OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७६सुर्खेत
३०५ पटक

सुर्खेत, ४ साउन ः जन्मदिन भन्ने बित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने शौखिन साधन बनेको छ । जसबाट प्रौढ, युवा, किशोरदेखि बालबालिकासम्म अछुतो छैनन् । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मष्तिष्कमा निकै गहिरो छाप बनेको बसेको छ ।
‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिकाहरु त घरमा हजुर बुबा, हजुर आमा, आमा बाबा, काका काकी, मामा माईजु, दाई दिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्तको जन्मेको दिन सम्झाउन थालेका छन् । जन्मिएकाले जन्माउनेको जन्मदिन सम्झाउने कुरा पनि सामान्य भईसकेको छ । अँझ उल्टै उनीहरुले …औं जन्मदिनको ‘ह्याप्पी वर्थ डे’ लेखेको ‘केक’ किनेर मञ्च सजाई हाल्छन् ।
‘केक’ सँग नेतादेखि कार्यकर्ता, ज्येष्ठ नागरिकदेखि बालबालिकाको गाढा नाता बसिसकेको छ । यो त एक प्रकारको फेसनयुक्त संस्कृति बनिसकेको छ । ‘केक’ संस्कृतिले आजभोलि नेपाली परम्परागत र मौलिकता उत्सवमाथि आक्रमण गरिरहेको छ । तर यसलाई हामी निकै गर्वको संस्कृतिका मानेर रातादिन पछ्याईरहेका छौं ।
हुँदा हुँदा बिहेबारी, भोजभतेर, जन्मदिन, आमा बाबुको मुख हेर्ने दिन, परीक्षामा पास हुँदा, सभा एवं वार्षिकोत्सव कार्यक्रमको उद्घाटनको अवसर तथा साँस्कृतिक उत्सव दिनानुदिन ‘केक’मय बन्न थालेका छन् । खुशीको साधनका रुपमा प्रयोग गरिने ‘केक’ संस्कृति नेपाली मौलिक संस्कृतिको विस्थापित रुप मात्र होइन, यो मानव स्वास्थ्यमाथिको अप्रत्यक्ष खेलवाड पनि हो ।
तर यसले पारेको साँस्कृतिक, सामाजिक, आर्थिक, शारीरिक प्रभावबारे सुक्ष्म त के सतही अध्ययनसमेत धेरैले गरेको पनि पाईदैन । डा.अरुणा उप्रेतीका अनुसार नेपालमा बन्ने धेरै ‘केक’ हरु अस्वस्थकर छन् । मैदा, चिनी, वनस्पति घ्यू, क्रिमजस्ता चीजबाट बनाईएका ‘केक’ मा शून्य पोषण हुन्छ । अर्कोतर्फ मधुमेह र मोटोपन रोग लागेकाहरुका निम्ति त यो विषपान गर्नु झैं हो ।
डा.उप्रेतीले ‘केक’सँगै नेपाली संस्कृति काटिन थालेको भन्दै एकसाता अघि मात्र आफ्नो लेखमार्फत चिन्ता व्यक्त गर्नुभएको थियो । जन्मदिनमा मैनबत्ती निभाएर जीवन अँध्यारो बनाउने संस्कृति नभई नेपाली पहिचान र मौलिकपनको संस्कृति जगेर्ना गर्न उहाँको लेखबाटै सन्देश प्रवाह गरिएको छ ।
यद्यपि केक र त्यसलाई खाने कुरा मात्र खुशी ठान्नेका लागि भने मध्यपश्चिम नेपालका एक जना जनप्रतिनिधि गतिलो प्रहार गर्नुभएको छ । सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफ्नो ३८ औं जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाउनुभएको छ । जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका निम्ति अधिकतम् मननीय छ ।
अध्यक्ष शाहीले शुक्रबार चौकुने गाउँपालिकाको सान्नेघारी माध्यमिक विद्यालय गुटुका १५ टुहुरा (अनाथ) बालबालिकासँग खुशी साटेर जन्म दिवस मनाउनुभयो । जन्म दिवसको अवसरमा उहाँले अनाथ सबै बालबालिकालाई एकसरो कपडा र शैक्षिक सामग्री प्रदान गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो खुशी केकसँग होइन, तिनै अनाथ बालबालिकासँग जीवन नैतिकता र जीवन दर्शनका कुरा गरेर साटें ।”
भागदौडपूर्ण जीन्दगीमा एक मुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भएपनि टुहुरा बालबालिका सँगै रहेर जन्मदिवस मनाउँन पाउँदा मन हर्षित भएको उहाँले राससलाई बताउनुभयो । जन्म दिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति गुटुका अनाथ बालबालिकासँग जन्म दिवस मनाईएको उहाँको भनाई थियो ।
विश्वव्यापी भूमण्डलीकरणले नेपाल भित्रिएका विभिन्न संस्कृति मध्येको ‘केक’ संस्कृति अनुत्पादक रहेको उहाँको धारणा छ । “जन्मदिनमा केक काट्ने संस्कृति प्रथमत ः नेपाली हुँदै होइन,” अध्यक्ष शाहीले भन्नुभयो, “जसलाई हामीले व्यवसायिक संस्कृति बनाएर आफ्नो ठेट संस्कृतिमाथि प्रहार गरिरहेका छौं । यो हाम्रो चेतना अभावको पराकाष्ठा हो ।”
कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले पाषणवेदको पातमा खीर राखेर ताजा सेल रोटीसँग अचार मिलाएर खाने र दिर्घायूको कामना गर्ने मौलिक संस्कृति कायम राख्न नसक्नु हाम्रै कमजोरी भएको तर्क गर्नुभयो । “विविधतायुक्त जाति, भाषा र संस्कृतिमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्र समृद्ध छ,” आचार्यले भन्नुभयो, “यसलाई विश्वव्यापीकरण गर्न सकेका छैनौं ।”
रासससँग कुरा गर्दै तिला गाउँपालिका ४ जुम्ला निवासी ८१ वर्षीय स्थानीय रणबहादुर शाहीले पौरखमा जीवन जीउन नसक्नेसँग साहस र स्वाभिमान दुवै नहुने प्रतिक्रिया दिनुभयो । “हाम्रा विभिन्न उत्सव, चाडपर्व, अवसरसँग आफ्नै मौलिक खुशी छन्,” शाहीले भन्नुभयो, “लाजमर्दो कुरो, खुशी पनि आयात गर्दछौं । जसले हाम्रो अस्तित्व र पहिचानमाथि नै प्रश्न गरेको छ ।”

प्रतिकृया दिनुहोस्