OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २८, २०७९सुर्खेत
९५८ पटक

२८ माघ २०७९, शनिबार

देश संघीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारहरुले संविधान बमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । तीनैवटा सरकारको संयोजनबाट नेपाल सरकार बनेको छ । सबै सरकारहरुले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग गरी समन्वय, सहकार्य र सहअस्तित्वलाई आत्मसाथ गर्दै अगाडि बढाएका छन् ।

संघीयता कार्यान्वयनको क्रममा सातै प्रदेश सरकारहरुले पहिलो कार्यकाल सम्पन्न गरी दोस्रो कार्यकाल सुरु भएको छ । ती सबै प्रदेशमा सरकार गठन भइसकेको छ । जसअन्तरगत रुकुमपश्चिम प्रदेशसभा (२)बाट निर्वाचित कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) नेतृत्वमा पुस २७ गते नेतृत्व गठित प्रदेश सरकारले माघ ११ गते पूर्णता प्राप्त ग¥यो । आर्थिक, सामाजिक र पूर्वाधार विकासका सुचाङ्कका हिसाबले अन्य प्रदेश भन्दा कमजोर रहेको प्रदेशको उहाँ तेस्रो मुख्यमन्त्री हुनुहुन्छ ।

प्राकृतिक स्रोत, साँस्कृतिक तथा पुरातात्विक सम्पदाका दृष्टिले कर्णाली सम्पन्न एवं प्रचुर संभावना भएको प्रदेश मानिन्छ । तथापि गरिबी, अशिक्षा, भोकमरीको समस्या भोग्दै आएको प्रदेशलाई विकास र समृद्धिको बाटोमा लैजान वर्तमान सरकारलाई थुप्रो चुनौति छन् । प्रदेश सरकारले राखेको उद्देश्य, सोच, निर्माण गरिएको योजना अर्थात् खाका, संघीयता कार्यान्वयन, जनशक्ति व्यवस्थापन, परिचालन, युवा रोजगारी, बजेट खर्च तथा राजश्व संकलनसँग सम्बन्धित छन् । ती र त्यस्तै समसामयिक विषयमा रहेर कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग लिएको अन्तरवार्ताको सम्पादित अंशः

सर्वप्रथम मुख्यमन्त्रीज्यूलाई हार्दिक बधाई तथा नवीन कार्यकाल सफलताको शुभकामना ।

धन्यवाद ।

१) तपाई नेतृत्वको कर्णाली सरकारले यही माघ ११ गते पूर्णता प्राप्त गरेको छ । यसले ऐतिहासिक महत्व रहने पहिलो काम के गर्दैछ ?

प्रदेश सरकारले पूर्णता पाएको अब दुई साता पुग्दैछ । कर्णाली आफैमा भौगोलिकरुपले सात प्रदेशमध्ये ठूलो छ । जनसंख्याको हिसाबले यहाँ बसोबास गर्ने करिब १७ लाख नागरिकहरुको अभिभावकका रुपमा सरकार छ । यसमा हाम्रो पहिलो ऐतिहासिक निर्णय भनैकै कर्णालीमा प्रतिवर्ष दश हजार युवाहरुलाई रोजगारी दिएर उनीहरुलाई स्वरोजगार बनाउने हो । आत्मनिर्भर कर्णाली निर्माणमा विशेष जोड दिने हो । कर्णालीका नागरिकहरुको अवस्था बदल्ने र उनीहरुलाई सुखको अनुभूति हुने गरी काम गर्ने हो ।

अब उनीहरुको रोजगारी पाउने आधार र क्षेत्र के–के हुन सक्छन् भनेर हामीले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरिसकेका छौं । सबै अवस्थाको लगत संकलन गरेर कार्यदलले एउटा मोडालिटी तयार गर्दछ । त्यसले दिने स्पष्ट मार्गचित्रमाथि टेकेर प्रदेश सरकारले जनमुखी कार्य सुरु गर्छ ।

२) बिगतको सरकारले बसालेको जगमाथि टेकेर काम गर्दै हुनुहुन्छ । कति सहज महसुस गर्नुभएको छ । जनतालाई प्रदेश सरकार दैलोको हो भन्ने प्रत्याभूति दिलाउन कस्तो योजना बुन्नुभएको छ ?

