OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०८२
३४३ पटक

९ मंसिर २०८२, मंगलबार

सुर्खेतः कर्णाली प्रदेशका उद्यमीहरुले उद्योगको विकास र उत्पादनविना आत्मनिर्भर अर्थतन्त्र संभव नभएको बताएका छन् ।

‘औद्योगिक वातावरण सुधार, दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश समिति सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा सम्पन्न ११औं उद्योग दिवस २०८२ को क्रममा बोल्ने उद्यमीहरुले आयतित वस्तुको व्यापार आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका हुन् ।

महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर बिसीले मुलुकको आर्थिक समृद्धिका लागि उद्योगको विकास र प्रवद्र्धन जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा राजनीति प्रभावका कारण उद्योग क्षेत्र धरासयी अवस्थामा पुगेको उहाँको टिप्पणी थियो । कर्णाली पर्यटन, जल, जंगल, कृषि, जडीबुटी, खनिजजन्य हिसाबले सम्पन्न हुँदाहुँदै राज्यले उद्योग क्षेत्रलाई प्राथमिकता दिन नसक्दा परनिर्भरमुखी अर्थतन्त्रले ठाउँ लिएको उपाध्यक्ष बिसीले टिप्पणी गर्नुभयो ।

महासंघका केन्द्रीय सदस्य अजय गिरीले राजनीतिले उद्योग क्षेत्रलाई ध्वस्त र उद्योगीहरुलाई विभाजन गराएको टिप्पणी गर्दै निर्यातमुखी उत्पादनबाट मात्र आर्थिक समृद्धि हुने धारणा राख्नुभयो । उद्योग परिसंघ कर्णाली प्रदेश अध्यक्ष छत्रबहादुर शाहीले श्रम पसिना चुहाएर उद्योग सञ्चालन गरिरहेका उद्यमीहरुलाई सहि पहिचान नगरी दलाल प्रवृतिका पात्रहरुलाई काखमा च्याप्ने राज्यका निकायहरुका कारण उद्योगीहरु निरुत्साहित हुँदै गएको दोषारोपण गर्नुभयो ।

नेपाल उद्योग व्यापार महासंघ कर्णाली प्रदेश अध्यक्ष सूर्यबिक्रम थापाले आफ्नो उत्पादनविना आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन नसक्ने बताउनुभयो । यसका लागि उद्योग विकासको वातावरण राज्यले निर्माण गर्नुपर्ने भन्दै करेसाबारी तरकारी लगाउन नसक्नेहरु बडेमानका कुरा गरेर समयलाई अनुत्पादक बनाईरहेको टिप्पणी गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष गोमाकुमारी खड्का (ओली)ले स्थानीय साधन, स्रोत, सीप र उत्पादनलाई ओझेलमा पर्ने गरी हुँदै आएका गलत अभ्यास र व्यवहारले उद्योग क्षेत्र फस्टाउन नसकेको बताउनुभयो । उहाँले पूँजी र प्रविधि पाउनुपर्नेले नपाएर दुरुपयोग हुँदै गएको बताउँदै अध्यक्ष ओलीले वास्तविक उद्योगीहरुलाई पहिचान गरी तीनै तहका सरकारले लगानी गर्न उत्प्रेरित हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

दिवस कार्यक्रममा महिला उद्यमी महासंघका प्रदेश अध्यक्ष अमृता गौतम (महतारा), लघु औद्योगिक ग्राम सुर्खेतका निवर्तमान अध्यक्ष उदिराम डाँगी, नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष शक्तिबहादुर थापा, महासंघ वीरेन्द्रनगर कमिटि अध्यक्ष लालबहादुर नेपालीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्