

१६ साउन २०८२, शुक्रबार्
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ नेवारेस्थित मानव सेवा आश्रममा आश्रित मानवलाई कोदो उपहार दिएर ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाईएको छ ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रथम राष्टिय कोदो दिवस’को अवसरमा मानव सेवा आश्रममा आश्रित ९५ जनाका लागि मन्त्रालयले कोदो, कागुनोसहितका खाद्य उपहार दिएको छ ।
दिवसको अवसरमा बोल्दै मन्त्रालयका कायममुकायम सचिव परशुराम रावतले ‘प्रथम राष्टिय कोदो दिवस’ले नेपालमा धान, गहुँ मकैपछि चौथो महत्वपूर्ण खाद्य बालीका रुपमा रहेको कोदोजन्य बालीहरुले आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । उहाँका अनुसार कोदोजन्य बाली अन्तरगत कोदो, चिनो, कागुनो, जुनेलो, बाजरालगायतका बालीहरु पर्दछन् ।
सचिव रावतले खाद्यान्न बालीको ७ दशमलव ९ प्रतिशत, क्षेत्रफल र उत्पादनको ३ दशमलव ३ प्रतिशत हिस्सा ओगट्ने कोदोजन्य बाली तराई, पहाड र हिमालमा क्रमशः ३, ७८ र १० प्रतिशत क्षेत्रफलमा खेती हुने गरेको बताउनुभयो । कर्णालीका हुम्ला र मुगु जिल्लामा कोदो प्रथम र जुम्लामा दोस्रो खाद्य बालीका रुपमा रहेको बताउँदै उहाँले यो प्रदेशमा खाद्य सुरक्षाका दृष्टिकोणले २८ हजार तीन सय ६५ मेट्रिक टन बचत रहेको भएतापनि डोल्पा, मुगु, हुम्ला र कालीकोटमा २२ हजार छ सय ७३ मेट्रि«क खाद्यान्न अपुगको तथ्याङ्क रहेको जनाउनुभयो ।
मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक संगीता गौतमले प्रदेश सरकारले दिवसलाई मानव सेवासँग जोडेर कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । “कोदो, कागुनो र चिनो सबै यहाँका अर्गानिक अनाज हुन्,” उहाँले भन्नुभयो, “यसले आश्रित मानवहरुको पौष्टिक आहारमा सहयोग पुग्ने आशा गरेको छु ।” उक्त कार्यक्रममा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)लगायतका साझेदार संस्थाहरुकाे सहभागिता रहेकाे थियाे ।