OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०७६दैलेख
३९२ पटक

१६ असार, दैलेख । पेट्रोलियम पदार्थको सम्भावना रहेको दैलेखको पञ्चकोशी क्षेत्रको श्रीस्थान र नाभिस्थानमा आजबाट पेट्रोलियम पदार्थ अन्वेषण कार्य शुभारम्भ भएको छ ।

अन्वेषण कामको शुभारम्भ गर्दै संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले गर्नुभयो । शुभारम्भ कार्यक्रममा बोल्दै उद्योगमन्त्री यादवले दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हाम्रा पूर्खाहरुले उतिबेला नै प्रमाणित गरिसकेकोले यसलाई केवल वैज्ञानिक रुप मात्र दिन सरकार लागिपरेको बताउनुभयो ।

उहाँले हाम्रा पूर्खाहरुले प्रमाणित गरिसकेको कुरालाई हामीले चिन्न नसकेको जिकरि गर्नुभयो । ‘हाम्रा पूर्खाहरुसहित हामी पुरै आध्यात्मतर्फ रहेकोले निर्वाध बलिरहेको ज्वाला कुनै इन्धनको रुपमा नभई भगवानले बाल्नु भएको हो भन्नेमा केन्द्रित भयौ । विदेशीहरु हाम्रो वेद पुराणहरु पढेर वैज्ञानिक भए तर हामी किताबलाई पूजा गर्न तर्फ मात्र लाग्यौ । म सबै धर्मलाई सम्मान गर्छु त्यसैले त देश धर्म निरपेक्ष भएको छ । तर धर्मको आस्थाको नाममा भ्रम फैलाउन नहुने भन्दै उहाँले आज नेपालीले विज्ञानलाई समात्न नसकेको कारणले हाम्रो दुर्दशा भएको तर्क गर्नुभयो ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेट्रोलियम उत्खनन् शुरु गर्न पहल गर्ने पूर्वमन्त्री सोम पाण्डे र जतिसक्दो चाँडो यससको उत्खनन् गर्नुपर्छ भनेर कर्णालीलाई प्राथमिकतामा राखि निरन्तर लागि पर्नुभएका संघीय सरकार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव प्रति कर्णाली प्रदेश सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

मुख्यमन्त्री शाहीले उत्खनन् प्रभावित क्षेत्रका जनताहरुको जीवनस्तरमा कुनै किसिमको गिरावट हुन नदिएर अहिलेको भन्दा सुविधा सम्पन्न र सुरक्षित जीवनको सुनिश्चितगरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्दै पेट्रोलियम पदार्थको उत्खनन् गरिने बताउनुभयो । उहाँले उत्खनन् पश्चात लगानी भन्दा उत्पादन धेरै भएमा मात्र उत्खनन् कार्यबाट कर्णाली प्रदेशले लाभ लिन सक्ने र लगानी भन्दा उत्पादन कम हुने भएमा उत्खनन् कार्य हुन नसक्ने जनाउनुभयो।

पेट्रोलियम पदार्थको उत्खनन् तथा अन्वेषण शुभारम्भ कार्यले अहिले दैलखका साथै सिंगो कर्णालीबासीमा ठूलो खुशीको लहर छाएको छ । कार्यक्रममा संघीय सरकार तथा प्रदेश सरकारका सभासदहरु, योजना आयोगका प्रतिनिधिहरु र स्थानीय सरकार जनताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्