OnlinePana

आज : २०८२ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २६, २०८२
२३ पटक

२६ असार २०८२, बिहीबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच किलाग्राम पाँच सय ४० ग्रामसहित एक कारोवारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका १० जाजरकोट सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलीले बुधबार उनलाई भेरीगंगा नगरपालिका १० सुर्खेत छिन्चु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

उहाँका अनुसार प्रहरीले उनीबाट कालो झोलामा लुकाई छिपाई ल्याएको लागु औषध अफिम जस्तो देखिने गिलो अवस्थाको पाँच किलोग्राम पाँच सय ४० ग्राम, एक थान नागरिकता प्रमाणपत्र, अफिम तौल गर्ने एक थान डिजिटल तराजु, विभिन्न बैंकका पाँच थान चेक र नगद रु. चार हजार सात सय ३० बरामद गरिएको छ ।

पहाडी जिल्ला जाजरकोटलगायतका स्थानबाट लागु औषध (अफिम) उत्पादन, संकलन गरी आर्थिक लाभ लिने उद्देश्यले सीमा क्षेत्रसम्म कारोबार गर्न झोलामा लुकाई छिपाई ओसारपसार गरी रहेको अवस्थामा बरामद भएको अफिमको प्रारम्भिक मूल्य प्रति केजी रु.एक लाख ६० हजार र पाँच केजी पाँच सय ४० ग्रामको अन्दाजी मूल्य रु.आठ लाख ८६ हजार चार सय हुन आउने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिई सार्वजनिक गरिएका आरोपित बस्नेतको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

त्यस्तै, सुर्खेत प्रहरीले बुधबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत हटियालाईनमा जुवाको खालबाट पक्राउ गरेका होटल सञ्चालक ४१ वर्षीय तीर्थराज रेग्मी, गुराँस गाउँपालिका ६ दैलेखका ३६ वर्षीय विनोद रोकाय, रास्कोट नगरपालिका ५ कालीकोटका ४० वर्षीय कटन शाही, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका ३२ वर्षीय जगदीश रोकाय र वडा नं.१२ सुर्खेतका ५८ वर्षीय तिलक चपाईलाई पनि आज सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पक्रा परेका जुवाडहरुबाट विभिन्न ब्राण्डका छ थान मोबाईल, ५२ पत्तिको आठ गड्डी ताससहित नगद रु.३४ हजार छ सय ४५ बरामद गरिएको छ । उनीहरुको पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्