

३० साउन २०८२, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनअन्तरगत शिफ्ट् अभियानको सहयोगमा स्पाइनल इञ्जुरी युनियन सुर्खेतद्वारा आज आयोजित व्हीलचेयर बास्केटबल प्रतियोगितामा ब्ल्यु टिमलाई एक गोलले पछि पार्दै ह्वाइट टिम विजयी भएको हो ।
शिफ्ट अभियानले समुदायको आवश्यकतामा आधारित अभियानहरुको युवा नेतृत्वको लागि युवा सशक्तीकरणका कार्यहरुलाई जोड दिने क्रममा अपाङ्गता अधिकार प्रवद्र्धन गर्ने हेतुले प्रतियोगिताका लागि सहयोग गरिएको सेभ द चिल्ड्रेन नेपालका पैरवी निर्देशक आयुष श्रेष्ठ जोशीले बताउनुभयो ।
“खेलकुदले सोंचाइका सीमाहरु भत्काउँछ, पूर्वाग्रह हटाउँछ, र साझा लक्ष्यतर्फ मानिसहरुलाई एकजुट गराउँछ,” उहाँले भन्नुभयो, “व्हीलचेयर बास्केटबल जस्ता खेलहरुले अपाङ्गता भएका व्यक्ति, विशेषगरी अपाङ्गता भएका युवाका आवाजलाई अगाडि ल्याई दीगो परिवर्तनका लागि सहकार्यको निर्माण गर्दछ ।” अपाङ्गता समावेशीकरणका मुद्दाहरु गोलमटोल तरिकाबाट सम्बोधन गर्न नसकिने भएकोले यसको निम्ति उद्देश्यपरक र बहुपक्षीय संवाद आवश्यक रहेको निर्देशक जोशीको भनाई थियो ।
उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिबारे परम्परागत गलत धारणा हटाएर उनीहरु केवल एक पीडित हु्न् भन्ने भाष्य चिर्दै शिक्षा, स्वास्थ्य, र सामाजिक संरक्षणको क्षेत्रमा अपाङ्गता–सुचित सुधारका कार्यका लागि सार्वजनिक बहस सिर्जना गर्नुपर्दछ । व्हीलचेयर प्रयोगकर्ताहरुको प्रतिभा र उत्थानशीलतालाई उजागर गर्दै अपाङ्गता भएका व्यक्तिलाई अनुकरणीय व्यक्तिको रुपमा लिई उनीहरुको सशक्तीकरण र समानतातर्फ काम गर्नुपर्ने उहाँको सुझाव थियो ।
स्पाइनल इन्जुरी युनियनका संस्थापक व्हीलचेयर प्रयोगकर्ता तथा कार्यक्रमका योजनाकार दिव्यराज खड्काले अपाङ्गता भएका व्यक्तिहरुले समाजमा केही गर्न सक्छन् भन्ने सन्देश दिन प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई प्रायः होच्याएर हेरिन्छ । बास्केटबल जस्ता सक्रिय खेलहरुका माध्यमबाट हामी हाम्रो शक्ति, उत्थानशीलता, र क्षमताको प्रमाणित गर्न चाहन्छौं र सबै क्षेत्रमा हाम्रो समावेशीताको माग राख्दछौं,”
उक्त कार्यक्रमपश्चात् खेलकुदको माध्यमबाट अपाङ्गता अधिकार र समावेशीताको प्रवद्र्धन गर्न अपाङ्गतासम्बन्धी अनुभव आदानप्रदान गरिएको थियो । आगामी दिनमा शिफ्ट अभियानअन्तरगत स्पाइनल इन्जुरी युनियनले अपाङ्गता समावेशिता प्रवद्र्धनको लागि सुर्खेतका विभिन्न स्थानहरुमा अपाङतासम्बन्धी अनुभव आदानप्रदान र अन्तरक्रियात्मक सत्रहरुसहितका थप व्हीलचेयर बास्केटबल खेलहरु आयोजना गर्ने जनाईएको छ ।