OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २८, २०७८
८९३ पटक

२८ मंसिर २०७८, मंगलबार

यातायात व्यवसायीहरुले मनोमानी भाडा लिएको भन्दै विवेकशील साझा पार्टीले जिल्ला प्रशासन सुर्खेतको ध्यानाकर्षण गराएको छ ।

तोकिएको दर भन्दा यातायात व्यवसायीहरुले बढी भाडा लिँदा पनि जिल्ला प्रशासनलगायतका सम्बन्धित निकायहरुले नियमन तथा अनुगमन गर्ने काम नगरेको भन्दै साझा पार्टीले आज जिल्ला प्रशासन कार्यालय सुर्खेतको ध्यानाकर्षण गराएको हो । काठमाडौंका ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई भाडामा छुट हुँदा पनि कर्णालीमा नभएको मुद्दा लिएर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य गेहेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

“सिट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्दा पनि कुनै अनुगमन छैन,” सचिवालय सदस्य दाहालले भन्नुभयो, “अर्कोतिर अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र महिलाको सिट पनि छुट्याइएको पाइदैन ।” साझा पार्टीका केन्द्रीय सदस्य सुशील देवकोटाले व्यवसायीहरुको मनोमानीले नागरिकले भोग्नु परेको समस्यमा विषयमा तत्काल अनुगमन गर्न प्रशासन सुर्खेतलाई आग्रह गरिएको बताउनुभयो ।

राज्यले नागरिकलाई दिएको सेवा सुविधा कटौती गर्ने जो कोहीलाई अनुगमन गरी नियम विपरित काम गरेको देखिए सम्बन्धित निकायले कारवाही गर्नुपर्ने केन्द्रीय सदस्य देवकोटाको भनाई थियो । यता प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यातायात क्षेत्रमा देखिएका समस्याले नागरिकमा परेको प्रभावलाई केन्द्रमा राखेर तत्काल अनुगमन गरिने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्