OnlinePana

आज : २०८३ साउन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २२, २०८३काठमाडौं
४ पटक

२२ साउन २०८३, शुक्रबार

सुर्खेतः बिगतमा प्रति महिनामा २० देखि २६ हजार ग्याँसले पुग्ने सुर्खेतमा साउन महिनाको २० दिनको अवधिमा मात्र करिब साढे ३८ हजार ग्याँस वितरण भइसकेको छ तरपनि उपभोक्ताहरु ग्याँस नपाएको भन्दै लाइन बस्न छोडेका छ्रैनन् । केही उपभोक्ताहरुले आज पनि चुलो नबलेर खान नपाएको गुनासो गरे ।

दैलेख घर भई वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतस्थित चन्दननाथ प्राविधिक विद्यालयमा अध्ययन गर्दै आएका बिद्यार्थी उमेश शाहीले दुई दिनदेखि ग्याँस नपाएर चाउचाउमा गुजारा गरेको पीडा पोख्नुभयो । उमेश जस्तै लाइनका कारण ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति र विद्यार्थीहरुलाई ग्याँस पाउँन निकै सास्ती भएको छ । उपभोक्ताहरु राति २ः०० बजेदेखि खाली ग्याँस लिएर डिलरमा पुग्छन् । यद्यपि ग्याँस पाउन उनीहरुलाई २४ देखि २७ घण्टा कुर्नुपर्छ ।

बिगत जस्तो जतिबेला चाह्यो सजिलै ग्याँस पाउने अवस्था छैन । हुने खानेसँग ग्याँसको विकल्प भएपनि यहाँ धेरै नागरिक खाना पकाउने एलपी ग्याँसमै परनिर्भर छन् । सहरमा सजिलै दाउरा, गुईठा पाउने अवस्था पनि छैन । ग्याँसमै निर्भरहरुले यसको अभावमा ठूलो समस्या झेल्दै आएका छन् । ग्याँस पाउँदा उनीहरुलाई जीवनको सबैभन्दा ठूलो युद्ध जितेको महसुस हुने गर्दछ ।

वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतका मिना खत्रीले ग्याँस पाउँदा निकै ठूलो लडाई जितेझै भएको बताउनुभयो । “चुलो नबलेका कारण यो बीचमा धेरैले चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाए र मैले पनि त्यो बाध्यता भोग्नुपर्यो । आज बल्लतल्ल ग्याँस पाएकी छु । अब चुलो बल्ने कुरामा ढुक्क हुने भयो । सरकारले बिगतमा जस्तै सबैलाई सहज तरिकाले ग्याँस पाउने अवस्था निर्माण भने गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।

उहाँ जस्तै अधिकांश पहुँचविहिन धेरैले ग्याँस नपाएर धेरै दिन भोकभोकै बस्नु पर्ने अवस्था सामना गर्दै आएका छन् । यसबाट धेरै जसो विद्यार्थी, ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति, विद्यार्थी तथा सहज पहुँच नभएका नागरिकहरु प्रभावित भए । पहुँच भएकाहरुले त विभिन्न स्रोतबाट ग्याँस लिएर आफनो दैनिक चलाएपनि सिधासादाहरुलाई चुलो बाल्न हम्य हम्य भएको वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका स्थानीय रामप्रसाद पाण्डेले दुखेसो पोख्नुभयो ।

ग्याँस अभावको यही समस्यालाई लिएर कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तरगत उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको संयोजकत्वमा नेपाल आयल निगम, जिल्ला प्रशासन, प्रहरी, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्चसहितको टोलीले बुधवारदेखि आज तीन दिनसम्म बजार अनुगमन गरेको छ ।

उक्त टोलीले ग्याँसको परिमाण, तोकिए बमोजिम मूल्य तथा तौल र व्यवस्थित वितरण भए नभएको बारे अनुगमन गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत कृष्णबहादुर रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतस्थित सगरमाथा ट्रेडर्स एण्ड अर्डर्स, न्यू सुदिक्षा ट्रेडर्स एण्ड सप्लायर्स, सिंजा अर्डर एण्ड सप्लायर्स, मन सप्लायर्स, न्यू मिना ट्रेडर्स, न्यू भैरव सप्लायर्स र कार्की स्टोर्स सुर्खेतमा अनुगमन गरेको र वितरण कार्य बिगत भन्दा व्यवस्थित भएको छ ।

नेपाल आयल निगम सुर्खेतका सूचना अधिकारी रामकुमार के.एम.ले बिगतमा आधा ग्याँस सिलिण्डर वितरण गर्दा छिट्टै सकिनुको साथै ग्याँसको अभाव बढ्न सक्छ भन्ने उपभोक्ताको त्रासले एकै महिनामा ठूलो परिमाण आपूर्ति गर्नुपरेको बताउनुभयो । वीरेन्द्र उपत्यका बाहिर पनि ग्याँस धेरै गएकोले यो अवस्था आएको यद्यपि यो महिनाको आपूर्तिले अर्को महिना ग्याँस अभाव नहुने उहाँको भनाई थियो ।

सूचना अधिकारी के.एम.का अनुसार हाल सुर्खेतमा १४ दशमवलव २ केजीको भेरी, राप्ती, नेपाल ग्याँस कर्णाली, मनकामना, रेडियन्ट र सैपाल ग्याँस रु.दुई हजार ६० मा बिक्री वितरण गर्ने गरी अधिकृत बिक्रेताहरुलाई निर्देशन गरिएको छ । उहाँले ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति र विद्यार्थीमा प्राथमिकता राखेर ग्याँस वितरण गर्न निर्देशन दिइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्