OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राजेन्द्र पौडेलजेठ १६, २०७७
१६२० पटक

नेपालको वर्तमान अवस्था

जातीय व्यवस्था सामाजिक सभ्याताको बाधक हो भन्ने कुरामा दुइमत नहोला । जातकै आधारमा गरिने सामाजिक विभेद दक्षिण एसियामा खास गरी भारत र नेपालमा सदिऔँदेखी रहिआएँको छ र यसको जरा धर्म, संस्कृति र सभ्यतासँग गाँसिएको छ । सैयौँ वर्षदेखि जन्मको आधारमा एउटा विशेष समुदायलाई अछुत बनाइएको छ जसलाई हामी दलित भनेर चिन्छौँ ।

दलित समुदायले पुस्तौँसम्म सहँदै आएँको पीडा र अपमानको सही विश्लेषणको गहिराइसम्म पुग्न मजस्तो एउटा गैरदलितले चाहेर पनि सक्दिनँ । कैयौँ पुस्तासम्म दलित समुदायले भोग्नुपरेको अन्याय, अत्याचार, अपमान र विभेदको क्षतिपूर्ति जति दिए पनि कम हुन्छ र समताको सिद्धान्त वा कोटा सरकारले दलित समुदायलाई क्षतिपूर्ति दिन गरेको प्रयासको एउटा उत्तम नमुना मात्र हुन सक्छ ।

कानुनतः जातको आधारमा गरिने विभेद पूर्ण रूपमा निषेध छ । मानव अधिकारको विश्वव्यापी घोषणाको धारा २ अनुसार व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म आदिको आधारमा भेदभाव गर्न पाईंदैन । तर नेपाली समुदायमा व्यावहारिक रूपमा यसले अझै जरा गाडेर बसेको छ । नेपालको जनसङ्ख्याको लगभग १५ प्रतिशत वा ४५ लाख जनसङ्ख्या दलित छन् । ८० प्रतिशत दलित गरिबीको रेखामुनि पर्दछन् । शिक्षा, रोजगार, सम्पत्तिको उपभोगसाथै अन्य अवसर तथा सुविधाको पहुँचमा दलितलाई पछि पारिएको छ ।

मानिस भएर जन्मेर पनि मानिसले नै जिउन नसकिने जीवन जिउन बाध्य बनाइएको छ । यो नेपालको समग्र विकासको लागि समेत बाधा बनेको छ किनकि १५ प्रतिशत जनसङ्ख्या यस किसिमको विभेदमा परेका छन् । उच्च वर्गका व्यक्तिले समाजका धेरै विशेषाधिकारको प्रयोग गरिरहेका छन् भने दलित र सीमान्तकृत समुदायले अझै पनि आफूले पाउने अधिकारका लागि सङ्घर्ष गरिरहेका छन् । जातीय व्यवस्था हटाउनका लागि धेरै कुरा कागजमा लेखिए पनि व्यवहारमा लागु हुन सकिरहेको छैन । किनभने अझै पनि नेपाली समाजको मानसिकता जातीय व्यवस्थाबाट ग्रसित छ । त्यसबाट छुटकारा पाउन सकिरहेको छैन ।

जातीय विभेद: बाइबलीय दृष्टिकोण

विभेद किन हुन्छ भनेर खोज्नुअगि मानिसले आफू सृष्टि भएको “आफ्नै सृष्टिको वर्णन अर्थात् म कसरी र कोद्वारा सृष्टि गरिए” भनेर बुझ्नु जरुरी हुन्छ । यो क्रममा म तपाईंलाई ५ वटा प्रश्नको फराकिलो फ्रेमवर्क दिन चाहन्छु जस्ले “म को हुँ” भन्ने तपाईंको खोजलाई सहज बनाउने छ र निर्देशित गर्ने छ भन्ने मेरो विश्वास छ ।

यी प्रश्नलाई विचार गर्नुहोस्:
१. म कहाँबाट आएँ ? (Where did I come from? The question of Origin)
२. म को हुँ ? (Who am I? The question of Identity)
३. म यहाँ किन छु ? (Why am I here? The question of purpose and meaning of life)
४. म कसरी जिउनुपर्छ ? (How should I live? The question of ethics, morality and religion)
५. म कहाँ जाँदै छु ? (Where am I going? The question of eternal destiny)
यी पाँचैवटा प्रश्नको बारेमा गहन छलफल गर्न नसके पनि सुरुका दुइवटा प्रश्नलाई मध्यनजर गर्दै यो छलफललाई अगाडि बढाउने प्रयास गर्ने छु ।
बाइबलीय दृष्टिकोणमा “मनिस को हो” भन्ने कुरा हामी ३ चरणमा बुझ्न सक्छौँ:-

