै राजनीतिक तथा सामाजिक एकता भएको दावी गर्नुभयो ।

पार्टीभित्र र बाहिर देखिने विभाजित सोचका कारण विकास प्रक्रियामा अगाडि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री कँडेलले अब प्रदेश विकासलाई गति दिन सबै पक्ष साझा उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीलाई अगाडि बढाउने तागत एउटै हो एकता । हामी अलग–अलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ ।”

एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घर–घरमा पुगेको बताउँदुभएको उहाँले वरिपरिको मान्छे नहेरी, आफ्नै हितलाई मात्र प्राथमिकता दिने व्यवहारले संगठन र प्रदेश दुवै कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । “सामूहिक भावना भन्दा व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति त्याग्नैपर्छ । अवसर खोज्ने मात्र होइन, जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

बैठकमा हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक सञ्जालको प्रयोगमा पनि जिम्मेवार बन्न नेतादेखि कार्यकर्तालाई सुझाउँदै उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, संगठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो । त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ, ।”

देशको राजनीतिक अवस्थाबारे जानकारी दिँदै मुख्यमन्त्री कँडेलले संविधानमाथि प्रश्न उठाउने अवस्था नआओस् भनेर सबै दलले संविधानको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उक्त बैठकमा केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर विष्ट, प्रदेश कर्णाली कमिटी अध्यक्ष गुलाबजग शाहलगायत जिल्ला कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्