OnlinePana

आज : २०८२ मंसिर ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ३, २०८२
१४ पटक

२ मंसिर २०८२, मंगलबार

सुर्खेतः सामाजिक सुरक्षा कोष नेपालका उप–कार्यकारी निर्देशक विवेक पन्थीले योगदानमा आधारित सामाजिक सुरक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

सामाजिक सुरक्षा कोष नेपालद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘सामाजिक सुरक्षा पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उप–कार्यकारी निर्देशक पन्थीले तीनै तहका सरकारहरुले नागरिकहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्न तहले आफ्नो दायित्व पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भनेको समाजले व्यक्ति तथा परिवारलाई प्रदान गर्ने संरक्षण हो जसले स्वास्थ्य सेवामा पहुँच र आधारभूत आयको सुनिश्चितता गर्नुका साथै संरक्षितको मुख्य आयस्रोत गुमेको अवस्थामा सहयोग पुर्याउँछ ।”

नागरिकको मौलिक तथा मानव अधिकार संरक्षणका लागि पनि अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिहरुको सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्नैपर्ने उप–कार्यकारी निर्देशक पन्थीले बताउनुभयो । उहाँका अनुसार नागरिक सेवा र अधिकार सुनिश्चितताका लागि कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा सामाजिक सुरक्षा कोष नेपालको शाखा तथा सम्पर्क कार्यालय स्थापनाको कार्य अगाडि बढाईएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले ज्यालादारी, करार, नगर प्रहरी सबैलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न वार्षिक नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । सानीभेरी गाउँपालिका रुकुमपश्चिमका अध्यक्ष विर्खबहादुर विष्टले आफ्नो पालिकामा ७४ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको बताउँदै नागरिकहरुलाई बुझाउन सञ्चार माध्यमको विषेश भूमिका रहने धारणा राख्नुभयो ।

कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले सबै नागरिकको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको भएपनि निवृत भईसकेपछि राज्यलाई पाल्न गाह्रो भएको उल्लेख गर्नुभयो । यस अघि सामाजिक सुरक्षाका लागि सरकारले ११ प्रतिशत बजेट छुट्याएपनि अहिले पाँच प्रतिशत बजेट मात्र विनियोजन गरिएको जनाउनुभयो ।

अन्तरक्रियामा सामाजिक सुरक्षा कोष नेपालका उप–निर्देशक डा.सचितकुमार भण्डारीले सामाजिक सुरक्षा कोषको अवधारणा, नेपालको अवस्था र सञ्चारकर्मीहरुको भूमिका र अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि तारा कँडेलले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा स्वरोजगार व्यक्तिहरुको सामाजिक सुरक्षा तथा अन्तराष्ट्रिय श्रम संगठनले गरेका व्यवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषको व्यापक प्रचारप्रसार तथा जनचेतनामूलक कार्यक्रम अभियानका रुपमा अगाडि बढाउनुपर्ने सुझाव सहमागीहरुले दिएका थिए । उक्त अन्तरक्रिया पत्रकार सञ्चारकर्मीसहित राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तथा सुर्खेत, ट्रेड युनियन, श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्