

१६ साउन २०८२, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यवसायिक बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै स्वस्थ युवा, समाज र राष्ट्रका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायिक खेलको माध्यमबाट स्वस्थ र सक्षम नागरिक उत्पादन हुँदा भावी जनशक्तिलाई आत्मनिर्भर सघाउ पुर्याउँछ । यसमा सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।”
खेलकुदले राष्ट्रिय गरिमा बढ्नेदेखि खेल पर्यटनका माध्यमबाट मनोरञ्जन दिने युवा रोजगारी सिर्जना गरी आर्थिक समृद्धि बढाउनतर्फ जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । उहाँका अनुसार खेलले युवालाई सिर्जनशील, अनुशासित, र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने भएकोले यस क्षेत्रमा राज्यको लगानी आवश्यक छ ।
उक्त समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, नेपाल खेलकुद महासंघका उपाध्यक्ष दिपेन्द्र दाहाल, नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशका पदाधिकारीसहित यहाँका दश जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।