मार्सी धानको उदगम स्थल, पर्यटकीय केन्द्र तातोपानी, गिरी दह सहित महत्वपूर्ण पर्यटन सम्भावना रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने कोरपाटीका प्रधानसम्पादक तथा सञ्चालक नेत्र शाही सँग लिनुभएको अन्तरवार्ता सम्पादित अंश :
१. स्थानीय तह गठन भएको चार वर्षको अवधिमा के के काम गर्नुभयो ?
स्थानीय तह स्थापना भएको चार बर्षमा शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई, विधुत, खानेपानी, सिचाई, भौतिक पूर्वाधारका थुप्रै कामहरु भएका छन् । शिक्षालाई गुणस्तरीय र भौतिक साधनले परिपुर्ति गर्न हाम्रो गाउँपालिकाका २८ वटा विद्यालयका भवन, कक्षाकोठा, शौचालय, घेरवार निर्माण र फर्निचर उपलब्ध गराएका छौ । कक्षा ५ सम्मको दिवा खाजालाई स्थानीय रैथाने खाना प्रयोग गरेका छौ । खस भाषाको संरक्षण गर्न, भेषभुषा संरक्षण गर्नका लागि कक्षा ५ सम्म खसभाषाको पाठ्यक्रम बनाएका छौ । शिक्षालाई एकरुपता ल्याउन बार्षिक परीक्षा गाउपालिकाले संचालन गरेको छ । प्राविधिक शिक्षालाई प्रथामिकता दिएर हिम शिखर मा.वि तातोपानीमा डिप्लोमा एग्रिकल्चर, दुर्गा मा.वि लाम्रा र कालिका मा.वि ताम्तिमा १८ महिने कृषि जेटिए शुरु गरेका छौ । प्रअ घुम्ति वैठक संचालनमा ल्याएका छौ ।
प्रत्यक स्थानीय तहमा एक एक वटा नमूना स्याउ तथा ओखर वगैचा स्थापना गरेका छौ । रैथानेवालीको संरक्षण गर्न विउवैंक स्थापना गरेका छौ । कालिमार्सीको संरक्षण गर्न उदगमस्थल लाक्षु ज्यूला यहाँ भएकाले हरेक जेठ ३० लाई रोपाई दिवश मनाउने गरिएको छ । सिचाईमा निर्माण कुला मर्मत गर्नुका साथै रिर्जव पानी ट्यांकी बनाएर सुख्खा समयमा सिचाई गर्ने गरिएको छ । लिप्ट सिचाई थोपा सिचाई, थोपा सिचाई, हिम पोखरी, वाढि पहिरोवाट बच्न नियमित रोकथाम जस्ता कामहरु सचालन गरिएका छन् । स्वास्थ्यमा गाउँपालिकाका ४ स्थानमा वर्थिङ सेन्टर, आधारभुत स्वास्थ्य केन्द्र र उपकरण व्यवस्थापन गरि संचालनमा ल्याईएको छ । ६० बर्ष माथीका ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य अभियान थालिएको छ ।
महिला स्वास्थ्य स्वंसेविकाहरुलाई खाजाको व्यवस्था गरिएको छ । स्वास्थ्य केन्द्रको व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ । विशेष गरी कोरोना भाईरस सँगको लडाईमा गाउँपालिकामा ५ वेडको कोभिड अस्पताल संचालनमा रहेको र २० वेडको तयारी रहेको छ । यसैगरी कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाबाट जाजरकोट जोड्ने सडक निर्माण र सिञ्जा गाउँपालिका सँग जोड्ने वाटो निर्माण भईरहेको छ । गाउँपालिकाका ३१ गाउँमा सडक पु्र्याएका छौ । यसैगरी जुम्लाको बृहत खानेपानी आयोजना १ प्रतिशत साझेदारी गरेर तातोपानीमा एक घर एक धाराको विकल्प ल्याएका छौ । यसैगरी यसपालिकाको गिडिखोला जलविधुत १४४ किलोवाटको काम सम्पन्न भएको छ । डाँगीवाडामा हावावाट बिजुली निकाल्ने कामको अध्ययन गरिएको छ । समग्रमा रणनितिक योजना, गुरुयोजना, बार्षिक योजना बनाई समग्र कामको योजना वैंक स्थापना गरि सूचारु गरिएको छ ।
२. अहिले सम्मको काम गराईबाट के कति सन्तुष्ट हुनुहुन्छ ?
