OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी मंसिर १०, २०७७जुम्ला
४७२ पटक

१० मंसिर २०७७, बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यस अघि दुईवटा डीन नियुक्ति गरेका उपकुलपति प्राडा. राजेन्द्रराज वाग्लेले प्रतिष्ठानको सम्पर्क कार्यालयबाट तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोध विभिन्न माग राख्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी भएको थियो । प्रतिष्ठानको कार्यकारी परिषद्को बैठक विना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिनुपर्ने माग गरेको थियो ।

तालाबन्दी खोल्नका उपकुलपति प्राडा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटक पटक वार्ता गर्न निर्देशन दिएपनि तालाबन्दी खुल्न सकेको थिएन । तीन साता अघि आफै केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नसक्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो ।

अन्त्यमा आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले माग गरेका तीन वटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिनुभयो । सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ । त्यस्तै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक जना डीन प्रमुख रहने र अन्य संकायका डीनहरु सहायक डीन रहने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सार्ने सहमति भएको तथा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ ।

समाजका अध्यक्ष उपाध्यायका अनुसार गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए । सोही नियुक्तिलाई खारेज गर्नुपर्ने हाम्रो माग थियो ।

यस्तै, प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भए अनुसार गर्नुपर्ने भन्दै कर्मचारीहरू आन्दोलन गरेका थिए । सहमति अनुसार अब प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुले दोहोरो तेहोरो सुविधा खान पाउने छैनन् ।
ताला खुलेपछि प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा सूचना लिन पुगेका पत्रकारहरुको अघि उभिन खुट्टा कमाएका उपकुलपति वाग्ले आफ्नै कार्यकक्षभित्र छिर्न डराएर फोन स्वीच अफ गरी कार्यालय परिसरबाट सम्पर्कविहिन भएका थिए ।

प्रतिकृया दिनुहोस्