

विषय प्रवेश :
नेपालको इतिहासमा विशाल साम्राज्यको रुपमा रहेको खस साम्राज्य हालको आधुनिक नेपाल भन्दा वृहत रहेको थियो । पाँचौ शताब्दीतिर स्थानीय आदिवासी मगरहरुलाई दक्षिणबाट लिच्छवि र उत्तरबाट खसको एक जत्थाले एकैसाथ आक्रमण गरेपछि मगर राज्यहरु तहसनहस भई नेपालमा दक्षिणबाट प्रवेश गरेका लिच्छविले काठमाडौं उपत्यका र उत्तरबाट प्रवेश गरेका खस आर्यले जुम्ला उपत्यकाबाट शासन सञ्चालन गर्न थाले । सूर्यवंशी राजा दशरथको आठौंं पुस्तामा लिच्छवि भन्ने व्यक्ति भएको र उनैको नामबाट लिच्छवि वंश स्थापना भएको मानिन्छ भने खसहरु बेविलोनियामा इ.पू. १७००–११५५ सम्म करिब साढे पाँच शताब्दीसम्म राज्य सञ्चालन गरी अफगानिस्तान, कुमाउ, गढवाल तथा तिब्बतको खारी हुँदै जुम्ला प्रवेश गरेको पाइन्छ ।
गिंअरसमका अनुसार खसहरुका पुर्खा मध्य एशियाबाट पश्चिम–उत्तर भारत, हिमालयका पादभाग हुँदै नेपालमा बसोवास गरेका थिए । उनका विचारमा खसहरुको नेपालभित्र प्रवेश मार्कण्डेय पुराणकाल (तेस्रो–पाँचौ श.ई.) मा भएको हो । उनको अनुसार खसहरु क्षेत्री थिए र तिनको भाषालाई खस भाषा जसलाई पछि नेपाली भाषा भनिएको हो । दिनेशचन्द्र सरकारले खसहरुलाई हिमालका निवासी र आधुनिक कस्मिरी र खक्का जातिका पूर्वज भनि लेखेका छन् । इगर मोंटका अनुसार खसहरु नेपालका अशोककालिन एउटा जाति थिए । अशोक खस राज्यमा पुग्दा उनको भव्य स्वागत गरिएको थियो । नेपालमा लिच्छविको प्रमाणित इतिहास राजा मानदेवको समयमा विसं. ५२१–५६२ बाट पाइन्छ भने खसको प्रमाणित इतिहास कर्णालीमा छैटौ शताब्दीमा पाइएतापनि उल्लेखित प्रमाणका आधारमा खसलाई नेपालमा लिच्छवि भन्दा पनि जेठो रहेको मान्न सकिन्छ । यूनेस्कोले अहिले पनि सिंजा उपत्यकालाई विश्व सम्पदा सूचीमा राखेको छैन ।
खस साम्राज्यको इतिहास :
खसहरुको पहिलो राजा आदि पाल हुन । उनले दुल्लु र जुम्ला बाट शासन सञ्चालन गर्दथे । विसं १२०६÷१२०७ मा तिब्बतको खारीबाट प्रवेश गरेका राजा नागराजले पालहरुलाई पराजित गरे पछि नागराज वंशको उदय भयो । नागराज वंशका अन्तिम राजा प्रताप मल्ल हुन । उनका छोरा नहँुदा छोरीको विवाह गेलाका पाल वंशका पुण्य मल्लसँग गरी दिएर राज्य समर्पण गरी भिक्षुचर्यामा हिडेका थिए । खस मल्ल राजाहरुको इतिहासमा जितारी चल्लले “चल्ल” पदलाई परिवर्तन गरी मल्ल पद धारण गरेका थिए । उनले सो पद काठमाडौ जितेपछि जितेर ल्याएको पद भनेर अंगालेको मानिन्छ । जितारी मल्लले काठमाडौंमा विसं. १३४४, १३४५, १३४६ मा गरी तीन पटक आक्रमण गरी वार्षिक कर तिर्ने शर्तमा फर्केका थिए भने कर तिर्न छोडेपछि पुनः