

१९ माघ २०८१, शनिबार
न्यूयोर्क : इजरायलदेखि इरान हुँदै रूससम्म युद्धले नोक्सानी भइरहेका वेला सन् २०२४ मा अमेरिकालाई भने सर्वाधिक फाइदा भएको छ।
अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा हालै जारी गरिएको विश्व सुरक्षा कारोबारको प्रतिवेदनअनुसार सन् २०२४ मा अमेरिकाले ४४१ खर्ब १२ अर्ब (४ निल ४१ खर्ब १२ अर्ब) नेपाली रुपैयाँको हतियार र रक्षा सम्झौता गरेको छ।
उक्त कारोबार सन् २०२३ को अनुपातमा २९ प्रतिशतले अधिक हो।
सन् २०२४ मा भएका रक्षा कारोबारमा अमेरिकी कम्पनीले २१९ खर्ब २० अर्ब (२ निल १९ खर्ब २० अर्ब) रुपैयाँको हतियार बेचे। उक्त व्यापार सन् २०२३ मा २१८ खर्ब ८ अर्ब रुपैयाँ थियो। सन् २०२४ मा अमेरिकी सरकारले अरू देशका सरकारसँग गरेका कारोबारको मूल्य १६३ खर्ब २० अर्ब रह्यो। यो अघिल्लो वर्ष भएका ११२ खर्ब रुपैयाँको सुरक्षा कारोबारको तुलनामा ४५.७% बढी हो।
अमेरिकी सरकार र अन्य देशका सरकारहरूबीच भएका १६३ खर्ब २० अर्ब रुपैयाँको सुरक्षा कारोबारमा १३४ खर्ब ८ अर्ब रुपैयाँको हतियार विक्री, मित्र देशलाई हतियार किन्न १६ खर्ब ३२ अर्ब रुपैयाँको आर्थिक सहयोग र साझेदार देशको रक्षा क्षमता बढाउन १ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ पनि संलग्न छ।
अमेरिकाले सन् २०२४ मा सर्वाधिक हतियार बेचेका १० देश
सरकारले सीधै सरकारसँग गरेको सुरक्षा कारोबार
तुर्किये : १९ खर्ब ९० अर्बको एफ-१६ लडाकु जेट
इजरायल : १६ खर्ब २० अर्बको एफ-१५ लडाकु जेट
रोमानिया : ६ खर्ब २० अर्बको एफ-३५ लडाकु र २ खर्ब १० अर्बको एम१ए२ अब्राहम ट्यांक
जर्मनी : ४ खर्ब ३० अर्बको आधुनिक प्याट्रियट एयर डिफेन्स मिसाइल
जापान : ३ खर्ब ४० अर्ब को केसी-४६ ए आकाशमै इन्धन भर्ने विमान र २ खर्बको टमहक विपन सिस्टम
भारत : ३ खर्ब ४० अर्बको एम-९बी स्काई गार्जियन ड्रोन
दक्षिण कोरिया: ३ खर्बको अपाचे लडाकु हेलिकाप्टर
स्पेन : २ खर्ब ४० अर्बको आधुनिक प्याट्रियट एयर डिफेन्स सिस्टम
साउदी अरब : २ खर्ब १० अर्बको सिस्टम लजिस्टिक सपोर्ट
बहराइन : १ खर्ब ९० अर्ब ४० करोडको एम१ए२ अब्राहम ट्यांक
अमेरिकी स्टेट डिपार्टमेन्टले हतियारको कारोबार गर्दा आफ्नो परराष्ट्र नीतिलाई महत्त्व दिने बताएको छ।