१. CREATION- मानिसको सृष्टि
२. CHAOS- पापको चौतर्फी असर
३. CHRIST- ख्रीष्टमा मानिसको समानता

१. CREATION- मानिसको सृष्टि

आफ्नो परिचय खोज्ने क्रममा ‘म कहाँबाट आएँ ? म को हुँ ? वा मलाई कसले, किन र कसरी सृष्टि गर्‍यो ?’ आदि प्रश्नहरू अति नै महत्त्वपूर्ण र आधारभूत हुन्छन् । हामी हरेकले आआफ्नो धर्मशास्त्रमा यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्न जरुरी छ जसरी मैले यहाँ बाइबलीय आधारमा परमेश्वरको सृष्टि र दृष्टिमा मानिसको मुल्य खोज्ने जमर्को गर्दै छु ।
मानिसको सृष्टिबारे बाइबलको पहिलो पुस्तक उत्पत्ति १ र २ अध्यायमा उल्लेख गरिएको छ जहाँ यसरी लेखिएको छ-
“यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७) ।

परमेश्वरले उहाँको आफ्नै आत्मिक, चारित्रिक तथा नैतिक स्वरूपमा नर र नारी नै गरी मानिस जातिलाई सृष्टि गर्नुभएको हो । यसबाट के स्पस्ट हुन्छ भने परमेश्वरको योजनामा कुनै जातीय विभाजन थिएन । उहाँले दुइवटा जात अर्थात् महिला र पुरुष मात्र सृष्टि गर्नुभएको छ । हरेक मानिस परमेश्वरको स्वरूपको बाहक हो र परमेश्वरको दृष्टिमा उ सधैँ समान र बराबरी मूल्यको हुन्छ ।

२. CHAOS- पापको चौतर्फी असर

उत्पत्तिको पुस्तक ३ अध्यायले बताएअनुसार आदम र हव्वाले परमेश्वरले दिनुभएको आज्ञा उल्लङ्घन गरेसँगै परमेश्वरको सुन्दर सृष्टिमा पापको प्रवेश भयो । फलस्वरूप पापको चौतर्फी असर मानव जीवनका सबै क्षेत्रमा पर्न गयो र तल उल्लेख गरिएका सबै सम्बन्धलाई पापले नराम्ररी प्रभाव पार्‍यो:

क. आत्मिक (मानिस र परमेश्वरबिचको सम्बन्ध)
ख. शारीरिक तथा मानसिक (मानिसको आफैसँगको सम्बन्ध)
ग. वातावरणीय (मानिस र वातावरणबिचको सम्बन्ध)
घ. सामाजिक (मानिस र मानिसबिचको सम्बन्ध)

पापले मानिसको जीवनमा बहुआयामिक असरहरू ल्यायो । दोषारोपण र आफूलाई ठिक ठान्ने प्रवृत्तिको शुरुवात पापको असरको रूपमा शुरुका मानिसहरूमा देखियो । यो बढ्दै गयो । एक–आपसमा तिक्तता बढ्यो । मानिसले शासन गर्नतिर पाइला बढायो । मानिसको मन उपद्रवले भरियो । “किनकि सबैले पाप गरेका छन्‌, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्‌” (रोमी ३:२३) । परमेश्वरसँग र अरू मानिससँग सम्बन्ध बिग्रँदै गयो । यसरी अहिले पनि हाम्रो समाजमा देखिने मानिसले मानिसलाई गरिने सामाजिक वा जातीय विभेदलाई पापको असरको रूपमा लिन सकिन्छ ।

३. CHRIST- ख्रीष्टमा मानिसको समानता

परमेश्वरले सम्पूर्ण मानव जातिको लागि छुटकाराको योजना बनाउनुभयो र आजभन्दा २००० वर्ष अगाडि येशूले क्रूसमा सम्पूर्ण मानव-जातिको उद्धार वा मुक्तिको लागि रगत बगाउनुभयो अनि उहाँको रगतले पापले प्रभाव पारेका सबै सम्बन्धलाई ठिक गर्न सक्छ ।

“तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं । किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं ।

यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ । यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ । यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनससम्म राज्य गरोस्‌ (रोमी ५:८,९,१०,११,१८,२१) ।

येशूमा विश्वास गर्ने हरेक व्यक्ति नयाँ सृष्टि हुन्छ, “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५:१७)

येशूमा भएका मनिसहरू सबै समान हुन्छन् भन्ने कुरा नयाँ नियममा यसरी लेखिएको छ, “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।

अब येशूमा भएकाहरूलाई कुनै पनि जातीय व्यवस्थाले छुँदैन । उहाँको नजरमा सबै मानिस समान छन् किनभने हामी सबै उहाँकै स्वरूपमा सृष्टि भएका हौँ

जातीय विभेद न्यूनिकरणमा मण्डलीको भूमिका

परमेश्वरको राज्यमा कुनै प्रकारको विभेद हुँदैन । ख्रीष्ट येशूमा नयाँ जन्म पाएका मानिसहरूको सोच पनि नयाँ भएको हुन्छ र उनीहरू कुनै प्रकारको विभेद गर्दैनन् वा विभेद हुन नदिन्ने कुरामा कटिबद्ध हुन्छन । मण्डली त्यस्तो समुदाय हो जहाँ सबै जातका मानिसहरू अटाउँछन् र त्यहाँ जातको आधारमा कुनै विभेद गरिँदैन अनि सबै जात, सबै बर्ग, सबै भाषाका मानिसहरू एकै ठाउँमा खडा भएर समान हैसियतमा आफ्ना सृष्टिकर्ता परमेश्वरको आराधाना गर्छन् । जातीय विभेद न्यूनिकरणको लागि मण्डली एउटा उत्तम नमुना हो र यसको लागि मण्डलीले अहम भूमिका खेल्नुपर्ने देखिन्छ ।

