OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०७७सुर्खेत
१३२२ पटक

सुर्खेत, ८ जेठ २०७७ बिहीबार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित १६४ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको छ ।

यही जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठक कोरोना संक्रमणको जोखिमबाट बचाउने तयारीका साथ प्रदेश सरकार, प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीहरुको स्वाब संकलन गरिएको हो । जस अनुरुप प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारगरी १६४ को स्वाब संकलन गरिएको प्रमुख वाग्लेले जनाउनुभयो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वाब सङ्कलन गरिएका सबैको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिनेले उहाँले बताउनुभयो ।

यता प्रदेशसभा सचिव जीवराज बुढाथाकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिनुभयो । बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्यहरु मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने जनाउँदै सचिव बुढाथोकीले पत्रकार, मन्त्रालयका कर्मचारी र दर्शकहरुलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ । दर्शक दीर्घासम्मै माननीय बस्नेगरी सामाजिक दूरी कायम गरेर आसन ग्रहण गराउने व्यवस्थापनमा जुटेका छौँ ।” सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्