३० साउन २०८३, शनिबार
सुर्खेत/ अविरल बर्षापछिकाे पहिराेले भेरी नगरपालिका २ जाजरकोट रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सोही वडाको फारुला निवासी ५४ वर्षीय उमासिंह खत्री र चिसापानी निवासी ७० वर्षीय भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउसो ४ः०० बजेदेखि वर्षा सुरु भएपछि करिब ५ः०० बजेतिर पहिरो गएको थियो ।
उक्त पहिरोबाट छ जना घाईते भएका छन् । घाईते हुनेहरुमा वडा नं. २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं. १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनबीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।
शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटको सामान्य उपचारपछि थप उपचारका लागि उहाँलाई नेपालगञ्ज रिफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । घाईतेहरुको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुंगानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ ।
त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका ३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा माटोले बनेको कच्ची घर पूर्णरुपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पहिरोले पुरै बगाएको उहाँले बताउनुभयो ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।