पक्कै पनि पहिलो कार्यकालको सरकारले ऐतिहासिक जग बसालेको छ । सुरुआतमा सबै थोकको व्यवस्थापन चुनौतिपूर्ण हुन्छ । बिगत भन्दा पक्कै पनि सहज नै छ । यद्यपि सहजता छ भनेर जटिलता सकिएको भन्ने चाहि होइन । हामी माझ तमाम् चुनौति छन् तथापि ती चुनौतिको र समस्याको समाधान खोज्नै निर्वाध अगाडि बढ्छौं । अब कर्णालीको विकास र समृद्धि यात्रामा कसरी जान सकिन्छ भनेर विकास योजना, त्यसको कार्यान्वयन प्रक्रिया, जनशक्ति अभाव, समग्र प्रदेशकै अवस्थाकाबारेमा अध्ययन पनि गर्दैछौं । जनताका बीचमा के–के आवश्यकता छन् र तिनको यथार्थ र तथ्यगत विवरण संकलन गर्न जनस्तरमा पुगेर छलफल पनि गर्छौं । छलफलले देखाउने खाँचो, समस्या र अभावका आधारमा यहाँका आवश्यकतालाई प्राथमिकीकरण गरेर अगाडि बढिन्छ ।

३) ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ बनाउने प्रदेश सरकारका आधारहरु के हुन् ? तपाई आफ्नो अगाडि कर्णालीको तस्वीर कस्तो देख्दै हुनुहुन्छ ?

मेरो नेतृत्वको सरकारका अगाडि देखिने तस्वीर भनेकै ‘कर्णाली सुनको डल्लो हो’ । त्यसलाई कुँदेर सुन्दर र जीवन्त आकार दिन कालीगडको आवश्यकता छ विभिन्न क्षेत्रमा । ती जनशक्तिलाई निर्माण तथा परिचालन गर्ने सपना देख्दैछु । यसलाई विशेष आकार प्रकार दिने कालीगड बन्न हामी आफैले सामथ्र्य राख्नुपर्छ । अपितु, यसमा कर्णालीका जनप्रतिनिधि र जनतासहित सबै सरोकारवालाहरुको राय, सुझाव, सल्लाह र खबरदारी अपरिहार्य छ ।

४) कर्णाली विकासको खास बाधक के देख्नुहुन्छ ?

कर्णाली विकासको अहिलेको खास बाधक भनेको प्रशासनिक एवं वित्तिय संघीयता नै हो । हाम्रो कार्यशैली, योजनालाई केन्द्रीत गर्ने र विषयलाई विशिष्टकृत गरेर अगाडि बढाउने कुरा एउटा समस्याका रुपमा देखा परेको छ । संघीयता पूर्णरुपमा लागु हुन नसकिरहेको अवस्था हो । विकट भूगोल र विकासमा पछि परेको यो प्रदेशलाई राज्यको मूलप्रवाहमा ल्याउन संघ सरकारले विशेषगरी कर्णाली प्रदेशलाई क्षतिपूर्ति उपलब्ध गर्नुपर्दछ । क्षतिपूर्तिसहितको सम्बोधनले मात्र यहाँको अपेक्षित विकास हुन सक्छ ।

५) संघबाट कर्णालीमा आउने कर्मचारीहरुले सजाय भोग्न यहाँ आएको महसुस गर्ने वातावरण आज पनि देखिन्छ । त्यस्तो मनोविज्ञान कसरी हटाउन सकिन्छ ?

मलाई कर्मचारीहरु सजाय भोग्न आएको जस्तो लाग्दैन । काम गर्न आएका छन् । काम गरिरहेका छन् । कर्मचारीको अपुगता छ । हाम्रो प्रशासनिक संघीयता राम्रोसँग लागु हुन सकेको छैन । त्यसलाई राम्रोसँग लागु गराउनुपर्दछ । बरु कर्णालीको समग्र विकासका लागि हरेकको कार्यशैलीमा सुधार आउन आवश्यक छ । यहाँको सर्वाङ्गीण क्षेत्रको विकास लागि प्राथमिकतामा आधारित बजेट, कार्यक्रम तथा योजना निर्माण हुनुपर्दछ ।

संघबाट आउने कर्मचारीहरुले राष्ट्रसेवक हौं भन्ने मूलभाव राख्दै निजामति सेवा ऐनको आचारसंहितलाई भुल्नु हुँदैन । कर्णालीमा आउने कर्मचारीले सजाय भोग्ने होइन, पेशागत जीवनलाई नयाँ र माथि बढाउन ठूलो सहयोग पाएका छन् । त्यसैले यसलाई सजाय भोग्दै गरेको भन्न मिल्दैन । बजेट र काम कारवाही पारदर्शी ढंगलले कार्यान्वयन हुनुपर्दछ । प्राथमिकताका विषय निर्धारण गरेर जाने हो । ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसको लागि भौतिक पूर्वाधार’ भन्ने मान्यताका आधारमा प्रदेश सरकार आफ्नो यात्रामा अगाडि बढ्छ ।

६) सत्ता गठबन्धन दलको सहकार्यमा न्यूनतम् साझा कार्यक्रम ल्याउने केही खाका तयार वा अवधारणा बनाउनुभएको छ कि ?