१. मण्डली र आफ्नो समुदायमा मानिस जातिको सृष्टिको वर्णनबारे सही शिक्षा दिनु

खासमा आज समाजमा जति पनि विभेदहरू कायम छन्, त्यो शिक्षाको कमिले मानिसहरूमा भएको गलत सोचको कारणले भएको छ । त्यसैले मण्डलीले सही शिक्षा दिएर मानिसहरूको सोच बदल्न खेल्नुपर्ने भूमिकाको महत्त्वबारे जति व्याख्या गरे पनि कम हुन्छ । मण्डलीले जातीय विभेदका पीडित र पिडक दुवैलाई बाइबलीय सत्यताको ज्ञान दिन जरुरी छ । परमेश्वरको सृष्टि र दृष्टिमा सबै मानिस समान छन् र उहाँको नजरमा सबै प्रकारका विभेद घृणित छन् भन्ने कुरा सबै मानिसलाई बुझाउनु मण्डलीको दायित्व हो ।

२. जातीय विभेदको विरोधमा शसक्त आवाज

परमेश्वरलाई कुनै पनि प्रकारको विभेद सह्य छैन । यो सत्यलाई बुझेको मण्डली जातीय विभेदको विषयमा चुप लागेर बस्नै सक्दैन । मण्डली परमेश्वरले राख्नुभएको समाज परिवर्तनको वाहक हो । त्यसैले मण्डलीले नीति निर्माणदेखि राज्यका सबै तहमा जातीय विभेद विरुद्ध आफ्नो आवाज बुलन्द गर्न सबै प्रकारका कदम चाल्न जरुरी छ । सामाजिक सेवा परमेश्वरले मण्डलीलाई दिनुभएको मिसनको एक अभिन्न भाग हो ।

३. अन्याय, अत्याचार र थिचोमिचोमा परेकाहरूको लागि पैरवी गर्नु

जातीय विभेदको मुद्दा नितान्त न्यायसँग जोडिएको विषय हो । हामीलाई थाहा छ कि परमेश्वर न्यायी (Just) हुनुहुन्छ र बाइबलले हामीलाई बताउँदछ कि न्याय वा इन्साफद्वारा नै परमेश्वरको नाम उच्च हुन्छ । “तर सर्वशक्तिमान्‌ परमप्रभुको नाउँ इन्साफद्वारा उच्च हुनेछ, र पवित्र परमेश्वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ” (यशैया ५:१६) ।

“तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्‌ !” (आमोस ५:२४) बाइबलले हामीलाई स्पष्टसँग सिकाएको छ “त्यस्ताहरूको पक्षमा बोल्‌, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्‌, यस्ताहरूका अधिकारको निम्ति जो कङ्गाल छन् । आवाज उठा र न्यायसँग फैसला गर । गरीब र दीन-हीनको अधिकारको रक्षा गर” (हितोपदेश ३१:८-९) ।

“भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ” (यशैया १:१७) ।

येशू आफैले यसो भन्नुभयो, “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्‌, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ'” (मत्ती २५:४०) ।

अन्त्यमा,

नेपालमा आज जात व्यवस्था समाजको अर्थ व्यवस्था, सामाजिक संगठन, संस्कृतिको मेरुदण्ड, राजनीति, धर्म र संहिता बनेर जकडिएको छ । त्यसकारण जात व्यवस्थालाई उन्मूलन गर्नका लागि त्यस्तो आन्दोलन अथवा परिवर्तनको आवश्यकता छ, जसले यी सबैलाई चिर्न सकोस् । अरू कुनै विकल्प छैन । जातीय विभेद अन्त गर्न कुनै एकल समुदाय वा धर्म विशेषको प्रयास यथेष्ट हुनै सक्दैन । त्यसैले सबैले आ-आफ्नो ठाउँबाट प्रयास गर्न जरुरी छ । खासगरी यो मुद्दामा पिडक भनेर चिनिएका कथित उपल्लो जातिहरूले …

(झापा गोलधापका राजेन्द्र पौडेल लामो समयदेखि समुदाय रुपान्तरणको क्षेत्रमा काम गर्दै आउनु भएको छ । भारतको केरलास्थित BCTS College, काठमाडौंमा उहाँले United Mission to Nepal मा ५ वर्ष Integral Development Advisor भएर काम गर्नु भयो । हाल Tear fund मा South Asia Network Coordinator को भूमिकामा काम गर्दै आउनुभएका उहाँ Union for Education and Research in Europe, Germany बाट PhD गर्दै हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस्