

१३ पुस २०७८, मंगलबार
धनकुटाका रामकुमार कटुवाल रोजगारीको खोजीमा भौतारिरहेका थिए। पैसा कमाउन उनले विदेश जाने आसय छिमेकी दाइलाई सुनाए। काम गर्नका लागि नेपालबाट प्रक्रिया पुर्याएर विदेश जानका लागि लामो समय लाग्ने र भिजिट भिसामा गएर विदेशमा काम गर्न पाइने बताएपछि उनी जान तयार भए।
रोजगारीका लागि भिजिट भिसामा दुबई गएका कटुवाललाई खाने बस्ने सुविधासहित राम्रो कमाइ हुने बताइएको थियो। उनलाई होटलमा काम लगाइदिने खानेबस्ने सुविधासहित १५ सय कमाई हुने भनिएकाे थियाे। केही दिनमा उनको हातमा भिजिट भिसाको टिकट आयो। उनी कुवेत पुगे तर, रोजगारी पाएनन्। नेपालबाट होटलमा काम गर्ने सोच बनाएर विदेश पुगेका कटुवाल वेरोजगार बने। ६ महिना बस्दा पनि रोजगारी नपाएपछि नेपालबाट पैसा मगाएर फर्किए।
कटुवालले पोखरा घर भएका एक जनालाई विदेश जानका लागि २ लाख रुपैयाँ बुझाएका थिए। उनले भने,‘एक हजार डलर बोकेर नेपाली एयरपोर्टबाट हिँडेको म फेरि नेपालबाट पैसा मगाएर फर्किए।’ विदेश जानका लागि सहज बाटो खोज्दा उल्टै ठगीमा परेको कटुवालले बताए।
रोजगारीका लागि भन्दै गैरकानुनी बाटो अपनाउनेहरू समस्यामा पर्ने गरेका छन्। एकातिर काम पाउनै समस्या छ। अर्कातिर काम पाए पनि खानेबस्ने खर्च पुर्याउनै धौधौ हुने उनीहरू बताउँछन्।
त्यस्तै तनहुँका ध्रुव बानियाँ पनि दुई लाख रुपैयाँ तिरेर युएई पुगेर ठगिएका छन्। कामकाे खाेजीमा युएई पुगेका उनी काम नपाएपछि ऋण खोजेर नेपाल फर्किएका छन्। दलालले भिजिट भिसामा गए राम्रो काम पाइने आश्वासन दिएकाले सबै कुरा पत्याएर युएई गएकाे उनले सुनाए।
यसरी पछिल्लो समय रोजगारीको खोजीमा रहेका बेरोजगार युवाहरू भिजिट भिसाको नाममा ठगिने गरेका छन्। वैदेशिक रोजगारीको लागि विदेशिने युवालाई भिजिट भिसा छिटोछरितो हुने प्रलोभनमा पारी रकम असुली गर्ने गरेको पाइएको छ।
सरकारी प्रक्रिया पुर्याएर विदेश जानका लागि लामो समय लाग्ने र आम्दानी कम हुने भएकाले चोर बाटोबाट विदेशिनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताए।
वैदेशिक रोजगारका विचौलिया, म्यानपावर कम्पनी र एजेन्टहरूले गैरकानुनी रुपमा प्रलोभनमा पारी ठगी गर्ने गरेको तामाङको भनाइ छ। आप्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले भिजिट भिसामा लैजाने व्यक्ति तथा संस्थासँग पहुँच नहुँने, सानो कम्पनी ठेक्का र कामदारको अधिकारप्रति प्रतिबन्ध भएकाले भिजिट भिसामा जानेले दुख पाउने गरेको बताए।
के हो भिजिट भिसा ?
विदेशमा रहेका कुनै आफन्त या यात्रामा जानु परेको खण्डमा प्रयोग गरिने भिसा भिजिट भिसा हो। देशअनुसार भिजिट भिसा फरक-फरक अवधिका लागि दिइने गरे पनि युएईले भने तीन महिनाका लागि दिन्छ। भिजिट भिसाका लागि सबभन्दा महत्वपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग एक हजार अमेरिकी डलर अनिवार्य मानिन्छ। कानुनअनुसार भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानीमूलक काम गर्न पाउँदैनन्।
तर, युएई सरकारले कहिलेकाही भिजिट भिसालाई वर्किङ भिसाको रूपमा परिणत गर्ने सुविधा दिने गरेकाले दलालले सोही प्रावधानबाट फाइदा उठाइरहेका छन्। सेटिङ मिलाएर भिजिट भिसालाई वर्किङ भिसामा परिणत गर्न सफल भएको खण्डमा समस्या नआउने तर त्यसो हुन नसके समस्या बढ्ने देखिन्छ।
पछिल्लो समयमा भिजिट भिसाबाट ठूलो संख्याका नेपाली विदेश गइरहेका छन्। तर, भिजिट भिसामा कति विदेशिए भन्ने एकिन तथ्याङ्कका नभएको अध्यागमन विभागले जनाएको छ।
कुन प्रयोजनका लागि गएको र कहिले फर्कियो भन्ने विवरण नहुने हुदा समस्या भएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए। आजभाेलि भिजिट भिसामा गएर रोजगारी गर्ने गरेको सुनिने उनले बताए।
भिजिट भिसामा बसेकाको उद्धारमा समस्या
काेराेना महामारीमा विभिन्न देशमा श्रम गरिरहेका नेपाली श्रमिकलाई सरकारले उद्धार गर्याे। सरकारी मापदण्ड (श्रम स्वीकृति, स्वास्थ्य परिक्षण) गरेर रोजगारीको खोजीमा गएका नेपालीलाई सरकारले उद्धार गरेकाे हाे। भिजिट भिसामा जानेले भने उद्धारमा समस्या भोग्नु परेको वैदेशिक रोजगार वार्डले जनाएको छ।
श्रम स्वीकृति लिएर विदेशिएका को मृत्यु, अंगभंग वा समस्यामा परेमा सरकारले उद्धार गर्छ तर विभिन्न भिसामा विदेशमा रहेकाको उद्धारमा समस्या हुने वैदेशिक रोजगार वार्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। महामारीको समयमा सरकारले एक सय ७८ कामदारकाे उद्धार गरेको उनले बताए। थाहाखबरबाट