OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
धनबहादुर बुढा जेठ ९, २०७७जुम्ला
५८९ पटक

कर्णाली प्रदेशको मुगु जिल्लाको खत्याड गाउँपालिकामा तीन हप्ता अघि भारतबाट आइपुगेका एक जनामा आरडीटी गर्दा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । त्यो साबिकको कर्णालीमा पहिलो थियो । मुगुमा आरडीटी गर्दा कोराना पोजेटिभ देखिएपछि जुम्ला, कालिकोट र हुम्ला जिल्लामा सन्त्रास छायो ।

‘अब कर्णालीमा पनि कोराना भित्रियो । कर्णालीलाई उच्च जोखिमको सुचिमा कर्णाली प्रदेश सरकारले राख्यो । ठाँउठाउँमा हेल्थ डेस्क स्थापना भए । आइसोलेसन बेड निर्माण देखि आइसियु बेड बढाउने कार्यले तिब्रता पायो । गाउँगाउँमा क्वारेन्टिन बने । जिल्ला बाहिरबाट आउने हरेकलाई क्वारेन्टिनमा राख्न थालियो ।

तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. सुनिल बुढाथोकी नेतृत्वको सात जनाको टोली एक हप्ता खत्याड बस्ने गरि खटियो । आरडीटी पोेजेटिभ देखिएकाको स्वाब संकलन गरेर पठायो । पिसिआर परिक्षण गर्दा आरडीटीमा पोजेटिभ देखिएको ब्यक्तिको रिर्पोट नेगेटिभ निस्कियो । त्यो संगै कर्णालीमा फैलिएको सन्त्रास थोरै कम हुन पुग्यो । चिकित्सकको टोली एक हप्ता खत्याडमा बसेर प्रत्येक वडामा पुगेर सबैको स्क्रिनिङ गरेर फर्कियो । टोलीको निष्कर्ष थियो, ‘अब मुगुको खत्याड गाउँपालिका सुरक्षित छ । बाहिरबाट आउनेको उच्च निगरानी राख्न आवश्यक छ । ’

पछिल्लो समयमा कर्णालीमा भारत तथा कालापहाडबाट आएकाहरुको स्वाब संकलनको लागि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ शुरु गर्यो । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले साबिकका कर्णालीका पाँच जिल्लाको पिसिआर परिक्षण गर्ने जिम्मेवारी पायो । जस अनुसार टोली हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा खटियो । चिकित्सकको टोलीलाई हेलिप्टकर मार्फत पुर्याइयो । त्यो टोलीले आरडीटी गर्दा हुम्लाको नाम्खामा दुई जनामा कोराना पोजेटिभ देखियो । मुगुको खत्याडमा एक जनामा कोराना पोजेटिभ देखियो ।

तीन जनाको आरडीटीमा कोराना पोजेटिभ देखिएपछि कर्णाली फेरि झस्कियो । उनीहरुको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । यहाँ पिसिआर मेसिनबाट परिक्षण गर्दा आरडिटीले पोजेटिभ देखिएका सबैको रिर्पोट नेगेटिभ आयो । यो संगै साबिकको कर्णालीमा फेरि खुसियाली छायो । हाल कर्णालीको हुम्ला, मुगु,जुम्ला, कालिकोट र डोेल्पामा कोराना संक्रमित भेटिएका छैनन् । कर्णाली प्रदेश सरकार र स्थानीयतहले जबरजस्ती मान्छे भित्र्याएपछि गाउँमा निकै त्रास फैलिएको थियो ।