पहिलोपटक संघीय व्यवस्थाको प्रत्यक्ष जनता सँग साक्षात्कार गरेर जनताका आवश्यकताहरु सँग घुलमिल हुन पाएकोमा खुशी नै छु । सिमित स्रोत साधनमा सिमित जनातको आवश्यकता पुर्ति गर्न जत्तिकै चुनौतिपूर्ण रहेको छ । बर्षौ देखी जनअपेक्षामा चाङ लागेर बसेका तमाम समस्यालाई एकैचोटी सामाधान गर्नु आकाशको फल आखाँतरी भर भने जस्तै भएको छ । जनताको चाहाना र हाम्रा सिमिति स्रोतको वाध्यता विचका अन्तर विरोधहरुले मन खिन्नता हुन्छ । स्रोत साधन कम भएकाले हामीलाई जनताका सवै आवश्यकता परिपुर्ति गर्न कठिन छ । भित्रि ईच्छा र आवश्यकता हुदा हुदै व्यवहारमा केही समस्या छ । आवश्यकता सँगै पौठेजोरी खेल्न पाउदा आगामी दिनमा जनताका आवश्यकता पुर्ति कसरी गर्न सकिन्छ भन्ने बिषयमा नयाँ ज्ञान हासिल भएकाले म सन्तुष्टिनै छु ।
३. यो तीन बर्षमा कति बजेट खर्च भयो ? बजेट खर्च अनुसारको उपलव्धी हासिल भयो ?
ततोपानी गाउँपालिकाको आर्थिक बर्ष २०७४।०७५ आम्दानी रु ३१ करोड ४९ लाख ९१ ह्जार ८ सय ७३ रुपैया र खर्च २७ करोड ७५ लाख ६९ हजार ७५० रहेको थियो । आ.व. २०७५।०७६ मा आम्दनी ३५ करोड ९७ लाख १२ हजार आठ सय ८४ र खर्च ३२ करोड २४ लाख ७९ हजार ४८१ रहेको छ । सोही तुलनामा ०७६।०७७ र ०७७।०७७ हुन पुग्ने देखिन्छ । सोच अनुसारको काम नयाँ सरकारको अनुभव, संचालन विधी, ऐन कानून, समयमा नवन्दा केही अलमल भयो । यो सिकाई पनि भयो । तर नयाँ परिवेशमा यति काम भएकै ठान्नुपर्छ ।
४. यो चार बर्षमा के कस्ता चुनौतीहरु भोग्नुभयो ?
.
पहिलो कुरा त यो व्यवस्था नयाँ थियो । हामी निर्वाचित भएर आउदा कार्यालय व्यवस्थापनको काम हुदै थियो । भर्खर कुर्ची टेवुल, दराज अन्य सामाग्रीको जोहो भईराखेको थियो । ऐन नियम केही बनेका थिएनन् । कर्मचारी दरवन्दी मिलान गर्न उत्तिकै सकस । यसमा पहिलो बर्ष त हामी सिक्दै गएका थियौ । प्रदेशले कानून बनाउदा हामी सहज ढंगले अघि बढ्ने थिएनौ । सामाजिक सेवालाई फरक फरक ग्रहण गर्नुपर्दछ र लागु गर्नुपर्दछ । जनप्रतिनिधीहरुले पनि आफ्नो कर्तब्य र अधिकारलाई सही ढंगले प्रयोग गर्नुपर्दछ । कही कर्तब्यलाई बिर्सेर अधिकारलाई खोज्ने त कही अधिकारलाई विर्सेर अर्काको अधिकारमाथी हस्तक्षेप गर्ने विषय राम्रो होईन ।
तिनै सरकारले आवश्यकता आधारमा योजना एकद्धार प्रणालीमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । जनतामा पनि सकारात्मक सोच भन्दा पनि सत्तालाई फरक नजरले हेर्ने दृष्टिकोण र सबैलाई एकै खाडलमा हालेर मुल्याङ्कन गर्ने प्रवृति निकै घातक छ । जनताका असिमित आवश्यकता एकै पटक समाधान गर्न सकिने चुनौति छ । कर्मचारी जनप्रतिनिधि, जनता र ३ वटै तहका सत्ता बिचमा सहि तालमेल हुन जरुरी देखिन्छ ।
५. स्थानीय तह र प्रदेश तथा संघवीच काम गराइमा के कस्तो समन्वय रह्यो ?
स्थानिय तह,प्रदेश र संघ र संगको सहकार्य हाम्रो भईराखेको नै छ । आवश्यकता अनुरुप जति हुनु पर्ने हो । त्यो हुन भने नसके पनि समन्वय सहकार्यमा हामी अगाडी बढी रहेका छौ । संघ प्रदेश सरकार सहयोग र समन्वयमा हाम्रो गाउँपालिकामा काम भईराखेका छन् ।
६. कोरोना रोकथाममा गाउँपालिकाबाट के कस्ता कामहरु भए ? दोस्रो लहरमा के तयार
गत साल कोरोना आएपछि हामीले सचेतना जगायौ । माक्स सेनिटाइजर ,साबुन वितरण गर्ने, क्वारेन्टाइन बनाउने काम भयो । आइसुलेसन, चेकजाँच । कोरोनाबाट पिडितहरुलाई राहत वितरण र नाकाहरुमा हेल्थ डेस्क राख्ने काम भयो । कोरोना अस्पताल सञ्चालन गरियो । दोस्रो लहरको तयारीको विषयमा भन्नु पर्दा पहिलो कुरा त जनतालाई सचेत पार्न संचार माध्याममा सुचना प्रवाह गरिरहेका छौ । सबै स्वास्थ्य केन्द्रहरुमा आवश्यक औषधीको व्यवस्थापन गरिरखेका छौं । गाउँपालिकामा एउटा एम्बुलेन्स खरिदको तयारीमा छौं र दूई वटा जनताका गाडीहरुलाई अस्थायी एम्बुलेन्सका रुपमा प्रयोग गरिरहेका छौ भने एउटा टयाक्टर सामान ओसार पसारको लागि तयारी अवस्थामा राखेका छौ । प्रत्येक वार्डमा एकजना कोरोना सम्बन्धी प्रतिवेदन ल्याउन कर्मचारीको व्यवस्था गरेका छौ । सबै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंय सेवकहरुलाई प्रशिक्षित गर्ने । कोभिड अस्पतालमा ५ वेड बढाएर २० वेडको बनाएका छौं । अक्सिजन सिलिण्डरको प्रक्रिया अगाडी बढाएका छौ । गतसाल प्रदेश सरकारले सहयोग गरेका ५० वेड आइसुलेसनलाई पनि व्यवस्थित गरेर काम गरेका छौ ।
७. अवको बाँकी एक बर्षभित्रमा के के कामहरु गर्ने योजना हुनेछन् ?
