

२४ असोज २०८२, शनिबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुधारका योजनासहित काममा लाग्न सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भाद्र २३ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजना सहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिनुभएको हो ।
“अब सुधारका कार्यलाई व्यवहारमा रुपान्तरण गर्नुहोस्,” उहाँले भन्नुभयो, “अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजताको अपेक्षा गरेका छन् । सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्छ ।” कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्ने र सो कुरा व्यवहारमा पनि पारदर्शिता देखिनुपर्ने भन्दै उहाँले बिगतका कमजोरीबाट पाठ सिकेर नयाँ सोच र कार्यशैलीमा गति दिनुपर्ने बताउनुभयो ।
सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुने स्पष्ट पार्दै वर्तमान संघ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवहरुले पहल गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो ।
“हामीले हिजोका कमजोरीबाट सुधारका उपाय खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाई संस्कृतिलाई अन्त्य गर्न गरी जनतामुखी प्रशासनिक सुधारमा जोड दिनुपर्दछ ।” बैठकमा मुख्यमन्त्री कँडेलले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न प्रमुख सचिवसहित प्रदेश सचिवहरुलाई निर्देशन दिनुभएको थियो ।