२७ फागुन २०७८, शुक्रबार
एजेन्सीः किभ — युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्यता नलिने घोषणा गरेका छन् । नेटोको सदस्यता लिने जेलेन्स्कीको तयारीपछि रुष्ट रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेको थियो । करिब दुई साता लामो युद्धका क्रममा ठूलो धनजनको क्षति भएको छ ।
रुसी आक्रमणका कारण सयौं सर्वसाधारण र सैनिकको ज्यान गएको छ भने २२ लाखभन्दा बढी युक्रेनीले देश छाडेका संयुक्त राष्ट्रसंघले जनाएको छ । १४ दिनदेखि जारी आक्रमणका क्रममा रुसले युक्रेनको खर्किभ सहरमाथि पूर्ण नियन्त्रण कायम गरिसकेको छ भने अन्य प्रमुख सहरमा आक्रमण तीव्र पारेको छ । पछिल्ला दिनमा रुसले युक्रेनको राजधानी किभसँगै मरिउपोल, भोल्नोभाख, ओडेसा लगायतका सहरलाई लक्ष्य गर्दै बमबारी गर्दै आएको छ ।
देशको स्थिति थप बिग्रँदै गएपछि युक्रेनका राष्ट्रपति जेलेन्स्की आफ्नो अडान त्याग्न बाध्य भएका हुन् । त्यसमाथि रुसले युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई निकाल्नका लागि बुधबार १२ घण्टाका लागि संघर्षविराम गरेपछि जेलेन्स्की थप झस्केका छन् ।
राजधानी किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागमा अस्थायी युद्धविराम गरेको रुसले आक्रमण कडा पार्ने लगभग निश्चित देखिएको छ । जसका कारण जेलेन्स्कीले रुसलाई शान्त पार्नका नेटो सदस्यता नलिने घोषणा गरेको ठानिएको छ । ‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्न, जो घुँडा टेकेर केही मागिरहेको होस्,’ नेटोलाई लक्ष्य गर्दै जेलेन्स्कीले भनेका छन् ।
रुसले आक्रमण थालेसँगै पश्चिमा देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । तर पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन टसमस भएका छैनन् । उनले आफ्नो सेनाले लक्ष्य प्राप्ति गरेरै छाड्ने र त्यसका लागि रुसी सेना सफल हुने बताउँदै आएका छन् ।
पुटिनले बारम्बार ‘आफ्नो देशको स्वार्थ र सुरक्षाका विषयमा कसैसँग कुनै पनि सम्झौता नहुने’ बताउँदै आएका कारण पनि जेलेन्स्की लचिलो हुन बाध्य भएका हुन् । पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्सकलाई फेब्रुअरी २४ मा रुसले स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘रुसी अतिक्रमण सुरु भएको’ बताएका थिए । त्यसलगत्तै राष्ट्रपति पुटिनले ‘रुस प्रत्यक्ष र इमानदार वार्ताका लागि सधैं तयार रहेको तर रुसको सुरक्षाका मामिलामा पछि नहट्ने’ कडा प्रतिक्रिया दिएका थिए ।
त्यस्तै, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार गरेको टेलिफोन वार्तामा पनि पुटिनले ‘युक्रेनले आक्रमण रोकेर रुसका माग पूरा गरेको खण्डमा मात्र सैन्य कारबाही अन्त्य हुने’ प्रस्ट पारेका थिए । जेलेन्स्कीले पुटिनसँग सीधा वार्ताका लागि समेत आग्रह गरेका थिए । तर उनको आग्रहलाई पुटिनले सीधै लत्याइदिए ।
विगतमा राष्ट्रपति जेलेन्स्कीले ‘युक्रेन कसैसँग नडराउने र कसैलाई केही नदिने’ बताएका थिए । दोनेत्स्क र लुहान्सकलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने रुसी घोषणाले युक्रेनको सार्वभौमिकता र अखण्डतालाई चुनौती दिएको उनको भनाइ थियो । तर उनी ती क्षेत्रको स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार देखिएका छन् ।
रुस कुनै पनि हालतमा पछि नहट्ने संकेत पाएपछि जेलेन्स्कीले मध्यमार्गी बाटो अपनाएका कतिपयको अनुमान छ । रुसले आफ्नो देशमा आक्रमण थालेपछि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले रुसविरुद्ध रक्षात्मक कारबाही सुरु गर्ने जेलेन्स्कीले विश्वास लिएका थिए । तर त्यो असम्भव थियो ।
पश्चिमा देशले युक्रेनलाई केही हातहतियार तथा सैन्य सामग्री सहयोग गरेका भए पनि त्यो शक्तिशाली रुससँग लड्नका निकै कम थियो । त्यस्तै, रुसी आक्रमणपछि अमेरिका, बेलायत तथा युरोपेली संघले रुसलाई लक्ष्य गर्दै आर्थिक प्रतिबन्धहरू घोषणा गरे ।
ती प्रतिबन्धका कारण रुसी राष्ट्रपति पुटिन ‘वार्तामा बस्ने र आफ्ना मागप्रति लचिलो हुने’ उनीहरूको आकलन थियो । तर रुसले ती सबै कदमको बेवास्ता गर्दै ‘युरोपमा तेल तथा प्राकृतिक ग्यास आपूर्ति बन्द गरिदिने’ चेतावनी दिइसकेको छ । जसका कारण पुटिन ‘नाटोमा युक्रेनको संलग्नताबारे प्रस्ट रहेका र त्यसलाई रोक्नु जुनसुकै हदसम्म पुग्न सक्नेमा’ जेलेन्स्की प्रस्ट भए ।
खासगरी ‘राजनीतिका कच्चा खेलाडी’ जेलेन्स्कीले ‘भूराजनीतिक पक्ष, रुसको सुरक्षा चासो र पुटिनको कुटिलतालाई बुझ्न सकेनन् ।’ जसका कारण जेलेन्स्की पुटिनलाई फकाउने बाटोमा देखिएका छन् ।