१४ असार २०७८, सोमबार
नौमुले गाउपालिका–३ दैलेख गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । १९ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले विवाहपछि लगातार चार सन्तान जन्माउनुभयो । श्रीमानको मायाका कारण उहाँले दुःखमा पनि खुशी देख्नु भएको थियो ।
छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी हौसलामय हुन्छ भन्ने सोच्नुभएका उहाँको जीवन सोचे जस्तो भएन । ३० वर्षकै हुँदा उहाँको खुसी दैवले लुट्यो । श्रीमानको मृत्यु भयो । जवानी अवस्थामै पीडाको भारी बोकेर एक छाक खाएर भए पनि छोराछोरी हुर्काउनुभयो ।
भर्खरैको उमेर पति विछोडिदा पनि छोराछोरीको मायाले उहाँले अर्को विवाह गर्नु भएन् । विसं.२०५६ सालमा छोरा अमरबहादुर रोकायाको विवाह गरिदिनुभयो । उनीहरुबाट एक नातिनीको जन्म भयो । उहाँले यो अवसरलाई जीवनको ठूलो खुशीका रुपमा लिनुभयो । त्यो समयमा माओवादी ‘जनबिद्रोह’ उत्कर्षमा थियो ।
गाउँका तरुण तरुणीहरु माओवादीमा गएको खबर आइरहन्थ्यो । नन्दकलालाई छोरालाई माओवादी बनाई दिने हुन् कि भन्ने डर लाग्न थाल्यो । माओवादीले लिन नपाओस् भनेर उहाँले अमरबहादुरलाई दैलेख जिल्ला सदरमुकाम पठाउनुभयो । एक महिना जिल्ला सदरमुकाम बसेर अमर घर फर्किए ।
घरमा आएको मौका पारी अमरबहादुरलाई तत्कालीन माओवादीले अपहरण गरे । उहाँको बुहारी दुई महिनाको सुत्केरी हुनुहुन्थ्यो । ‘म घरको भुइँ तलामा सुतेको थिएँ । छोराबुहारी माथिल्लो तलामा सुत्थे । अकस्मात, राति आएर माओवादीले छोरालाई लिएर गएछन्, उहाँले भन्नुभयो, ।
छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु.आठ हजारमा गोरु बेच्नु भयो । अमरको अवस्थाबारे उहाँले गाउँका जान्ने बुझ्ने सबैलाई सोध्नुभयो । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाउनुभयो । छोरा आउने आशमा रहेकी नन्दकली धेरै दिन भोकै बस्नुभयो् ।
छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गर्नुभयो । दुर्भाग्यः उहाँको मनको पीडा न देवीदेवताले बुझे नत अन्य जान्ने बुझ्नेले नै । त्यो समयमा राज्य र माओवादी पक्षका अगाडि कसैको केही चल्दैनथ्यो । पछि माओवादीले अपहरण भएको एक महिनापछि साबिकको रानीवन गाविसमा २०५९ मा अमरबहादुरको हत्या गरेका खबर आयो ।
एकपछि अर्को पीडा खेप्दै जानुभएको नन्दकलीलाई बिरहको जिन्दगी जिउनुको अर्काे विकल्प थिएन । छोराको हत्यापछि बुहारीले अर्को विवाह गरिन् । नातिनीलाई हुर्काउने जिम्मा पनि उहाँमाथि नै आइलाग्यो । भाग्यवशः अहिले तिनै नातिनी पीडित रोकायाको बुढेसकालको सहारा बनेकी छन् ।
तत्कालीन समयमा द्धारी, बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उहाँलाई मरेको छोरा सझिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत अर्कैको घरमा पुगेर बुहारीले आधा लगेर गएको नन्दकलीले दुखेसो व्यक्त गर्नुभयो ।
अचेल उहाँलाई खाना लाउन झनै ठूलो समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । मुटु दुख्ने, मधुमेहसमेतको रोग गाँजेको उहाँलाई । पैसा नहुँदा उपचार गर्न नसकेकोले रोग पालेर बस्न बाध्य हुनुपरेको उहाँले दुखेसो पोख्नुभयो ।
त्यही गुमेको छोराको सम्झनाले उहाँलाई बढी सताउने गरेको छ । वनमा न्याउली चरी कराउँदा पनि उहाँलाई छोराकै याद आउँछ । ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु,’ उहाँले भन्न्भयो ।
जीवनमा दुःखै दुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरु नारीले पिडा भोग्नु नपरोस् ।’ आउने सन्ततिहरुले हाम्रा जस्ता वेदना सहेर बस्ने बाध्यता आई नलागोस् । सबै दाजुभाई मिलेर बसुन् । समाज अशान्त नबनोस् । हामी मिले हाम्रै लागि हित हुन्छ भन्ने बुझोस् ।
यस्तो पीडा सहेर बाँचेकी नन्दकली रोकाया एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । आज आफ्ना सन्तान गुमाएका हजारौं आमाहरु नन्दकलीको जस्तै दुःख भोगिरहनु भएको छ । थुप्रै नेपाली आमाका बीर सपूतहरुले बगाएको रगतबाट स्थापित नयाँ व्यवस्थाले दर्दनाक पीडा भोगिरहेका आमाहरुको घाउमा मलम लगाउन सकेको छैन ।
राज्यभित्र रहेर कठिन जीवन जिईरहेका नागरिकहरुको दुःख भन्दा सत्ता र शक्तिको खेतपातीमा लागेका नेताहरुले सरकार सञ्चालनका नाममा हाम्रो करमाथि रजाई गरिरहेका छन् । सर्वसाधरण नागरिक दिएको करबाट पालिएकाहरुले सर्वसाधारण नागरिकहरुलाई शोषण गरिरहेका छन् ।
सरकारमा बस्नेहरु जनताको भोको पेट, विपद्को बज्र प्रहारले थलिएका नागरिकहरुलाई बचाउने भन्दा शक्ति हत्याउने खेलमा लागिरहेको छन् । धूर्त राजनीतिकको दूनो सोझ्याउँदै नागरिकको चोटमाथि भोटको क्याल्कुलेटर चलाईरहेको देख्दा नन्दकली जस्तै धेरैलाई उदेक लागेर आउने गर्दछ ।