
२७ साउन २०८३, बुधबार
सुर्खेतः आफ्नै पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने एक पतिलाई ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले पक्राउ गरेको छ ।
भेरीगंगा नगरपालिका १३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उहाँका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बेलुका ५ः०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा छोरी १८ वर्षीय पुष्पा रानाले देखी आगो निभाएर तत्काल उपचारको लागि ६ः१५ बजेको समयमा कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याइएको थियो ।
अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा पुर्याइको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार महेश्वरीलाई थप उपचारका लागि मंगलबार नेपालगञ्ज रिफर गरिएको र त्यहाँ पनि संभव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रिफर गरिएको छ ।






