OnlinePana

आज : २०८२ भाद्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३२, २०८२
३२ पटक

३१ साउन २०८२, शनिबार

सुर्खेतः नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पूँजीवादीहरुले फाइदा उठाएको बताउनुभएको छ ।

अखिल (समाजवादी) र युवा संगठन कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा बोल्दै युवा जनशक्तिमा बढ्दै गएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताउनुभयो । उहाँले भ्रष्टाचार क्रोनिक रोगका रुपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गर्नुभयो ।

“अहिले युवाले मागेको रोजगार र स्वाभिमान यो व्यवस्थाबाट संभव छैन,” उहाँले भन्नुभयो, “जनताको पूँजी शोषण गर्ने दलाल पूँजीवादी व्यवस्थाका कारण लाखौं नेपाली जनता ऋण बोकेर सडकमा छन् ।” जीवन व्यवहारमा लागु नगरिँदा पछिल्लो समयमा समाजवादको बहस अरुचिको विषय बन्दै गएको महासचिव चन्दको भनाई थियो ।

उहाँले आफ्नो पार्टीले तीन वर्ष यता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै अब उद्योगको थालनी गर्ने जनाउनुभयो । महासचिव चन्दले भन्नुभयो, “समाजवाद आदर्श बाँड्ने मन्त्र होइन, जनताको जीवन बदल्ने, खुशी र समृद्धि ल्याउने उत्तम व्यवस्था हो । यसको बृहत बहसबाट नेपाली विशेषताको समाजवाद ल्याउनुपर्दछ ।”

राजनीतिको अन्तिम सार आर्थिक कार्य भएको प्रतिक्रिया दिनुभएका उहाँले कम्युनिष्टहरुबीच एकता गर्नुको विकल्प नभएको यद्यपि फोहरी भएर एकता नगर्ने तर्क गर्नुभयो । पार्टीका नेताहरु पूँजवादीहरुको नोकर दलाल जस्तो हुँदै जाँदा नेपालीहरुले अर्काका लागि जन्मेको महसुस गर्न थालेको उहाँको भनाई थियो ।

महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनका विरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवाहरु पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको बताउनुभयो । आफ्नो पार्टी आगामी ०८४ को चुनावमा भाग लिने र पूँजीवादीहरुका अगाडि पैसा विना पनि निर्वाचन जित्न सकिदो रहेछ भन्ने सन्देश दिने समेत उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्