अबको एक वर्षभत्र जनताका आधारभुत आवश्यकता परिर्पुति गर्नेमा जोड दिइने छ । विशेष कोरोना संग लडनु परि राखेको छ । लडाईमा विजय प्राप्त गर्न सकेभरिको शक्ति लगाइने छ । बाकि रहेका र अधुरा काम पुरा गर्ने विषयमा ध्यान दिइने छ । र रणनैतिक महत्वका योजनाहरु सम्पन्न गर्न समय खर्च गर्ने छौ ।
८. तपाई निर्वाचित हुनुभन्दा अगाडिको अवस्था र समस्या के कस्तो थियो ?
म निर्वाचित हुनु भन्दा अगाडी र अहिले निकै भिन्न छ । पहिले विद्यालय नभएको ठाउँमा विद्यालय छन ,स्वास्थ्य केन्द्र नभएका ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । हिजो नपाइएको औषधि पाइने भएको छ । हिजो रिक्त रहेका कर्मचारी परिपुर्ति गरिएको छ । सुत्केरी गरकउन सदरमुकाम जानु पर्दैन,पृर्णखोपको व्यवस्था भएको छ । हिजो योजना माग्न जिल्ला सदरमुकाम र केन्द्र सरकार धाउनु पर्दथ्यो आज त्यो छैन । गाउँ गाउँमा खानेपानीको धारा छन । हरेक गाउँमा ग्रामिण सडक पुर्याएको छ । जनताका आधारभुत आवश्यकता नजिकको सरकार संग राख्दछन र पुर्ति हुने गरेका छन ।
९. तातोपानीको विकास र समृद्धिमा थप के के गर्न आवश्यक छ ?
यो गाउँपलिका सम्भावनै सम्भावना भएको गाउँपालिका हो । जुम्ला जिल्लाको सबै प्रकारका जडीबुटि पाइने पाटन क्षेत्र यस गाउँपालिका भित्र पर्दछ । जुम्ला जिल्लाको सबैभन्दा ठुलो ताल गिडिदह लगायतका २ दर्जन बढी हिमताल यसै गाउँपालिकामा छन । संसारको सबैभन्दा उच्च ठाउँमा फल्ने कालिमार्सीको उत्पादन गरेको जिउला र गुरुफोक्टो पनि लाम्रा मा यहि गाउँपालिकामा नै छ । यति चिसो ठाउँमा १२ नै महिना निरन्तर तातोपानी आउने र त्यस पानीमा नुहाउँदा बाथ, छाला । नशा सम्बन्धि रोग सञ्चो हुन हजारौ दर्शनार्थीहरु आएर पुजा गर्ने बाबिरा मष्टो, सुन्दर गाउँ, मष्टो र भुरिचुला माईको मन्दिर पनि हामी संगै छ । चैत्र १२ गते पानीको मुहान फुटने र कार्तिक धान काट्ने बेला पानी सुक्ने धुरमुल पनि यहि गाउँपालिका भित्रै छ । रुखहरुको राजा सबै भन्दा पुरानो देवदारको सुनचाँदीले बाँधिएको लाम्राको द्यारा रुख पनि तातेपानी गाउँपालिका गाउँपािलका भित्र छ । संयोग देवदारको सुन्दर बगैचा बनाएर बलिराजाले पहिलो पटक राजकाज चलाएर स्थान पनि तातेपानी गाउँपालिका नै हो हजारौं लाखौ स्याउ र ओखर को बगैचा बनाउन सकिने ठाउँहरु भएको गाउँपालिका हो । धार्मिक राजनैतिक,प्राकृतिक ,कृषि,पर्यटन क्षेत्र बनाउन सकिन्छ यस गाउँपालिकालाई यि माथिका वस्तुलाई व्यवस्थित मात्र सके यो गाउँपालिका समृद्ध बनाउन सकिन्छ ।
अन्तमा आर्थिक बर्ष २०७८।०७९ को निति कार्यक्रम पनि ल्याएका छौ । सो कार्यक्रमले पनि केही परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।