यी पाँच जिल्लामा कर्णालीको जुम्ला देखि चिकित्सकको टोली खटिएको छ । हेलिकप्टरबाट कर्णालीका पाँच जिल्लाको स्वाब संकलन गरिएको थियो । आरडीटीले पोजेटिभ देखिएकोमा पिसिआरले नेगेटिभ देखाउँदा कर्णालीबासी खुसि देखिए । तर आरडीटी र पिसिआर परिक्षणका तौरतरिका बारे शसंकित बन्न पुगेका छन् । उनीहरु भन्छन्,‘पटक पटक आरडीटिले कर्णालीलाइ रुवाउँदै आयो तर पिसिआरमा परिक्षण गर्दा सन्तोष मिल्यो । ’ स्थानीय जीवनबहादुर खड्का पिसिआर मेसिनबाट स्वाब परिक्षण गर्नु नै राम्रो हुने बताउँछन् । उनले भने,‘आरडीटीले झुक्याउँछ, तर पिसिआरले सन्तुष्टि मिल्छ । ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्ले हुम्लाको नाम्खामा दुई दुई पटक आरडिटी परिक्षण गर्दा पनि रिर्पोट पोजेटिभ निस्किएको बताउँछन् । तर तिनै ब्यक्तिको स्वाब जुम्लामा ल्याएर पिसिआर गर्दा नेगेटिभ देखियो । कर्णालीको माथिल्लो क्षेत्र सुरक्षित देखिएको अहिले सम्मको परिक्षण रिर्पोटले बताउँछ । पहिले कोराना संक्रमण भइसकेको र पछि कोराना भाइरस नष्ट भइसकेको अवस्थामा आरडिटीले पोजेटिभ देखाउन गरेको चिकित्सकहरु बताउँछन् ।यो अवस्था भनेको कोराना भएको तर आरडिटी परिक्षण गर्दा सम्म नष्ट भइसकेको अवस्था हो ।

अब भारत देखि आउनेलाई उच्च निगरानी राखेर सबैको पिसिआर परिक्षण गर्न सकेको खण्डमा कर्णालीमा कोराना संक्रमण फैलन नसक्ने रजिष्टार काफ्ले बताउँछन् । हुम्लाका ६ सय, मुगुका ५ सय र कालिकोट जिल्लाका ६ सय ५३ जनाको कोराना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । अहिले सम्मको परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ, रजिष्टार काफ्ले भन्छन्,‘अब झन सतर्कता अपनाउने समय आएको छ । ’

प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिबेक पुन मगरले पछिल्लो समय परीक्षण गरिएका हुम्ला, कालिकोट र मुगु र प्रतिष्ठानका स्वास्थ्यकर्मी गरी पाँच सय ६९ जनाको रिर्पोट सवैको नेगेटिभ आएको छ । हेलिकोप्टरबाट संकलन गरिएका उक्त स्वाबहरु परीक्षण तीब्र बनाईएको छ । मध्यरात सम्म परीक्षण गरिएका कालिकोटका ३८८ जना, हुम्लाको १३३ जना, मुगुको ३९ जना र प्रतिष्ठानका स्वास्थ्यकर्मी ९ जनाको रिपोट नेगेटिभ आएको हो ।

यसभन्दा पहिला आरडिटि पोजेटिभ भनिएको हुम्लाको नाम्खाका २ जना सहित ३३ जना सवैको र मुगु खत्याडका १ सहित ३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गर्ने दैनिक सूचनामा उल्लेख छ । यसैगरी हाल सम्म प्रतिष्ठानले जाँच गरेको प्रतिष्ठानमा एक हजार आठ सय ८८ जनाको परीक्षण नेगेटिभ आएको छ । हेलिकोप्टर मार्फत संकलन गरिएका हुम्ला, कालिकोट र मुगुको वाँकी स्वाब परीक्षण भईरहेको छ ।

कर्णालीको जुम्लामै पिसिआर मेसिन ल्याएर कोराना परिक्षण हुन थालेपछि निकै सहज हुने गरेको छ । एक दिनमा एक हजार जना सम्मको स्वाब परिक्षण गर्न सकिने चिकित्सक बताउँछन् । पुलिङ सिस्टमबाट स्वाब परिक्षण गर्दा छिटो छरितो हुने गरेको कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन् । उनका अनुुसार रात निन्द्रा र दिनमा भोक नभनेर प्रतिष्ठानको टोली खटिएका छन् । कर्णालीबासीको स्वास्थ्य प्रति प्रतिष्ठान चिन्तित छ, उनले भने,‘यहाँ काम गर्ने चिकित्सकहरु पनि झन उत्साहपुर्वक काम गरिरहेका छन् । सबै मिलेर कर्णालीलाई कोराना संक्रमण हुनबाट रोक्नुपर्छ ।’

भौगोलिक विकट्ताका बावजुद पनि कर्णालीमा पिसिआर गर्ने स्वाब संकलन कार्य तिब्र भइरहेकोछ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै जुम्ला पुगेर कोराना नामक युद्धमा बिजयी बन्न स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए । जुम्लामा एकैदिन आठवटा स्थानीय तहबाट ८ सय ४७ जनाको स्वाब संकलन गरेर एकैदिनमा परिक्षण गर्न जुम्ला प्रतिष्ठानको टोली सक्षम भएको थियो । नागरिक

प्रतिकृया दिनुहोस्