OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०७९सुर्खेत
३४६ पटक

२४ साउन २०७९, मंगलबार

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई रु.२० लाख बीमा रकम भुक्तानी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्थ्यो । उहाँ स्थानीय निर्वाचनमा हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा खटिनुभएको थियो । निर्वाचनको सिलसिलामा ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनिसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरुको लागि रु.२० लाखको दुर्घटना बीमा सम्झौता गरेको थियो । सोही अनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनी शाखा सुर्खेतले मंगलबार स्वर्गीय ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ड खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसे, राष्ट्रिय बीमा कम्पनी शाखा सुर्खेतका प्रमुख शिवराज बिसीको उपस्थितिमा स्व.ढकालको श्रीमती सुस्मा ढकाललाई रु.२० लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा दुर्घटनामा परेर ज्यान गुमाउनु भएका ढकाललको परिवारलाई राहत स्वरुप बीमा रकम हस्तान्तरण गरिएको कम्पनीका शाखा प्रमुख बिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “य घटना हाम्रो लागि अपुरणीय क्षति हो । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेर निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटना बीमा गरेका थियो । सम्झौता बमोजिम उहाँको परिवारलाई राहतस्वरुप बीमा रकम हस्तान्तरण गरेका छौँ ।”

रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाले असल राष्ट्रसेवक कर्मचारी गुमाएकोप्रति दुःख व्यक्त गर्दै बीमा रकमले परिवारको जीवन निर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट पनि स्वर्गीय ढकाललको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

नगरप्रमुख ढकालले भन्नुभयो, “यो अप्रिय घटनामा नगरपालिकाले एउटा होनहार सदस्य गुमायो । परिवारको पीडामा बीमा रकमले पनि मलमको काम गर्नेछ । नगरपालिकाले उहाँको सहज जीवनयापनका लागि थप केही सहयोग गर्नेछ ।”

प्रतिकृया दिनुहोस्