

जेठ ३१ गते । जुम्लाको दुर्गम गाउँ डुङ्ग्रीमा पाठ्यघरको स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ ।
डुङ्ग्री गाउँका महिलाहरुको पाठ्यघरको समस्या सामाधानका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँमै स्वास्थ्य शिविर संचालन गरेको हो ।
तिला गाउँपालिकाको ५ स्थित डुङ््रग्री गाउँमा ४६ घरधुरी छन् । कर्णाली राजमार्गबाट झण्डै ३ घण्टाको उकालो काटेर त्यहाँ पुगिन्छ । स्वास्थ्यचौकी पनि कुडारीमा हुदा सामान्य परीक्षण गर्न दिनभर समय लिएर आउनुपर्छ तर पाठ्यघरका समस्या भएका महिलाहरु हिड्न कठिन भएकाले उपचारबाट बञ्चित रहदै आएका थिए ।
सो गाउँमा धेरै महिलाहरुको पाठ्यघरको स्वास्थ्य समस्या देखिएपछि शिविरको माग गरिएको थियो । सो माग अनुसार गाउँमै स्वास्थ्य शिविर गरेर परीक्षण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार सो ठाउँमा धेरै महिलाहरुमा पाठ्यघरको समस्या छ भनेर समाचारमा आएपछि शिविर राखिएको हो ।
उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल अधिकृत डाक्टर तिब्विन कुमार शिवाकोटी सहित स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी सहितको टोली त्यहाँ पुगेर एक दिने पाठ्यघरको मुखको क्यान्सर, अब्सटेटिक फिष्टुलाको स्क्रिनिङ तथा आयूसिडि ईम्प्लान्ट शिविर साथै नर्सिङ कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छौ्र । सो शिविरमा ७३ जना महिलाहरुको पाठ्यघर सम्वन्धी समस्याको बिषयमा परीक्षण गरिएको छ । ३ जना ढिमकोट गाउँका महिलाहरुले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरेका थिए ।
२६ को समस्या :
शिविरमा २६ जना महिलाहरुको पाठ्यघरको समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ । मातृशिसु संयोजक शाहीका अनुसार ६ जनाको पाठ्यघरमा रिङ्ग राखिएको छ । यसैगरी २३ जनालाई आवश्यक औषधी परामर्श गरेर पठाईएको छ । शिविर मार्फत लिईएको औषधीले उहाँहरुको स्वास्थ्य सुधार हुनेछ । यस्तै धेरै समस्या भएका महिलाहरुलाई फलोअफ गरेर स्वास्थ्य सुधार्न सहयोग गरिनेछ ।
डाक्टर सिवाकाेटीका अनुसार महिलाहरुको पाठ्यघरको समस्या त भयो नै त्यसामा पनि पेट दुख्ने ढाड दुख्ने, कसैकोमा रगत बग्ने समस्याहरु रहेका बताउनुभयो । उहाँले शिविरको परीक्षण र स्क्रिनिङले धेरै महिलाको पाठ्यघरको मुख क्यान्सरबाट जोगिने सहयोग गरेकोमा जोड दिनुभयो ।
गाउँमै शिविर हुदा स्थानीयहरु खुशी भएका छन् । स्थानीय ५० बर्षिय गोईली रावतले स्वास्थ्यकर्मीको टोली आएर गाउँमै शिविर गरि हाम्रा समस्या बुझेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो । वडा नम्बर ५ का पूर्ववडाध्यक्ष कालीबहादुर बुढाले दुर्गम गाउँमा स्वास्थ्यसेवा लिएर स्वास्थ्यकर्मीको टोली गाउँ पुगेकोमा धन्यवाद दिदै भरपुर सेवा लिन अनुरोध गर्नुभयो ।
२ बर्ष अगाडि सामाजिक विकास कार्यालयले छाउपडि जनचेतना बिषयमा कार्यक्रम लिएर त्यहाँ पुग्दा महिलाहरुमा पाठ्यघरको समस्या भएको सुझाव दिएका थियो । सो सवाल संचार माध्याम मार्फत आएपछि जिल्ला स्वास्थ्यसेवा कार्यालयले शिविरै त्यहाँ लिएर सामाजिक सेवा दिएकोमा धेरै महिलाहरुको जीवन सहज हुने भएको पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बताउनुभयो । उपाध्यक्ष शाहीले जनस्वास्थ्यले पछिल्लो समयमा गाउँ केन्द्रीत शिविर गरेर सेवा दिएकोमा सकारात्मक रहेको बताउनुभयो । उहाँका अनुसार सो गाउँका २ जनाले पाठ्यघरको सल्यक्रिया यस अघि गरिसकेका छन् ।