सत्ता साझेदार दलबीचको न्यूनतम साझा कार्यक्रमको खाकाका विषयमा प्रदेशसभामै छलफल चल्छ नि । यस विषयमा हामी सभामै बहस गर्छौ र छलफलबाट पारित गरेर अगाडि बढ्छौं । मूलतः सबैको एउटै चिन्ता भनेको कर्णाली प्रदेशको विकास र समृद्धि हो । यसमा हामी सबैको ऐक्यवद्धता हुन जरुरी छ ।

७) कर्णाली प्रदेशको राजश्वको स्रोत अन्य प्रदेश भन्दा निकै कम छन् ? अब यहाँ राजश्व संकलनको दायरा बढाउन सरकारले के गर्दैछ ।

दायारा बढाउने पहिलो कुरा राजश्व चुहावट रोक्ने नै हो । राजश्व बढाउने खालका गतिविधिहरु सञ्चालन गर्ने हो । हामीले उद्योग, कलकाराखाना खोल्ने कुरा हो । ती कृषि वनमा आधारित उद्योगहरु, हुन्छन् र जसका लागि साना तथा मझौला उद्योगहरु खोलेर सञ्चालन गर्ने हो । हाम्रो पानी, हाम्रो खानी र यसको सदुपयोग गरेर सरकारले राजश्व संकलनको दायारा बढाउन कार्यक्रम तर्जुमा गर्दछ ।

८) समग्रमा कर्णालीको प्रतिपक्ष गरिबी, भोक र अशिक्षा भन्ने गरिएको छ । यससँग जुध्न र कर्णाली विकासको सारथीका रुपमा प्रतिपक्षी दललाई कसरी साथमा लैजानुहुन्छ ?

हो, हामी कर्णालीको प्रमुख प्रतिपक्षी भनेकै गरिबी, भोक र अशिक्षा नै हुन् । यसको विरुद्ध हामी सबैले जुध्न ऐक्यवद्ध हुनुपर्दछ । हाम्रो साझा प्रयासविना केही हुन सक्दैन । यसका लागि प्रतिपक्षी दल त साथमै छ नि । यहाँका वस्तुगत आवश्यकतामाथि छलफल गर्छौं । बहस गर्छौं । प्रतिपक्षी दललाई विकासे पार्टी बनाएर अगाडि लैजान्छौं । चुनावको बेला राजनीति पार्टीमा प्रतिस्पर्धामा उत्रेपनि विकासको बेला हामी सबै एक भएर जान्छौं ।

९) संघीयता कसलाई चाहिएको थियो र त्यस अनुसार सम्बोधन भएको छ त ? संघीय व्यवस्थाको कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिता कस्तो देख्नुभएको छ । यसलाई सुदृढ बनाएर लैजान के गर्नुपर्ला ?

संघीयता जनतालाई चाहिएको हो । उत्पीडित, उपेक्षित, सीमान्तकृत, अल्पसंख्यक वर्ग, जाति, भाषा, धर्म र क्षेत्रलाई आवश्यक थियो । यो देशलाई चाहिएको थियो । क्रमिकरुपमा लागु हुने प्रक्रिया चलिरहेको छ । यसलाई सुदृढ गर्न सबै तहका सरकारहरुले थप मेहनत गर्नुपर्ला । संविधानले जे बोलिराछ । त्यसको मर्म लागु गर्न संविधानमै रहेर ऐन, कानून बनाउने, संघ सरकारले बनाउने कुरा संघले गर्ने, प्रदेश सरकारले आफ्नो आवश्यकता परिपूर्तिका लागि संघीय सरकारसँग माग गर्ने नै हो ।

१०) अन्त्यमा, कर्णाली विकास र समृद्धिको अभिभारा पुरा गर्न कसले के गर्नुपर्दछ र यसमा हजुरले के सन्देश दिन चाहानुहुन्छ ?

यो अभिभारा पुरा गर्न नीति निर्माणमा अपनत्व सबैको हुनुप¥यो । दोस्रो कुरा सबैको अपनत्व हुने नीति निर्माणको अक्षरशः कार्यान्वयन हुनुपर्दछ । समग्रमा जो जुन क्षेत्रमा छौं, त्यहीबाट सहयोग गर्ने हो । यसमा पत्रकारहरुले पनि त्यही ढंगले सहभागी हुन जरुरी छ र आफ्नो भूमिकालाई फराकिलो एवं सकरात्मक बनाउनुपर्दछ ।

प्रतिकृया दिनुहोस्