OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कुमारी ट्रष्टद्वारा रु.एक करोडको मेडिकल उपकरण सहयोग

अस्पताललाई पूर्वाधारयुक्त बनाउन मेडिकल सामग्री

कोरपाटी संवाददाताजेठ १०, २०७७सुर्खेत
१२६५ पटक

सुर्खेत, ९ जेठ २०७७, शुक्रबार : कुमारी ट्रष्ट काठमाडौंले कर्णाली प्रदेश अस्पताल सुर्खेतसहित यहाँका १० जिल्ला अस्पातललाई रु.एक करोडको मेडिकल उपकरण सहयोग गरेको छ ।

ट्रष्टका अध्यक्ष तथा पूर्व सभासद् राजीवविक्रम शाहले आज प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्कालाइ उक्त बजेट बराबरको मेडिकल उपकरण सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नोबेल कोराना भाइरस (कोभिड–१९) को महामारीको बेला पूर्वसभासद् शाहले गरेको सहयोग राज्यका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

“अप्ठ्यारो परेको बेलाको सहयोगले ठूलो महत्व र अर्थ राख्दछ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “अर्थपूर्ण सहयोग गर्नुभएको पूर्वसभासद् शाहलाई हार्दिक ज्ञापन गर्न चाहान्छु ।” कर्णालीका ८० हजार नागरिकहरु अहिले पनि भारत भएको र २०–२५ हजार यतिबेला नै आउन थालेको जनाउँदै उहाँले भारतबाट आउन सक्ने कोरोना संक्रमणको जोखिमबाट कर्णालीलाई बचाउन सबै एक भएर महामारीको सामना गर्ने अभियानमा जोडिन आग्रह गर्नुभयो ।

पूर्वसभासद् शाहले लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएका स्वर्गीय प्रभाकर राणाकी छोरी माया राणाले पिताको वार्षिक पूण्य तिथिमा समाज सेवामा खर्चिनेगरी ट्रष्टलाई आर्थिक सहयोग गरेको र त्यही स्रोतलाई कर्णालीका अस्पताल पूर्वाधारयुक्त बनाउने निर्णय बमोजिम सहयोग गरिएको जनाउनुभयो ।
“कर्णालीको विकट भूगोल र यहाँका नागरिकहरुको स्वास्थ्य अवस्थालाई गम्भीरताका साथ हेरेर अहिले प्रदेश अस्पताल सुर्खेतलाई रु.७० लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेका छौं,” उहाँले भन्नुभयो, “यहाँका १० जिल्ला अस्पतालहरुलाई रु.तीन÷तीन लाखका दरले रु.३० लाखगरी यो प्रदेशलाई कुल रु.एक करोडको मेडिकल उपकरण हस्तान्तरण गरिएको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैमा अब्बल भएकोले हाललाई केही सहयोग नभएको यद्यपि केही समयपछि एम्बुलेन्स सहयोग गर्ने उहाँको भनाई थियो । अन्य प्रदेश भन्दा कर्णाली प्रदेशले बन्दाबन्दीलाई कडाईका साथ लिएर निकै ठूलो संवेदनशीलता अपनाएको कुराले आफूलाई गौरवान्वित बनाएको सभासद् शाहले प्रतिक्रिया दिनुभयो ।

प्रदेश अस्पताल विकास समितिका सदस्य हरिमाया शर्मा (आशा) ले प्रदेश अस्पतालमा भएको अभाव पूर्ति गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो । मानव जातिको इतिहासमा अत्यन्तै चूनौतिपूर्ण बनेर आएको कोरोना संकट विरुद्ध जुध्न समग्र क्षेत्र एक हुनुको विकल्प नरहेको भन्दै सदस्य शर्माले प्रदेश अस्पताललाई केन्द्रमा राखेर विशेष सहयोग गर्ने ट्रष्टका अध्यक्ष शाहप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले ट्रष्टले प्रदेश अस्पताल सुर्खेतलाई एक भेन्टिलेटरसहित पाँच आईसियु बेड, ईसिजी मेसिन, प्यासेन्ट मनिटरलगायतका आवश्यक मेडिकल उपकरण प्राप्त भएको जनाउनुभयो । तीन सय शैयाको प्रदेश अस्पतालमा २० आईसियु र १० भेन्टिलेटर भएको जनाउँदै पोर्टेबल ईको–कार्डियाग्रामका लागि अध्यक्ष शाहले सहयोग गर्ने वचन दिनुभएको निर्देशक डा.खड्काले बताउनुभयो ।

ट्रष्टले हुम्लामा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयल), मुगुमा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर), डोल्पामा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर) र कालीकोटमा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, प्यासेन्ट बेड), दैलेखमा (डेलिभरी बेड, डेलिभरी भ्याकुम सेट) सहयोग गरेको छ ।

त्यस्तै, जाजरकोटमा (प्यासेन्ट बेड विथ म्याटे«स, प्यासेन्ट मनिटर, ईसिजी मेसिन, अक्सिजन कन्सनटेटर, प्यासेन्ट ट्रली नेपुलाईजर र डेलिभरी बेड), सल्यानमा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर) र रुकुमपश्चिममा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर) लगायत १६ प्रकारका मेडिकल उपकरण प्रदान गरेको छ ।

मेडिकल उपमकरण सहयोग कार्यक्रममा पूर्वसभासद् शाहले यहाँका समग्र पत्रकार र नेपाल प्रहरीलाई मास्क तथा स्यानिटाईजर पनि प्रदान गर्नुभयो । ट्रष्टद्वारा सहयोग गरिएका मेडिकल सामग्रीहरुको अवलोकन मुख्यमन्त्री शाहीसहित सामाजिक विकासमन्त्री दल रावल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी), नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले अवलोकन गनुभएको थियो ।

प्रतिकृया दिनुहोस्