OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहचैत्र १६, २०८०सुर्खेत
५७९ पटक

१६ चैत २०८०, शुक्रबार

गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई आज यो ठाउँमा पुगिन्छ भन्ने पत्तो नै थिएन । माटोका भाँडा बनाएर गाउँ गाउँमा बेच्दै हिड्ने कमलको बुबा पुस्तासम्म समाजबाट हेपिदै आएको थियो । कथित उपल्लो जातबाट बुबा पुस्ता पनि माथि उठ्न नसकेको कमल बताउनुहुन्छ ।

आज भने कमलको परिवार त्यो अवस्थाबाट धेरै माथि आईपुगेको छ । यो अवस्थामा आईपुग्नुको जस भने उहाँ तत्कालीन सशस्त्र विद्रोहलाई दिनुहुन्छ । नेकपा माओवादीको सशस्त्र विद्रोह चलिरहेको बेला विसं.२०५८ सालमा पूर्णकालीन सदस्य भएर पार्टीमा लाग्नुभयो नेपाली । आफ्नै छिमेकी गाउँ जुम्लाकोटमा राज्य पक्षले दिदी लालकुरा नेपाली (शान्ति) लाई गोली हानेर मारेपछि उहाँ माओवादी बन्नुभएको थियो ।

विसं.२०५९ देखि जनमुक्ति सेनामा जोडिएका नेपाली जुम्ला, अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम, गणेशपुर, रुकुमको खारालगायतका ४३ ठाउँमा लड्नुभएको थियो । अर्घाखाँची र खाराको लडाइमा घाईते हुनुभएका उहाँलाई टाउको र हातमा गोली लागेको थियो । मुलुकमा शान्ति स्थापना भईसकेपछि नेपाली विसं.०६३–०६९ सम्म ६ नं. डिभिजन सुर्खेतको दशरथपुरमा सेनामा रहेर काम गर्नुभयो ।

दशरपुरमा सेनाबाट रु.पाँच लाखसहित स्वैच्छिक अवकाश लिएर बाहिर आएपछि सुरुमा उहाँले पोल्ट्री फर्म खोल्नुभयो । पछि युवराज प्रकृति अर्गानिक खाद्य तथा फलफुल कोशेली अर्डर एण्ड सप्लायर्ससहित खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योग खोलेको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत हाम्रो टोलमा रहेको अर्गानिक खाद्य तथा फलफुल सप्लायर्सबाट उहाँले कर्णालीको अर्गानिक कृषि उपज बिक्री वितरण गरिरहनुभएको छ ।

रासससँग कुरा गर्दै नेपालीले भन्नुभयो, “हामीले जिम्मु, टिमुर, सिमी, जौं तथा मकैको च्याङ्ख्ला, तिल, मसुरोका दाल, चिनो, कागुनोको चामल, काली मार्सी चामल, कर्णालीको सर्वोतम पिठो, भुटेको मकैको खाजा, कालो तथा खैरो भट्ट, फापर, कोदो, मकै, मिठे फापरको पिठो, ओखरलगायतको कर्णालीको उत्पादन बिक्री वितरण गर्दै आएका छौं । बजारको माग बढ्दै जाँदा पुर्याउन मुस्किल भएको छ ।”

उहाँले प्रतिकेजीका हिसाबले सिमी दाना रु.दुई सय पचास र दाल रु.तीन सय, टिमुर रु.एक हजार चार सय, ओखर रु.एक हजार, जिम्मु रु.चार हजार, घोडो मच्चो रु.छ सय, स्याउको चाना रु.एक हजार दुई सय, मार्सी चामल प्याकेजिङ रु.दुई सय ४०, कालो भट्ट रु.एक सय ५०, फापर तिते रु.एक सय ५० र मिठे रु.तीन सय, चिनो, कागुनोको रु.तीन सय, मसुरोका दाल रु.दुई सय, मार्से (लट्टे) रु. एक सय २० खैरो भट्ट एक सय ४० मा बेच्ने गरेको बताउनुभयो ।

कर्णालीका १० जिल्लामा उत्पादित रैथानेबालीहरुको संकलन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ र बिक्रीवितरण गर्दै आएको बताउनुभएका उहाँले अर्गानिक कृषि उपजहरुको उत्पादनमा वृद्धि ल्याउनुपर्ने सुझाउनुभयो । प्रदेश सरकारबाट रु.छ लाख अनुदान सहयोग जनाउँदै उहाँले सरकारले कर्णालीमा उत्पादित रैथानेबालीको संरक्षण, प्रवद्र्धन र वृद्धिमा जोड पुग्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

उहाँको अनुभूति अनुसार सस्तो र महंगो वस्तु किनेर उपभोग गर्ने दुई प्रकारको उपभोक्ता छ । महत्व बुझेको उपभोक्ताले अर्गानिक कृषि वस्तु किनेर खान्छ तर महत्व नबुझेको नबुझेको उपभोक्ताले आयतित वस्तुलाई नै बढी पहिलो प्राथमिकता दिने गर्दछ । खाद्य तथा फलफुल किन्दा उपभोक्ता सचेतना निकै ठूलो कुरा रहेछ । अब ‘टल्किने चीज होइन मौलिक, विदेशी होइन स्वदेशी उपज उपभोगमा जोड दिउँ’ भन्ने बुझाउन जरुरी छ ।

करिब एक दशकदेखि व्यवसाय गर्दै आउनुभएका नेपालीले मासिक रु.७० हजार आम्दानी गर्दै आउनुभएको छ । कर्म गरे स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ विश्वासमा अडिग उहाँलाई छोराछोरी पढाउन र परिवार पाल्न उहाँलाई विदेश जानुपरेको छैन । अर्गानिक कृषि वस्तुको उत्पादनमा जोड दिँदै प्रदेश तथा स्थानीय सरकारले नागरिकहरुको खानपिन आदतलाई मौलिक परिवेशमा ढाल्ने कार्यक्रम तर्जुमा गर्न सके यहाँका नागरिकहरुको स्वस्थ निर्माणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

परिवर्तन र कर्मका निम्ति जस्तो सुकै जोखिम उठाउन तत्पर हुनेहरुले जीवनलाई आत्मनिर्भर बनाउन सक्दारहेछन् भन्ने अनुभूति बल्ल भईरहेको बताउँदै नेपालीले भन्नुभयो, “मलाई राजनीतिक चाप र धक्काले व्यवसाय गर्न उत्प्रेरित गरायो । मनैभित्रबाट उब्जेको विद्रोहले बाँच्नका निम्ति संघर्ष, अन्याय विरुद्ध लड्न र परिवर्तनका निम्ति जोखिम मोल्न सिकायो । राप, ताप, चापले खारिन र दबाब, अभावभित्रैको लगावले माथि उठायो ।”

 

 

प्रतिकृया दिनुहोस्