विसं. १३६९ मा रिपु मल्लले विसं. १३७७ र १३८५ मा गरी दुई पटक आदित्य मल्लले र विसं. १३९१ मा पुण्य मल्लले गरी लगातार सात पटकसम्म नेपाल उपत्यकामा आक्रमण गरी आधा शताब्दीसम्म नेपाल उपत्यका विशाल खस राज्य भित्र राख्न सफल भएका थिए । यति मात्र होइन रिपु मल्लले लुम्बिनीमा विसं. १३६९ मा मणी आफ्नो राज्यको निसानी स्वरुप लुम्बिनीको अशोक स्तम्भमा “ॐ मणी पद्म हुँ रिपु मल्ल चिर जयतु शाके १२३४” लेख्न लगाएका थिए । विसं. १२८० मा राजा क्राचल्ल देवको पालामा नै कुमाउले खसको अधिनत्व स्वीकार गरिसकेको कुरा कुमाउको कालेश्वर मन्दिरको ताम्रपत्रमा उल्लेख छ ।
विशाल खस राज्य पृथ्वी मल्लको शासनकाल (वि.स. १३९५–१४१५) मा राज्यको विघटनको शुरुवात भयो । दिल्ली सम्राटसँगको सम्बन्धको आडमा ज्ञानचन्दले वि.स. १४२२ मा कुमाउ र गडवाल लाई विशाल खश राज्यबाट अलग गराए । चाडचुन ग्याल्सेनले वि.स. १४०६ मा दक्षिण तिब्बतको खारी प्रदेशलाई विशाल खस राज्यबाट मुक्त गराए । वि.स. १४०९ देखि १४१९ मा डोटीका निरयपालले विद्रोह गरी डोटी राज्यलाई विशाल खस राज्यबाट अलग गरे ।
खस राज्यमा बर्माहरु तथा कल्याल शाहीको आगमन :
नेपालको इतिहासमा ठकुरीहरुले बर्मा, सिंह, मल्ल तथा शाही जस्ता पद्वीहरु विभिन्न कालक्रममा लिएको पाइन्छ । बर्मा पद्वी लिने पहिलो ठकुरी शासक अंशु बर्मा हुन् भने कर्णालीका शासकहरुमा यशो बर्माका छोरा मलय बर्मा तथा उनका छोराहरुले यो पद लिएका थिए । बर्माबाट बम्मा, बम्म हुँदै हिजोआज बम लेख्ने गरेको पाइन्छ । पृथ्वी मल्लका पालामा महामात्य रहेका यशो बर्माका सन्तान मलय बर्माले अभय मल्लको कमजोर अवस्थाको फाइदा लिई विशाल खस राज्यको नेतृत्व लिन पुगे । बर्मा परिवारमा खस राज्यको नेतृत्व गएपछि राज्य सञ्चालन र नेतृत्वको निम्ति बढ्दै गएको पारिवारिक कलहलाई हल गर्न मलय बर्माले आफ्ना महत्वाकांक्षी छोराहरुलाई विभिन्न क्षेत्रको प्रशासक बनाए भने उनको मृत्युपछि उनका उत्तराधिकारी जेठा छोरा सुमेरु बर्माले आफ्ना भाइहरुको राजनीतिक महत्वाकांक्षा र अन्तरविरोधलाई नियन्त्रण गर्न नसकेपछि उनका १२ भाईहरुले जुम्ला, दुल्लु, रुकुम, जाजरकोट, अछाम, प्यूठान, पर्वत, सल्यान लगायतका कर्णाली तथा गण्डकीका विभिन्न ठाउँबाट शासन सञ्चालन गर्न थाले । भाईहरुको आपसी खिचातानीका कारण राज्य निकै कमजोर भई स्थानीय शासकहरु पनि ब्यूँतिएका थिए भने खस साम्राज्यको राजधानी जुम्लामा मुगुको कालैगाउँका बलिराज शाहीले अधिकार कायम गरेका थिए ।
