OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १०, २०८२
३६३ पटक

१० असोज २०८२, शुक्रबार

सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहनलाल चन्दले मुलुक संकटमा परेको सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ ।

नेकपा सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोलिटब्यूरो सदस्य चन्दले यतिबेला देशको स्वधीनतामा खतरामा पुगेको बताउनुभयो । “देशलाई स्वाधीन बनाउन सबै राष्ट्रवादी र क्रान्तिकारी शक्ति एक ठाउँमा आउनुपर्दछ,” उहाँले भन्नुभयो, “अन्यथा मुलुक साम्राज्यवादीहरुको हातमा पुग्ने खतरा बढ्न सक्छ ।”

सिंहदरबार, सर्वोच्च अदालतलगायतका राष्ट्रिय सम्पति जलाउनेहरु जेनजी हुन नसक्ने भन्दै पोलिटब्यूरो सदस्य चन्दले मुलुकमा नेपाली विशेषताको समाजवाद स्थापना गर्न तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि युवाहरुलाई प्रशिक्षित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । यसका लागि नेपाली जनताबीच बीच बहस चलाउनुपर्ने उहाँको भनाई थियो ।

नेकपा एकीकृत समाजवादी पार्टीका सुर्खेत अध्यक्ष खडग केसीले असल नेताको खोजीमा भन्दा मालिक पुज्ने संस्कृतिका कारण मुलुकमा बेथिति बढ्दै गएको तर्क गर्नुभयो । संसद विगठन गरेर आसन्न फागुन २१ गते निर्वाचन तोकेपनि हुन नसक्ने उहाँले दावी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सुर्खेत पार्टी सचिव विष्णुप्रसाद शर्माले जेनजीहरुको आन्दोलनको नाममा साम्राज्यवादीहरुको षड्यन्त्र सफल भएको टिप्पणी गर्नुभयो । यो आन्दोलनका नाममा हिजो एजेन्टमार्फत काम गर्ने साम्राज्यवादीहरु आज प्रत्यक्ष छिरेर नेपाललाई आफ्नो क्याम्प छिराउन खोजेको उहाँको आरोप थियो ।

राप्रपाका सुर्खेत अध्यक्ष कविराम पुरीले मुलुक परेको संकट टार्न सबैको साझा सोच र चिन्तन आवश्यक भएको बताउनुभयो । आफूलाई अग्रगामी भन्ने शक्तिहरुले यसको अगुवाई गर्नुपर्ने उहाँको भनाई थियो । उक्त कार्यक्रमका सहभागीहरुले मुलुकको विकास, समृद्धि गर्न र राजनीतिक संकट हटाउन प्रत्यक्ष कार्यकारीसहित निर्वाचन प्रणाली एवं पूर्ण समानुपातिक प्रणाली आवश्यक भएको सुझाएका थिए ।

 

प्रतिकृया दिनुहोस्