OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ११, २०७८काठमाडौं
१२१८ पटक

 

११ कात्तिक, काठमाडौं । तिहारको पूर्वसन्ध्यामा पाटन दरबार क्षेत्र गुलजार बनेको छ । किनमेल गर्ने र घुम्नेहरूको घुइँचो बजार क्षेत्रमा देख्न सकिन्छ । यहीबेला पाटन दरबारबाट १० मिनेट पूर्वतिर रहेको संस्कृतिविद् सत्यमोहन जोशीको घरमा भने कर्णाली–संस्कृतिको चर्चा चलिरहेको थियो ।

जोशीकै आँगनबाट बिहीबार ५० वर्षअघि प्रकाशित भएको ‘कर्णाली लोक संस्कृति’को पुनः प्रकाशन र विमोचन गरियो । सोही अवसरमा हिजोको कर्णाली सभ्यता र आजको कर्णालीमाथि शताब्दी पुरुषलाई नै साक्षी राखेर हुम्लाका सांसद छक्कबहादुर लामा, साहित्यकार महेशविक्रम शाह र मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले विमर्श गरे ।

 

बिहारीकृष्ण यस्ता मानवशास्त्री हुन् जसले युवा अवस्थामा नै कर्णाली क्षेत्रको जनजीवनको अध्ययन गर्न पाए । ऐतिहासिक ग्रन्थ कर्णाली लोक संस्कृतिको पाँच भागमध्ये तेस्रो ‘जनजीवन’ नामक पुस्तक प्रकाशन गरी मदन पुरस्कार प्राप्त गरे ।

कर्णालीको जनजीवनको अध्ययन गरी पुस्तक प्रकाशन भएपछि आफ्नो जीवन नै परिवर्तन भएको स्मरण गर्दै बिहारिकृष्णले भने, ‘यसै पुस्तकको जगमा टेकेर मानवशास्त्र र संस्कृतिको क्षेत्रमा काम गर्ने दर्जनौं अवसर पाएँ । स्वदेश र संस्कृति चिन्न पाएँ ।’

समाजमा आफ्नो परिचय स्थापित गर्ने कामसमेत ‘कर्णाली लोक संस्कृति’ ग्रन्थले गरेको स्मरण गर्दै बिहारीकृष्णले उक्त अवसरका लागि सत्यमोहन जोशीलाई पुनः एकपटक आभार व्यक्त गरे ।

‘कर्णालीबाट संस्कृतिमात्र होइन उपभोक्ता समूह बनाएर सामूहिक प्रयत्नबाट विकासका काम गर्न सकिन्छ भन्ने पनि थाहा भयो । त्यो कुरालाई टिपेर नेपालमा उपभोक्ता समूहको अवधारणा ल्याइएको हो’, बिहारीकृष्णले भने ।

हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले कर्णाली लोक संस्कृतिले गर्दा समग्र देशले कर्णाली चिन्न पाएको बताए । ‘सभ्यता संस्कारको रुपमा समाजमा नै लुकेर बसेको हुन्छ’ छक्कबहादुरले भने, ‘ त्यो संस्कृति आफैं बोल्छ तर अरुले थाहा पाउन विद्वानहरूले लेखेपछि वा बताएपछि मात्र सम्भव छ । यो ग्रन्थ यही कारण महत्त्वपूर्ण छ ।’

पुरानो र नयाँ पुस्तकको कभर भएको फोटो। तस्वीर स्रोत: हिमाल

छक्कबहादुरले ऐतिहािसक ग्रन्थ पुनःप्रकाशन हुनु निकै फलदायी रहेको भन्दै कर्णालीलाई अझै खोतल्न बाँकी रहेको जोड गरे । उनले भने, ‘कर्णाली आफैंमा अनौठो ठाउँ हो जो संस्कृति र इतिहासको पत्रपत्र जोडिएर खडा छ । त्यो पत्र केलाउन नयाँ पुस्तक तत्पर हुनुपर्छ ।’

यता, साहित्यकार महेशविक्रम शाहले कर्णालीका सुदूर बस्तीमा अझै पनि प्राचीन संस्कारको अभ्यास जारी रहेको उल्लेख गरे । शाह केही वर्षअघि कर्णाली प्रदेशको प्रहरी प्रमुख समेत भएर त्यस क्षेत्रमा खटिएका थिए ।

‘धेरैपटक कर्णाली क्षेत्रको भ्रमण गर्ने अवसर पाएको हुनाले त्यस क्षेत्रमाथि मेरो गहिरो रुची छ’ शाहले भने, ‘तर कर्णाली संस्कृतिबारे जान्ने मानिस त्यस क्षेत्रमा नपाइनु बिडम्बना हो । जान्ने मानिसहरू काठमाडौंकेन्द्रीत हुँदा अनुसन्धान फितलो देखिन्छ ।’

आयोजक ‘सोशल सायन्स बहाः’ का अध्यक्ष निर्मलमान तुलाधरले कर्णाली लोक संस्कृतिको प्रकाशन हुँदा आफू २४ वर्ष रहेको स्मरण गर्दै समयक्रममा यो ग्रन्थ कर्णाली चिनाउने आधारस्तम्भ बनेको बताए । उनले ऐतिहासिक ग्रन्थ पुनःप्रकाशन गर्न पाउनु सुखद अवसर रहेको बताउँदै यसका अग्रणी सत्यमोहन जोशीप्रति आभार व्यक्त गरे ।

यस्तै आफ्नै घरको आँगनमा भएको विमोचन कार्यक्रममा उपस्थिति सत्यमोहन जोशी निकै प्रशन्न देखिन्थे । जोशी नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुँदा उनकै पहलमा पाँचजना अनुसन्धानकर्ताहरू कर्णालीको लोक साहित्य अध्ययन गर्न ५० दिन कर्णाली क्षेत्र गएका थिए ।

पाँचजना अनुसन्धानकर्ताले जुम्लाको सिँजाखोला उपत्यकामा ५० दिन बसेर त्यहाँको समाज, भूगोल, भाषा र संस्कृतिको अध्ययन गरेका थिए । पाँच पुस्तकका लागि पाँचैजना लेखकले २०२८ सालको मदन पुरस्कार प्राप्त गरे ।

जोशीले पुस्तक पुनःप्रकाशनको जिम्मा लिने सोशल सायन्स बहाः र हिमाल किताबलाई धन्यवाद दिए । कर्णाली लोक संस्कृति २०२८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक प्रकाशित भएको थियो । पाँचवटै पुस्तकलाई एकै सेटको आकार दिइ प्रकाशन गरिएको ग्रन्थको मूल्य १५ सय ५० रुपैयाँ रहेको छ ।

पुस्तक : कर्णाली लोक संस्कृति
खण्ड १ – इतिहास : सत्यमोहन जोशी
खण्ड २ – भूगोल : स्थिर जंगबहादुर सिंह
खण्ड ३ – जनजीवन : बिहारीकृष्ण श्रेष्ठ
खण्ड ४ – भाषा : चूडामणि बन्धु
खण्ड ५ – साहित्य संगीत कला : प्रदिप नेपाल

 

प्रतिकृया दिनुहोस्