जुम्ला राज्यको नेतृत्व विसं. १४५५ मा बलिराज शाहीले लिँदा जुम्ला पुनः शक्तिशाली देखियो । विसं. १४५७ मा पूर्णरुपमा खस साम्राज्यको राजाको हैसियतमा देखिएका बलिराजले विसं. १४६१ माघ ४ गते जुम्लाको राजधानी सिंजाबाट स्वर्णग्राम हालको सुनारगाऊँ सारी त्यँहीबाट राज्य सञ्चालन गर्न थाले । उनले विसं. १४६२ को स्थायी राजधानी छिनासिम बनाएका थिए । उनी शक्तिमा आएपछि खस साम्राज्यमा सामन्त तथा रजौटाहरुको अधिकार नखोसी साम्राज्यभरि विभिन्न ठाउँबाट राज्य सञ्चालन गरेका साना राज्यलाई संरक्षण गर्ने, दण्ड दिने तथा कर उठाउने जस्ता काम जुम्ला राज्यबाट गरी साम्राज्यलाई गण राज्यमा परिणत गरेका थिए ।
इतिहासकार तथा वरिष्ठ पत्रकार प्रेम कैदीका अनुसार “कलकत्तामा बसेर नेपालको इतिहास लेख्ने फ्रान्सिस ह्यामिल्टनबाट जुम्ला बाइसे चौबीसेमा पर्छ भनि राणाका कुनै दलालले लेख्न लगायो । अंग्रेजीमा लेखेको प्रमाणिक ठान्ने मानसिकताका अरु इतिहासकारहरुले काठमाडौं पश्चिममा बाइसे चौबीसे रजौटाहरु मात्र भएको लेख्न पुगे । योगी नरहरीनाथ नजन्मेको भए प्रो. टुचिले पनि सिंजाका खस राजाहरुको इतिहास थाहा पाउने थिएनन् ।”
राजा बलिराज शाहीको सम्बन्धमा जुम्लामा एउटा गीत निकै प्रचलित छ –
“छकल्याका बलिराज साँझका शाही भया,
सिंजाको श्रीपेज बोकी छिनासिम आइ गया ।”
बलिराज “शाही” को पद्वी लिने पहिलो राजा भएको (शाहीको अर्थ राजा वा मालिक हुन्छ) तथा उहाँले राजधानी सिंजाबाट छिनासिम सार्नुभएको कुरा यसमा पाइन्छ । तथापी इतिहासकार खड्ग बहादुर विश्वकर्माले शाही पद्वी लिने पहिलो राजा विवोशराज रहेको उल्लेख गर्नुभएको छ ।
बलिराज र लक्षालकृति पैकला :
बलिराजको उदय सैनिक विद्रोहबाट भएको थियो । खस कालमा गाउँ गाउँमा पैकला (योद्धा÷ सैनिक) हुन्थे । राज्यलाई अप्ठेरो पर्दा विशेषगरी युद्धको बेला झारा लगाई पैकलाहरुलाई युद्धमा सरिक गरिन्थ्यो । बलिराजको समयमा जुम्लाको पाँचसय दरामा एक जना लक्षालकृति पैकलाको जन्म भएको थियो । उनी निकै बलवान र बौद्धिक भएकोले सिंजाका राजाले उनको प्रसिद्धिदेखि डराएर उनलाई आफ्नो राज्यमा बोलाई षडयन्त्रपूर्वक मारेको घटनापछि जुम्लाको पाँचसय दरा र असी दरामा बलिराजले आÇनो नेतृत्वमा पैकलाहरुको सहयोगमा विद्रोह गरी राज्य कब्जा गर्न सफल भएका थिए ।
राजा बलिराजले जुम्लामा चन्दननाथ र भैरवनाथ मन्दिरको स्थापना गरेका थिए । राजा बलिराजकी रानी जाजरकोटका राजा जुक्ति सिंह (मलय बर्माका छोरा) कि छोरी थिईन । बकुट भैरब जाजरकोटी राजाका कुल देवता भएकोले माइती देवताको रुपमा रानीले भित्र्याएको मानिन्छ भने हाल चन्दननाथ मन्दिरको नामले चिनिदै आएको मन्दिर वास्तवमा दत्रात्रयको मन्दिर हो । किंवदन्ती अनुसार “राजा बलिराजको घोडा सँधै दत्रात्रयको पाइला भएको ठाउँमा चर्न जान थालेपछि त्यहाँ के छ भनि राजाले हेर्दा ठूलो पत्थरमा मानव पाइला देखेपछि त्यो बेला मानसरवरको यात्रामा आएका जोगी चन्दननाथले त्यो हेर्नभएको र उहाँले हेर्ने बित्तिकै उहाँको अगाडि दत्रात्रयको तस्विर आएपछि उहाँले नै दत्रात्रयको पाइला भएको राजालाई बताउनुभएको थियो । पछि उहाँकै सल्लाहमा सोही स्थानमा मन्दिर स्थापना गरिएको र चन्दननाथ बाबाले नै पूजाआजा गर्न थाल्नुभएपछि कालान्तरमा यो मन्दिर चन्दननाथ मन्दिरको नामले परिचित हुँदै गएको हो ।
इतिहासका जानकार रत्नचन्द्र आचार्यका अनुसार दत्रात्रयको मन्दिर विश्वमै दुईवटा मात्र भएको र एउटा जुम्लाको यही चन्दननाथको नामले चिनिन्छ भने अर्को भारतको गुजरातको ग्रिनारमा रहेको छ ।
उनले बृहत क्षेत्र धान्न गाह्रो भएपछि गण्डकी तथा कर्णालीका विभिन्न क्षेत्रमा राज्य सञ्चालनको जिम्मा स्थानीय शासकलाई दिई जुम्लालाई करतिर्ने बन्दोबस्त मिलाएका थिए । उक्त समयमा बलिराज शाहीले गरेको उर्दी आज पनि ठकुरीहरुको वर्गीकरण गर्दा सम्झिने गरिन्छ– जस्तो, “कालो कल्याल, धौलो छत्याल, सुनौलो रासकोटी, रैका बारकोटे ।” उतिखेर विजयोत्सवमा कालो टिका लगाइने प्रचलन बमोजिम शासन सञ्चालनमा पहिलो प्राथमिकता कल्यालले पाएको देखिन्छ ।
उनले साँस्कृतिक एकतामा जोड दिए । आफ्नो शासित साम्राज्यभरि विशेषगरी दास दासीलाई वर्षको एक पटक देउसी भैलो खेल्ने आदेश दिएका थिए । भैली सबैले खेल्ने गरेपनि भैलीको शुरुमा आजपनि “हामी त्यसै आएनौ, बलिराजाले पठाए” भन्ने गरिन्छ । बलिराज शाहीको छोरा बत्स्यराज शाही खस साम्राज्यकै शक्तिशाली राजाको रुपमा देखिन्छन् । इतिहासकार तथा वरिष्ठ पत्रकार प्रेम कैदीका अनुसार जुम्लाका सम्राट बत्स्यराजले हरिद्धारमा विश्वविजेता तैमुरलंगलाई युद्धमा हराई विश्वका पाँचवटै महादेश जितेकाले श्री ५ को पद धारण गरेका थिए । जुन पद पछि जुम्ला राज्यलाई गोर्खालीले जितेपछि गोर्खाली राजामा सरेको थियो । उनकै पालामा चन्द्र सूर्यसहितको ध्वजा सर्वप्रथम छिनासिम दरबारमा फहराइएको थियो । यसैलाई केही परिमार्जन गरी नेपालको राष्ट्रिय झण्डाको रुपमा स्थापित गरिएको छ ।
