OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०८२
१५६ पटक

९ मंसिर २०८२, मंगलबार

सल्यानः कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षाको संरचना सुदृढ गर्नेतर्फ प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

आज सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलस्थित १५ शैय्या क्षमताको नवनिर्मित नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री भण्डारीले स्वास्थ्य र शिक्षाका कारण बसाईसराईको दर बढिरहेको हुँदा ग्रामीण क्षेत्रका स्वास्थ्य र शिक्षाका संरचना सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । सोही अनुरुप स्थानीय तहहरुमा मेडिकल अधिकृत खटाइएको उहाँले जनाउनुभयो ।

मन्त्री भण्डारीका अनुसार दार्मा गाउँपालिका बाहेक सल्यान र रुकुमपश्चिमका सबै स्थानीय तहमा मेडिकल अधिकृत खटाइएको छ । आवधिक निर्वाचनहरुका माध्यमबाट जनताले जनप्रतिनिधिको परीक्षा लिने गरेको उल्लेख गर्दै उहाँले जनताप्रति उत्तरदायी हुन र सोही अनुरुप सार्वजनिक सेवा प्रवाह गर्दा गुणस्तरीय एवं पहुँचयोग्य बनाउँदै सुदृढीकरण तर्फ ध्यान दिन अपिल गर्नुभयो ।

अस्पतालको स्तरोन्नतिका निम्ति प्रदेश सरकार तयार रहेको बताउनुभएका मन्त्री भण्डारीले भन्नुभयो, “प्रथमतः यसका लागि स्थानीय सरकारको पहल आवश्यक छ । कम लगानी भएका निजी स्वास्थ्य संस्थामा सेवा राम्रो हुने तर सरकारी सेवा प्रति नागरिकको असन्तुष्टि छ । तत् तत् निकायका व्यवहार सुधार गर्नुका साथै सबैलाई आफ्नो तहबाट सहकार्य एवं समन्वय गर्न आग्रह गर्दछु ।”

कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग प्राप्तिसँगै मन्त्रालयले अस्पतालका लागि मेडिकल अधिकृतसहितको जनशक्ति व्यवस्थापन गरेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । सामान्य उपचार नपाइरहेको यो भूमिमा नागरिकहरुले आधारभूत स्वास्थ्य सेवा पाउन राम्रो कुरा भएको जनाउँदै उहाँले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो तहबाट पहल गर्ने बताउनुभयो ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले अस्पताल सञ्चालन गर्ने नगरवासीको सपना पुरा भएको बताउँदै स्वास्थ्य उपचारका लागि वर्षौदेखि सास्ती खेपिरहेका नागरिकले राहत प्राप्त गर्ने जनाउनुभयो । अस्पतालको विकासका लागि नगरपालिका निरन्तर लागिपरेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्