
जुम्ला/ साउन १७ गते ।
गुठिचौर गाउँपलिकाका जुम्लाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएपछि उपाध्यक्ष भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो । गत असार १० गते निर्वाचन आयोग नेपालले अध्यक्ष बुढाको पदमुक्त गरेको थियो । तर बुढाले अध्यक्ष पद पुनः बहालीको माग राख्दै सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गर्नु भएको थियो । उक्त रिट अदालतबाट खारेज भएपछि उपाध्यक्ष भण्डारीले शुक्रबारदेखि कार्यवाहक अध्यक्षको जिम्मा पाउनु भएको हो ।
उत्प्रेषण मुद्दासम्बन्धी फैसला सुनाउँदै अदालतले रिट खारेज गरेकाले उपाध्यक्ष भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको हो ।
नेपाली कांग्रेसका तर्फबाट विसं.२०७९ को स्थानीय तह निर्वाचनमा गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बुढाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पार्टी नेपाली कांग्रेसले उहाँलाई पदबाट मुक्त गराउनका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही आधारमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम उहाँलाई पदबाट मुक्त गराएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै दलको तर्फबाट निर्वाचित उम्मेदवारले सो दल परित्याग गरेमा वा अर्को दलको सदस्यता लिएमा निजको पद स्वतः रिक्त हुनेछ भन्ने उल्लेख छ । पदभार ग्रहण गर्दै उहाँले निवर्तमान अध्यक्ष वुढाले अघि सारेका जनहितकारी एवं दूरदर्शी योजनाहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गुठीचौरलाई समृद्ध र नमुना पालिका बनाउने दायित्व हामी सबैको छ । समृद्ध गुठीचौर निर्माणको यो अभियानमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र आम गाउँपालिकावासीको पूर्ण साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।” भण्डारीको कार्यकाल अव स्थानीय तहको निर्वाचन २०८४ सम्म हुने छ ।
जुम्लामा एक नगरपालिका र सातवटा गाउँपालिका सहित आठ वटा स्थानीय तह छन्् । जसमा आर्ठ तहमा पुरुषले नेतृत्व गरिरहेको समयमा अन्तिम समयमा भने गुठिचौर गाउँपालिकाले कार्यवाहक अध्यक्ष भण्डारीको नेतृत्वको अवसर पाएको छ ।