जुम्ला साम्राज्यको बागडोर कल्यालकालमा १५ पुस्तासम्म करिब चार शताब्दीसम्म शक्तिशाली राष्ट्रको रुपमा रही विभिन्न ५९ साना राष्ट्रबाट कर लिने गरेको पाइन्छ । विसं. १८४६ असोज ३ गते रामनवमीका दिन खस नियन्त्रित क्षेत्र तथा राज्यहरु कब्जा गर्दै गर्दै गोर्खालीहरुले खसको प्रमुख केन्द्र छिनासिम पनि कब्जा गरेपछि राजा शोभान शाही खस साम्राज्यका अन्तिम राजा कहलिए । हाल छिनासिम दरबार क्षेत्रलाई जुम्ला खलंगा भनिन्छ । गोर्खालीद्धारा विजित पश्चिम नेपालका विशेषत खस मातहतका राज्यका प्रमुख रजस्थानलाई खलंगा नाम दिइएको थियो । जस्तै : डोटी खलंगा, डडेल्धुरा खलंगा, जाजरकोट खलंगा, मुसिकोट खलंगा, सल्यान खलंगा, प्यूठान खलंगा आदि ।
वंशीय प्रणाली र धर्म :
कल्यालहरु रवि गोत्रीय सूर्यवंंशी ठकुरी हुन । प्राचीन ग्रन्थ अनुसार ठकुरीहरु सूर्य र चन्द्र वंशीय भन्ने गरिन्छ । वैदिक सभ्यतामा वर्णन भएअनुसार कश्यप र अदितिबाट जन्मेका १२ आदित्य मध्य विवस्वान (सूर्य पनि भनिन्छ) ले त्वष्टाकी छोरी सरण्युबाट जन्माएका मनुलाई सृष्टिकै आरम्भकर्ता मानिन्छ । मनुकै कुलमा इक्ष्वाकुको वंशमा राजा रामको जन्म भएको थियो । यही वंशलाई सूर्य वंश मानिन्छ भने अत्रिका पुत्र चन्द्र यिनका वंशमा आयू, नुहुष, ययाति– ययातिको रानी देवयानीबाट जन्मेका यदुका वंश कृष्ण थिए । यिनैका वंशलाई चन्द्रवंशी भनिन्छ । गोत्र भन्नाले एउटै वंश भन्ने अर्थ हुने हुँदा कल्यालहरु रवि गोत्र अर्थात सूर्यवंशी नै भएको स्पष्ट हुन्छ ।
हालको नेपाली भाषाको विकास र विस्तार पनि खस साम्राज्य कालमै भएको थियो । विसं. १०३८ को दैलेखको दामु पालको अभिलेख (जुन नेपाली भाषाको पहिलो अभिलेख मानिन्छ), विसं. ११४६ को संग्राम सिंहको हुम्लाको डुम्राकोटको अभिलेख, विसं. १३१२ को अशोक चल्लको हुम्ला रेलिङ गुम्बाको अभिलेख आदिबाट यो प्रमाणित हुन्छ । राजा नागराजले खस भाषालाई राजभाषाको मान्यता दिएकोले जुम्ला र जुम्ला विजित क्षेत्रमा यो भाषा अनिवार्य भयो ।
त्यो समयको समाज हिन्दु वैदिक आर्य र खस आर्यको सम्मिश्रणबाट बनेको थियो भने धर्म हिन्दु र परम्परागत बौद्ध धर्म (बोन्पो) दुवै प्रचलनमा थियो । जातको नाम उसले प्राप्त गरेको सरकारी दर्जा तथा बसोबास ठाउँको आधारमा राखिन्थे । जस्तै : भण्डारी– वाणिज्य, अर्थ मन्त्री सरहको पद, आचार्य –शिक्षादिक्षा दिने गुरु, शिक्षा क्षेत्रको ठूलो मान्छे , शाही– राजा वा मालिक आदि ।
जुम्ला र गोर्खा युद्ध :
जुम्ला २२ हजार झराली पैकेला सैन्य शक्ति रहेको निकै शक्तिशाली राज्य थियो । जुम्ला विजय नगरी पश्चिमका अन्य राज्यहरु कब्जा गर्न बहादुर शाहको सेनालाई असम्भव नै थियो । त्यसैले जुम्ला राज्यलाई घेराबन्दी गरी कब्जा गर्ने योजनालाई लागु गर्न बहादुर शाहले “देखावटी मित्रता, भित्रि आक्रमण” को रणनीति प्रयोग गरे । “फुटाउ र कब्जा गर” को नीति प्रयोग गर्दै गोर्खालीले कसैलाई राज्य थामिदिने त कसैलाई संरक्षण दिने जस्ता गलत