OnlinePana

आज : २०८३ साउन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०८३काठमाडौं
६ पटक

१६ साउन २०८३, शनिबार

सुर्खेतः कोदो बालीको संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा सम्वद्र्धन भन्ने मूल नाराका साथ ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ कर्णालीमा पनि भव्यताका साथ सम्पन्न गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विभिन्न साझेदार संघसंस्थाहरुको सहकार्यमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न दिवसका वक्ताहरुले कोदोप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइएको छ । उक्त अवसरमा मन्त्रालयका सचिव संजीवकुमार कर्णले हाम्रो मौलिक पहिचान र औषधीय गुण बोकेको कोदोलाई गरिबको खानाका रुपमा हेर्ने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोदो केवल गरिबले खाने खाना होइन, यो खाद्य तथा पोषण सुरक्षा सुरक्षित गर्ने महत्वपूर्ण बालीको हो । यसप्रति हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । बरु यसको संरक्षण अपरिहार्य छ ।” कर्णालीलाई प्राङ्गारिक प्रदेशका रुपमा विकास गर्ने सरकारको अभियानमा कोदो र रैथाने बालीको उत्पादन वृद्धिले ठूलो सहयोग पुर्याउने सचिव कर्णले जिकिर गर्नुभयो ।

मन्त्रालयका बाली विकास अधिकृत विमला कुमारी खनालले कोदोको उत्पत्ति, उत्पादन र उपभोगका बारेमा दिवसकै अवसरमा यसको प्रवद्र्धन, चुनौती र भावी कार्यदिशासम्बन्धी प्राविधिक सत्र तथा कार्यपत्र प्रस्तुतिकरण समेत गरिएको बताउनुभयो । कर्णालीमा रैथानेबाली कोदोको मौलिक पहिचान, व्यवसायिक विकास र उपभोग बढाउन कार्यक्रमबाट टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका स्टलहरुमा २० भन्दा बढी प्रकारका कोदोका स्वादिला र पौष्टिक परिकारहरु राखिएका थिए । स्टलमा कोदोको सेलरोटी, ढिँडो, मःम, केक र बिस्कुट लगायतका आधुनिक र परम्परागत परिकारहरू प्रदर्शन गरिएको थियो ।

कर्णाली प्रदेश अर्गानिक क्षेत्रका उद्यम गर्दै आएका उद्यमी कमल नेपालीले कोदोबाट करिब दुई दर्जनभन्दा बढी प्रकारका स्वादिष्ट परिकारहरू बनाउन सकिने बताउनुभयो । कोदोको व्यवसायिक विविधीकरण गरेर बजारमा लैजान सके युवाहरुका लागि स्वरोजगारको ठूलो अवसर सिर्जना हुने र कर्णालीको अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको भनाई थियो । प्रदर्शनीमा कोदोको परम्परागत ढिँडोदेखि आधुनिक केकलगायत विभिन्न परिकार बनाएर राखिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्