आश्वासन दिदै जुम्लाको संरक्षणमा रहेका मुस्ताङ, बझाङ, बाजुरालगायत अधिकांश राज्यलाई गोर्खाको अधिनत्व स्वीकार गराई जुम्लालाई एक्ल्याएर घेरा हाल्दै गएका थिए । यसरी चौतर्फी घेराहाली सकेपछि रुकुम बाँफीकोट र आठविसकोटको विद्रोहको कारण देखाई जुम्लामाथि युद्धको घोषणा गरियो । जहाँ जुम्लाको गठबन्धन सेनाको मोर्चाले बहादुर शाहको सेनालाई ठूलो क्षति गरेको थियो ।
जुम्लामाथि आक्रमण गर्न काठमाडौंबाट कप्तान शिवनारायण खत्रीको कमाण्डमा विसं. १८४६ श्रावण ८ गते राती सेनाको रमाना भयो । प्यूठानमा रहेका सरदार प्रबल रानालाई जुम्लामाथि आक्रमण गर्न सैन्य शक्तिसहित सहभागी हुन निर्देशन दिइयो । दुई कम्पनी बहादुर शाहको सेनाले जुम्ला राज्यको पूर्वी राजधानी मानिने तिब्रिकोटमा किल्ला जमायो । यो सूचना पाएपछि राजा शोभान शाहीले गरेको गरेको प्रतिरोधको तयारी बारे इतिहासकार खड्गबहादुर विश्वकर्मा, डा.सूर्यमणी अधिकारीले उल्लेख गर्नुभएको छ, “नेपाली सेना तिब्रिकोटमा आईपुगेको थाहा पाएर शोभान शाहीले जुम्लाको मुख्य राजधानी छिनासिमको रक्षार्थ झराली सैनिकहरुको ठूलो समुह जम्मा गरे । आफ्नो सेनाको सैन्य दलबाट छिनासिममा अरिङ्गालाको गोला जस्तो गरी जम्मा भएको जुम्ली फौजमाथि तत्काल आक्रमण गर्न उचित नदेखेपछि बहादुर शाहको सैन्य टोली उपर्यूक्त अवसरको प्रतिक्षामा केही समय तिब्रिकोटमै अडिए ।”
जुम्ला राज्यका सेना र जनता दशैं मनाउन घरघरमा गएको मौका छोपी गोर्खालीले रातदिन गरेर विसं १८४६ असोज ३ गते महानवमीको मध्यराती छिनासिमलाई घेराउ गरे । छापामार शैलीमा गरिएको आक्रमणमा राजा शोभान शाहीले प्रतिरोधको व्यवस्था गर्न पाएनन् । आफ्नो छोरा मनसुर शाहीलाई साथमा लिएर गोर्खालीले देखाएको प्रलोभनलाई वेवास्ता गर्दै गोर्खालीको सैन्य घेरा तोडी सिंजा हुदै गमगढी गए । तत्पश्चात् छिनासिममा बहादुर शाहको सेनाले अधिकार कायम गर्यो ।
शोभान शाहीले गमगढी (मुगु) आफ्नो सेना जम्मा गरी मोर्चा कसे । गमगढी मोर्चाको किल्ला तोड्न शिवनारायण खत्री र प्रवल रानाको सेनालाई निकै धौ–धौ भएपछि काठमाडौंबाट भूपनारायण शाही र भक्ति थापाको नेतृत्वमा थप सैन्य शक्ति मगाइयो । मुगु किल्ला सिधै आक्रमण गर्न नसकी हुम्ला तिरबाट आक्रमण गरियो । तथापि गोर्खाली सेनालाई भिषण आक्रमणको सामना गर्नुपरेको थियो । बहादुर शाहले विसं. १८४६ माघ ८ गते पत्रमार्फत किल्ला बचाउ, सर्च नभएको जमिन सर्च गर, जंगल पसेकालाई कुर र हान, रसद पोल, बाह्र वर्ष माथिकालाई साफ गर” भन्ने आदेश गर्नुले बहादुर शाहको सेनाले यो मोर्चामा ठूलो मूल्य चुकाउन परेकोले जुम्ला राज्यका जनताको कायरतापूर्ण नरसंहार भएको पुष्टि हुन्छ ।
मुगुमा विद्रोह असफल भएपछि राजा शोभान शाही त्यहाँबाट हुम्ला छिरे । हुम्लामा पनि विद्रोह जारी राखे । विसं. १८५० को प्रारम्भमा शुरु भएको हुम्ला विद्रोह ८ देखि ९ महिना चलिरह्यो । सेनापति भक्ति थापा र रणजित कुँवरलाई जुम्ली सेनाले गिरÇतार गरी सिध्याउन लागेपछि जाजरकाटका काजी सिरम शाहको सेनाले बचाएका थिए । अन्ततः शोभान शाही हुम्ला मोर्चाबाट पनि पछि हट्दै तिब्बतमा शरण लिए र भूमिगत जीवनकै क्रममा विसं. १८५५–५६ तिर ल्हासामा उनको मृत्यू भयो ।
संक्षेपमा,
खस साम्राज्य कुनै एक जाति र ठाउँ विशेषको अस्तित्वको इतिहास नभै समग्र नेपालीको गर्वको कुरा हो । जसले नेपाली माटोमा नेपालीहरुको आफ्नै स्वतन्त्र र समुन्नत सभ्यता, संस्कृतिको विकासमा अतुलनीय र अविस्मरणीय योगदान गरेको छ । राजा जो सुकै होला त्यो नेपाली थियो । राज्यको बागडोर पनि नेपालबाट नै सञ्चालनमा रही बृहत भाषिक, धार्मिक, साँस्कृतिक, भौगोलिक, सामाजिक एकता गर्नु अवश्य पनि सानको कुरा हो । खसहरुको करिब १२०० वर्ष लामो शासन प्रणालीबाट आधुनिक नेपाललाई छुट्टै नेपाली पहिचानको उपहार मिलको छ । यसलाई चिरस्थायी राख्नु हाम्रो दायित्व हो । बिगतमा करिव २०० वर्षदेखि राज्यबाट सौतेनी व्यवहार गरिएको भनेर हामीले गुनासो ग¥यौं । अब प्रदेश तथा स्थानीय सरकार बनिसकेकोले निम्न सवालहरुमा ध्यान पु¥याउन सके यसबाट पर्यटन तथा यस क्षेत्रको चौतर्फी विकासमा समेत टेवा पुग्ने देखिन्छ ः–
१) चन्दननाथ मन्दिरको वृहत गुरुयोजना बनाई सो बमोजिम पुनःनिर्माण गर्ने ।
२) अन्तिम खस राजाको दरबार छिनासिमदेखि मानसरोवरसम्मको पदमार्ग व्यवस्थित गरी खुल्ला गर्ने ।
३) हालको प्रशासन कार्यालयलाई स्थानान्तरण गरी बिगतको झल्को दिने प्रकारले दरबारको पुनः निर्माण गरी खस संग्राहलय बनाउने ।
सन्दर्भ सामग्रीहरु :
- A Griersom, Linguistic Survey of India, Vol. IX, Part. IV, Delhi 1968, 18.
- C. Sircar, Comography and Geography in Early India literature, Calcutta, 1967, P. 83.
- H.L. Eggermont, The year of Buddha’s Mahaparinirwan, The Dating of Historical Buddha. Edt by H. Berchert, Gottingen, 1991, P. 141.
4. खड्गबहादुर विश्वकर्मा, शहीद हरिबहादुर कुँवर स्मृतिग्रन्थ २०७४, पेज ४६, ५०, ५१, ५३ ।
5. प्रेम कैदी, शहीद हरिबहादुर कुँवर स्मृतिग्रन्थ २०७४, पेज ३६ ।
(चन्दननाथ नगरपालिका २ जुम्ला निवासी युवा लेखक शाही हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हुनुहुन्छ ।)